यसरी जाँदैछ कांग्रेस दुर्गतिको बाटोमा

प्रतिपक्षको भूमिका पनि सशक्त ढंगबाट निर्वाह गर्न नसक्नु र पार्टीभित्रै रडाको मच्चिनुले निश्चितरूपमा कार्यकर्ताको मनोबल गिरेको छ, अझै गिर्न सक्छ । पार्टीभित्र विदेशी मानो खानेहरूको हालिमुहाली छ, यो नबुझेको कुरा होइन 

गुट उपगुट र पुराना र निष्ठापान कार्यकर्ताको अवमूल्यनका कारण कांग्रेस पतनको बाटोमा जाँदैछ । कांग्रेसभित्र बनेका गुट उपगुट व्यक्तिगत रूपमा शेरबहादुर देउवाविरूद्ध खडा भएका हुन् भने भन्नु केही छैन । यदि सांगठनिक रूपमा पार्टी सभापति देउवाको विरूद्ध गरिएको हो भने गलत हो । पार्टी संगठन केवल सभापतिले मात्रै चलाउने हो भने अन्य पार्टीको पदमा बसेकाहरूको अर्थ के ? पार्टीलाई सक्षम बनाउने जिम्मेवारी सबैको हुन्छ । एउटाको टाउकोमा दोष जति थुपारेर पन्छिन पाइदैन ।

अर्को कुरा पार्टीको महामन्त्री जस्तो गरिमामय पदमा बसेर शसांक कोइरालाले खुलेआम गुटबन्दी गर्नुलाई पदीय दुरूपयोग मान्नुपर्छ । यो सांगठनिक नैतिकता होइन । जिल्लाका पार्टी सभापतिहरूलाई बोलाए जे वितण्डा गरियो, त्यो स्वयंमा गलती थियो । पार्टी सभापतिहरूलाई बोलाइसकेपछि महामन्त्रीले ‘मैले यो यो काम गर्न खोजेको थिँए’ पार्टी सभापतिले गर्न दिनुभएन भनेर एजेन्डा दिनु थ्र्यो । आखिर ४०–६० को भागबन्डामा कुरा टुंगियो । जिल्ला पार्टी सभापतिहरूलाई आँखी बनाउने काम भयो । गर्नै नहुने कुरा थियो, गरियो ।

पार्टी सभापति असक्षम नै भएको भए अर्को (१४)औं महाधिवेशनबाट फाल्न सकिन्छ । अहिले चाहे अविश्वासबाट वा अरू कुराबाट पार्टी सभापति फाल्न सकिन्न भने गनगन किन ? हामीले देखेका छौँ, गुटबन्दी गर्नेहरूले पनि कुनै न कुनै रूपमा आफ्नो अशक्षम भान्सेहरूलाई पार्टीका महत्वपूर्ण ठाउमा पछिल्लो झ्यालबाट छिराएका छन् ।

हामीले अर्को कुरा पनि राम्रोसँग बुझेका छौँ, पार्टीको जिम्मेवार पदमा बसेका व्यक्तिहरू पैसाको खेलमा रमाएका छन् । र, पुराना कर्तव्यनिष्ट कार्यकर्ताको घाँटी निमोठ्ने काम भएको छ । लाग्छ, हाम्रा नेताहरू कुन हैसियत र औकातका छन् कार्यकर्ताले बुझिसकेका छन् । फरक यत्ति होला बोल्न सक्दैनन् । चाकडी गरे केही पाइहालिन्छ कि भन्ने आसाको त्यान्द्रो बाँकी होला । परिपाटी पनि यस्तै छ, पैसा कि चाकडी ।

