मनाङ आहा गोल्डकप च्याम्पियन

पोखरा । पोखरा रंगशालमा शनिबार भएको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्यायाङ्दी क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै मनाङ आहा रारा गोल्डकप बढी जित्ने क्लब बनेको छ । मनाङले योसँगै हालसम्म ६ पटका उपाधि जित्न सफल भएको हो । पुलिसले क्याराभान गोल्डकपसहित ६ पटक जितेका छन् ।

निर्धारित र थप गरिएको समयमा दुवै टोलीबाट गोल सम्भव नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरे । मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारे । पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे ।

पुलिसका तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन् । तेजको प्रहार मनाङका गोलरक्षक अशोक बरालले रोक्दा अजितको प्रहार बारमा लाग्दै फर्किएको थियो । च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैयाँ हात पारेको छ । दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चिक्त बुझायो ।

त्यसअघि खेलको ११औँ मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले क्लोज रेन्जमा जोगाउँदा पुलिस अग्रता लिन बाट चुकेको थियो । १९औँ मिनेटमा मनाङले अवसर पाएपनि गोल गर्न असमर्थ बन्यो । कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेपछि अजित भण्डारीलाई डिफ्लेक्ट हुँदै बाहिरियो । त्यसमै प्राप्त कर्नरलाई मनाङले सदुपयोग गर्न सकेन ।

३५औँ मिनेटमा पुलिसका निर कुमार राईले पेनाल्टी बक्सभित्र अवसर पाएपनि उनको प्रहार आकासिएको थियो । लगत्तै लुइस भिडालको क्रसमा अन्जनले पेनालटी बक्समा मौका पाएपनि उनको टच फितलो बन्यो । ३७औँ मिनेटम तेज तामाङको सटिक पासमा बुद्ध बल ढिला हुँदा मनाङका गोलरक्षक अशोक बरालले सहजै नियन्त्रणमा लिए ।

३९औँ मिनेटमा कप्ता नकमल श्रेठको क्रसमा पेनाल्टी बक्समा बिमलले मौका पाएपनि नियन्त्रण लिन नसकेको बललाई पुलिसका गोलरक्षक रोशन खड्कालाई कुनै बाधा भएन । ४३औँ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोलरक्षक अघि बढेको अवस्थामा बिमल रानाको ओभर हेड किकलाई पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो ।

४९औँ मिनेटमा निर कुमार राईको प्रहारलाई मनाङका गोलरक्षक अशोक बरालले मुस्किलले बचाउँदा पुलिस अग्रता लिनबाट चुक्यो । ६०औँ मिनेटमा अन्जन विष्टको ओभरहेड किक पहिलो बारबाट थोरै बाहिरिँदा मनाङ अग्रता लिनबाट चुक्यो । ६८औँ मिनेटमा लुइस भिडालको क्रसमा बिमल रानाको प्रहार क्रसबारबाट थोरै बाहिरिदा मनाङ पुनः अग्रता लिनबाच चुक्यो ।

७७औँ मिनेट निर कुमार राईले मैदानको मध्यभाग नजिकैबाट सिधै पोस्टमा गरेको फ्रिकिक क्रसबारबाट बाहिरियो । ८९औँ मिनेटमा अन्जन विष्टले अवसर पाएपनि सदुपयोग नहुदा खेल बराबरीमा सकियो । ९३औँ मिनेटमा निर कुमार राईले अवसर पाएपनि उनको प्रहार बाहिरियो । १०४औँ मिनेटमा नितिन थापाको पेनाल्टी बक्स बाहिरको प्रहार क्रसबारबाट थोरै बाहिरियो ।

सहारा क्लब पोखराको आयोजनामा गत २२ फागुनबाट सुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको थियो । क्याराभान गोल्ड कपसहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरू आश्रित छन् ।

प्रतिक्रिया