सेवा कि अपराध ?

राजधानी काठमाडौं उपत्यकामा गरिएको एक अध्ययनअनुसार ललितपुर जिल्लामा सन्चालन गरिएका स्कुलहरूले काठमाडौं जिल्लाबाट ६ सय ५० बस विद्यार्थी ओसार्छन् । भक्तपुर जिल्लाबाट २ सय ६१ बस विद्यार्थी ओसार्छन् । काठमाडौं जिल्लामा सञ्चालन गरिएका स्कुलहरूले ललितपुरबाट ४ सय ४१ बस विद्यार्थी ओसार्छन् । भक्तपुरबाट १ सय ९५ बस विद्यार्थी ओसार्छन् । भक्तपुरमा सञ्चालन गरिएका स्कुलहरूले काठमाडौंबाट २ सय ५० र ललितपुर बाट १ सय ६५ बस विद्यार्थी ओसार्छन् । यसैगरी, भक्तपुर जिल्लाकै एक ठाउ“बाट अर्को ठाउँ, ललितपुर जिल्लाको एक ठाउँबाट अर्को ठाउँमा र काठमाडौं जिल्लाकै एक ठाउँबाट अर्को ठाउँमा विद्यार्थी ओसार्ने बसहरूको संख्या २ हजारको हाराहारीमा छ । राजधानी काठमाडौं उपत्याकामा मात्रै होइन मुलुकका प्रायःजसो सहरी तथा सहरोन्मुख क्षेत्रको हालत यस्तै हो । उदाहरणका लागि वुटवलमा दैनिक २ सय बसहरूले पूर्वका विद्यार्थी ओसारेर पश्चिम लैजान्छन्, करिब त्यति नै बसहरूले पश्चिमका विद्यार्थी ओसारेर पूर्व लैजान्छन् । निजी स्कुलहरूको शुल्क महंगो हुनुको एउटा कारण यो पनि हो । यति धेरै स्कुल बस सञ्चालनका लागि दैनिक इन्धन खर्च कति होला ? बसका स्टाफको खर्च कति होला ? यति धेरै बस खरिदका लागि कति रकम विदेसिएको होला ? यी बसहरूले वातावरणीय प्रदूषण कति गराएका होलान ? भन्ने तर्फ मुलुकका नीति निर्माताहरूले खासै ध्यान दिएको देखिएको छैन ।

स्कुल बस सञ्चालनका लागि हुने गरेको खर्च, वातावणीय प्रदुषण तथा ट्राफिक जामको समस्या एकातिर छ भने अर्को तिर कलिला विद्यार्थीहरूको महत्वपूर्ण समय बसमै आवत–जावत गर्दैमा वितिरहेको छ । कम्तिमा पनि बिहान एक घण्टा र बेलुका एक घण्टा कलिला विद्यार्थीहरू बसभित्रै हुन्छन्, त्यसमा पनि कतिपय स्कुलहरूले त बसको क्षमताभन्दा तीन चार–गुणा बढी विद्यार्थी कोच्ने गरेको देखिएको छ । यसरी बस राखेर थप खर्च गर्नु स्कुलहरूको रहर हो कि बाध्यता ? आफ्नै घर नजिक स्कुल हुँदाहुँदै बसमा कोचेर घण्टौँ टाढा आफ्ना कलिला छोराछोरीलाई पढ्न पठाउनु अभिभावकको रहर हो कि बाध्यता ? यस्ता प्रश्न निकै पेचिला बनेका छन् । उदाहरणको लागि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुल अगाडिको सडकमा ललितपुरको लिटिल एन्जेलका आधा दर्जन बसहरू विद्यार्थी पर्खिरहेको देखिन्छ । यसैगरी, लिटिल एन्जेल स्कुल अगाडिको सडकमा सिद्धार्थ वनस्थलीका बसहरू विद्यार्थी पर्खिरहेको देखिन्छ । यताका अभिभावकहरूले उताको विद्यालयको पढाई राम्रो ठानेकोले र उताका अभिभावकहरूले यताको विद्यालयको पढाइ राम्रो ठानेको अवस्थाका कारण पनि यो स्थिति सिर्जना भएको हो ।

यो अवस्थालाई निरन्तरता दिइरहने कि समयमै केही सोच्ने ? भन्ने बेला आइसकेको छ । हाइस्कुल तहसम्मको पढाइका लागि बसमा विद्यार्थी ओसारपसार गर्ने काम कत्तिको उचित होला ? हरेक स्थानमा रहेका विद्यालयले सोही ठाउँकै विद्यार्थीलाई पढाउने व्यवस्था गर्न नमिलेको हो या नसकिएको हो ? आफ्नै गाउँ–टोलमै पढाउने व्यवस्था भयो भने एकातिर राज्यको ठूलो खर्च जोगिन्थ्यो, ट्राफिक जामको समस्या समाधान हुन्थ्यो, अर्कातिर गराउँदा बालबालिकावाइ गृहकार्य गर्न, समयमा खान र फुर्सदको समय खेल तथा मनोरञ्जन गर्न सहयोग पुग्दथ्यो । आफ्नो ठाउँको स्कुलको पढाई अझ राम्रो बनाउन स्थानीय अभिभावकहरूमा चासो जाग्थ्यो । यसको लागि पहल गर्ने अधिकार स्थानीय सरकारलाई छ । यो अभ्यास जापान, अमेरिका, बेलायत, चीनलगायत धेरै विकसित मुलुकहरूमा भएको पनि छ । यसले समुदायको बिकास गर्छ । नजिकको स्कुलप्रति अपनत्व बढछ । विद्यार्थी माथी न्याय हुन्छ । हि“जोका कमजोरीप्रति हिजोका नीति निर्मातालाई दोष दिनु भन्दा सुधार गर्नु उचित हुन्छ । दैनिक ६ घण्टा विद्यालयमा पढ्ने विद्यार्थीलाई ४ घण्टा बसमा राख्नु कुनै पनि मानेमा उचित होइन । यो त अपराध हो ।

प्रतिक्रिया