वास्तबमा भन्ने हो भने यत्रो रडाको मञ्चाइसकेपछि पार्टी महामन्त्रीले पदबा राजिनामा गरेर आउनु पथ्र्यो र अरूले पनि । पार्टी सभापतिबाट हिजो एकलौटी निर्णय भएहोला, अब त झन एकलौटी निर्णय गर्ने वातावरण बनाइयो । प्रतिपक्षको भूमिका पनि सशक्त ढंगबाट निर्वाह गर्न नसक्नु र पार्टीभित्रै रडाको मच्चिनुले निश्चितरूपमा कार्यकर्ताको मनोबल गिरेको छ, अझै गिर्न सक्छ । पार्टीभित्र विदेशी मानो खानेहरूको हालिमुहालि छ, यो नबुझेको कुरा होइन ।

सुनिन्छ, ‘अब पार्टीलाई पहिलाको जस्तै नबनाएसम्म म बिश्राम लिन्न ।’ यो पहिलेको जस्तो भनेको के हो ? प्रजापरिषद बनाउने हो कि, गिरिजाप्रसाद कोइरालाले भने जस्तै हो ? यस्ता सस्ता कुरा पनि नगरौं । किनभने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्तो कोही भैसकेको छैन । सुशील कोइरालाले पनि ‘मैले कार्यकर्ताको मुल्यांकन गर्नेछु’ भन्नुहुन्थ्यो ।

तर उहाँकै पालामा पार्टीका कर्तव्यनिष्ठ र इमानदार नेताहरू तथा कार्यकर्ताका लागि ढोका बन्द भएको थियो । यो पनि बिर्सिहाल्ने कुरा हैन । हाम्रो कामना भनेको पार्टी संगठित होस् र छवि राम्रो बनोस् भन्ने मात्रै हो । साथै विपिले सोचे जस्तै प्रजातान्त्रिक समाजवादको निष्ठा नगुमेको पार्टी नेपाली कांग्रेस भन्ने हो ।

हाम्रो राष्ट्रिय राजनीति चरम विकृतिमा फसेको छ । राजनीतिक व्यक्तिहरूको माथिल्लो तहमा व्यापक भ्रष्टाचार हुनु, न्याय र सुशासन जनताको तल्लो तहसम्म नपुग्नु र हुनेखानेको इसारामा चल्नु, लगानी तथा व्यबसाय पुँजीको विकास र नाफाका लागि भएता पनि अनुचित फाइदा उठानेहरूलाई राष्ट्र बैंकले नियन्त्रण गर्न नसकेर आर्थिक अराजकता फैलिनु, राष्ट्र सेवक इमानदार नहुनु, आर्थिक दलालहरूको हालिमुहाली हुनु, विदेशीको हस्तक्षेपमा पर्नु र जनता पनि आफ्नो जिम्मेवारीमा भन्दा लहैलहैमा लाग्नु जस्ता विकृतिले देश थिल्थिलो भइसकेको छ, सचेत हौं ।

यति बेला मैले प्रसिद्ध साहित्यकार बर्नाड शाको एउटा प्रसंग संझिरहेको छु । जीवन कहाँ गएर ठोकिन्छ त्यो सायद कसैलाई थाहा हुँदैन । उनको जीवनका केही रोचक प्रसंगहरू छन् । उनी गरिब परिवारका त थिए नै ओठे जवाफ दिन पनि त्यत्तिकै माहिर थिए । जब उनी साहित्यकारको उचाइ छोइसकेका थिए, त्यहीवेलाको कुरा हो, कुनै एउटी सुन्दर युवतीले शासँग विवाह गर्ने प्रस्ताव राख्दै भन्छे–‘तपाईंको मगज र मेरो रूप मिलेपछि हामी ज्ञानी र राम्रो नानी पैदा गर्न सक्छौ ।’ तर, शाले तुरून्तै जवाफ दिए–‘ मानिलेऊ, त्यो नानीले मेरो रूप र तिम्रो मगज पायो भने नि ?’

