कन्काईलाई सुखानी स्मृतिको उपाधि

झापा । कन्काई नगर खेलकुद विकास समिति झापाले सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । साविक विजेता समेत रहेको कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार फाइनलमा २–१ ले हराउँदै कन्काईले उपाधि जितेको हो ।
अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कन्काईले पहिलोपल्ट जितेको हो । कन्काईका लागि लक्ष्मी श्रेष्ठले २८ औँ र सरिता शेर्पाले ५९ औँ मिनेटमा गोल गरे । ६९औँ मिनेटमा पवित्रा लिम्बूले कर्णसिंहका लागि गोल फर्काएकी थिइन् ।

कन्काईले उपाधिसहित १ लाख २५ हजार र कर्णसिंहले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । कन्काईकी कुसुम खतिवडा प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी चुनिइन र उनले १२ हजार रुपैयाँ प्राप्त गरिन् । कन्काईकी लक्ष्मी श्रेष्ठ उत्कृष्ट फरवार्ड, सुमिष्ता चौधरी उत्कृष्ट रक्षक, जशोदा लागवती उत्कृष्ट गोलकिपर, सन्त रायाझी उत्कृष्ट प्रशिक्षक र कर्णसिंहकी सुनकला राई उत्कृष्ट मिडफिल्डर चुनिए ।

उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे । फाइनलकी उमन अफ दी म्याच कन्काइकी नेहा चौधरीले ५ हजार रुपैयाँ प्राप्त गरिन् । पारिजात फुटबल क्लब झापा फेयर प्ले टोली घोषित भयो र १० हजार रुपैयाँ प्राप्त गर्यो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसदहरू अर्जुन राई, वृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

प्रतिक्रिया