युवतीलाई दिएको उत्तरले उनमा आत्मग्लानी भयो । उनलाई लाग्यो मैले यस्तो उत्तर दिनु उचित थिएन । उनले ती युवतीलाई एउटा पत्र लेखे–‘मलाई सबैले महान् साहित्यकार भन्छन् तर तिमीलाई उत्तर दिने मान्छे अयोग्य हो र उ कहिलै साहित्यमा योग्य हुनेछैन । किनभने हर प्रेम गर्ने मानिसले प्रेमलाई शब्दमा व्यक्त गर्न सक्दैनन् जुन तिमीले गरेऊ ।’ युवतीले भन्छे–‘ हो, बर्नाड शालाई जान्दिन, मैले बर्नाड शासँग प्रेम गरेकी होइन उसको साहित्यलाई प्रेम गरेकी हुँ ताकि मानिसको जीवन त ओइलाएर जान्छ तर बर्नाड शाको कृति कहिल्यै ओइलाउने छैन ।’ उ शाको साहित्य प्रेमी बनी र भनी ‘जुन दिन मेरो मृत्यु हुनेछ त्यो दिन मेरो सिरानी शाको पुस्तक हुनेछ ।’

त्यस दिनदेखि त्यो युवती त्यस गाउँसहरमा देखिइन, उ कहाँ गई कसैलाई पत्तो नै भएन । भनिन्छ त्यो युवतीले मानिसहरूको भिडमा बिहान एउटा गुलाफको फुल देखाउँदै भन्थी–‘ यो फूल कस्तो छ ?’ सबैको उत्तर आउथ्यो ‘अति सुन्दर छ ।’ फेरि त्यही फूल बेलुका देखाउँदै भन्थी–‘यो फूल कस्तो छ ?’ उत्तर पाउँथी–‘ओइलाएको छ ।’ यहि नै हो जीवनको रहस्य । हर मानिस अव्यक्त प्रेमको त्यान्द्रोले पासो लगाएर आत्महत्या गरिरहेको हुन्छ ।

बर्नाड शा गरिबीबाट उचालिएर अमिर पनि बने र एउटी अमिर केटीसँग विवाह पनि गरे । शाले पछि त्यो युवतीलाई खोजे, पाएनन् । उनले दिएको ओठे जबाफ महंगो प¥यो । उनले जति पुस्तक लेखे समाज बदल्ने प्रयासमा केन्द्रित थिए । उनले समाज बदल्न हरकोसिस गरे तर युवतीलाई दिएको ओठे जवाफको कारण आफुलाई कहिलै साहित्यकार ठानेनन् । छिटो र मजाको जवाफ दिदा मानिसको जीवनमा जहिले सुकै अपूर्णता रहँदो रहेछ भन्ने यो गतिलो उदाहरण हो । शाले १९२५ मा नोबल पुरस्कार पाए । तर पुरस्कारको पैसा लिएनन् ।

ब्रिटेनको सरकारले उनलाई ‘अर्डर अफ मेरिट’ प्रदान ग¥यो । शाले यो पुरस्कार पनि मैले पहिलै लिइसकेको छु भनेर पदवीलाई अस्वीकार गरे । सायद त्यो पहिलो पुरस्कार तीनै युवती हुनुपर्छ । शाको जीवनलाई त्यस युवतीको इनोसेन्ट प्रस्तावले कहिलै पुर्ण हुन दिएन । जीवनको अन्त तिर कुनै एक ठाउँको भाषाणमा शाले भनेका पनि छन्–‘ त्यो इनोसेन्ट युवतीको प्रेम प्रस्तावले म त बदलिए तर दुनियाँ बदल्ने मेरो सपना अधुरै रह्यो ।’

प्रसस्त सम्पत्ति कमाएका र लोकप्रसिद्धिको चरमचुलीमा पुगेका शाले १९५० मा संसार छोडे भने शाको मृत्युको केही समयपछि एउटा दूरदराजको गिर्जाघरमामा एउटी वृद्धा महिला मरेको भेटियो जसको सिरानी ‘मिसेज वारेन प्रोफेसन’ पुस्तक थियो र छातिमा ‘सेन्ट जोन’ पुस्तक लपेटिएको थियो । लासको वरिपरि रुने कराउने कोही थिएनन् । अनुमान गर्न सकिन्छ उसले शासँग राखेको बिवाहाको प्रस्तावबाहेक उसले कसैले बिवाहा गर्न राखेको प्रस्ताव स्वीकार गरिन, अविवाहित रही ।

उ नयहुदी भनेर चिनिई, नक्याथोलिक, नप्रोटेस्टेयन, नइन्डजेनस ! उसले चिहान पाइन किनकि उसको धर्म–संस्कृति खुलेन, स्याल–गिद्धका लागि व्यवारिस लाश खुला ठाउँमा फ्याँकियो । उ प्रेमका लागि तिरस्कृत भई, तर शालाई पछ्याउन छोडिन । दुनियाँलाई बाइबाई गर्दै अन्तिम स्वासलाई विश्राम दिई । यसरी हरेक मानिसको जीवन एउटा अमूर्त खियाले खाइरहेको हुन्छ । अन्ततः यसरी भाँचिन्छ, उ फेरि जोडिँदैन ।

नेपाली कांग्रेसप्रति मोह राख्ने कार्यकर्ताको पनि यही हविगत भइरहेको छ । अन्तिम अवस्थामा न गणेशमान सिंह कांग्रेसमा रहे, न कृष्णप्रसाद भट्टराई । आफ्नै प्रसंगमा भन्नु पर्दा म नेविसंघको पर्वत जिल्लाको कुलप्रसाद शर्माको संयोजकत्वको जिल्ला तदर्थ समितिको पहिलो सदस्य तथा पर्वत जिल्लाको पहिलो अधिवेशनको जिल्ला सचिव र दोस्रो अधिवेशनको अध्यक्ष हुँ ।

काठमाडौं आएपछि प्रजातान्त्रिक शिक्षकको पिएनटिएको पहिलो अध्यक्ष तथा २०४४ सालको दाङ अधिवेशनको केन्द्रीय सचिवबाट सुरु गरेकोे राजनीति नेपाल शिक्षक संघको सस्थापक उपाध्यक्ष र महासचिव हुँदै सांसद भई सकेको हुँदा राजनीतिक क्षेत्रमा खासै आत्माग्लानी छैन । राजनीतिक नियुक्तिमा पनि राष्ट्रिय समाचार समितिको अध्यक्ष र समाज कल्याण परिषद अन्तरगतको नेशनल चिल्ड्रेन फन्डको सचिव जस्तो गरिमामय सस्थाको सचिव भइसकेको हुँदा पदीय मोह पनि बुझियो ।

२१ वर्ष क्षिक्षक भएर बिताएको समय पनि अविस्मरणीय नै रह्यो, पेशा पर्ति बेहिमानी गरिएन बरू मनका धेरै इच्छाहरू कुण्ठित गरियो । कुण्ठाहरू आँसुबाट पखालियो । भलै अब यसको अर्थ छैन, अब सम्झनु मनलाई भारी बनाउनु मात्रै हो । अध्यायन क्षेत्रमा पनि अन्तर्राष्ट्रिय विश्व बिद्यालयको पनि अवसर प्राप्त भएको हुँदा राम्रै ज्ञान हासिल गर्न सकियो । अब झारपात र ऐजेन्टहरूले के भन्छन्, के षड्यन्त्र गर्छन् भन्ने कुरामा अलमलिनु भन्दा स्वअध्यन र अनुष्ठान महत्वपूर्ण रहेछ ।

यो अझै बुझ्न बाँकी धेरै रहेछ । यसैमा रमाउनु अर्कै मजा रहेछ तर देशलाई बिदेशी दलाल र एजेन्टबाट जोगाउनु हाम्रो जिम्मेवारी हो, यसमा मेरो समर्पण रहनेछ र हामी सबैको सचेत रहन जरूरी छ । हाम्रो समर्पण जरूरी छ यस अर्थमा कि हामीले जसलाई देश समर्पण गरेऊ तिनीहरू धोकेवाज भएर निस्के । यसलाई लुकाउन सक्दैनौँ ।

प्रतिक्रिया