जोगीको कथाः निर्वेद

गजलकार र समालोचकका रूपमा आपूmलाई स्थापित गरिसकेका शैलेन्द्र अधिकारीद्वारा लिखित उपन्यास ‘निर्वेद’ बजारमा आएको छ । उपन्यासले उठाएको विषयवस्तु हाम्रै सामाजिक सांस्कृतिक पाटोको एउटा प्रतिबिम्ब हो । गृहस्थी जीवन र त्यसलाई परित्याग गरेर बनाइएको साधु जीवन दुवै सांसारिकता हुन् ।

जहाँ सांसारिकता छ त्यहाँ दुःख छ र विसंगतिभित्र निस्सारता छ त्यसैले जीवन भ्रम हो । सुखको खोजी हो । सुख प्राप्तिका लागि मान्छेले भ्रमलाई सत्य मान्छ र त्यसैको परिपूर्तिका लागि जीवनलाई व्यस्त बनाउँछ । यो जीवनलाई चलायमान बनाउने आधार हो । किनभने गृहस्थ जीवन र साधुजीवन दुवै क्षर ब्रह्म हुन् । यीबाट मोक्ष सम्भव छैन भन्ने कुरालाई यो उपन्यासका माध्यमबाट देखाउन खोजिएको छ । उपन्यासको कथानकमा पूर्वीय दार्शनिक मान्यतालाई मिश्रण गरी विसंगत सत्यलाई बुझाउने चेष्टा गरिएको छ ।

सांसारिकता र मोक्षबीचको द्वन्द्व र त्यसका कारण उत्पन्न हुने जिज्ञासा र रसपरिपाकका दृष्टिले केही अपूर्णताको महशुस भए पनि सन्यासमार्गको बाटोलाई लेखकले निर्वाणानन्दका माध्यमबाट देखाउने प्रयास गरेका छन् । उपन्यासको आधाभन्दा बढी संरचना निर्वाणानन्दको अतीतकालीन सन्दर्भको प्रस्तुति रहेकाले वर्तमानको कथासँग त्यसको अन्वितिपूर्ण संयोजन हुन नसकेकाले म पात्र युवा जीवनमा गरेका क्रियाकलापको अभिघातले आघातीत छ । र, साधुको जीवनबाट फर्किंदा झनै घायल भएर फर्किएको छ । यस उपन्यासमा वैराग्य व्यांग्यात्मक तरिकाले आएको पुष्टि हुन्छ ।

म पात्र थेसिसका लागि आश्रममा पुग्नु, आश्रममा निर्वाणानन्दसँग भेट हुनु र म पात्रले जोगी जीवनको नालीबेली बुझ्न चाहनुजस्ता प्रसंगले उपन्यासलाई रोचक बनाएको देखिन्छ । म पात्रको गुरु निर्वाणानन्दले हरिद्वारमा गएर आत्महत्या गरेको प्रसंग यो उपन्यासमा रहेको छ । वास्तवमा म पात्रका गुरु नै शान्त देखिदैनन् ।

म पात्रले गुरुका अनुहारमा विषाद र एषणाका असीमित धर्साहरू देखेको हुन्छ । निर्वाणानन्दले आत्महत्या गरेपछि म पात्रले के बुझ्यो त ? दैनिक जीवन र साधु जीवनमा के फरक रहेछ त ? साधुजीवन पनि सजिलो छैन भन्ने कुरालाई म पात्रले निर्वाणानन्दको अनुहारमा पढेको थियो । जब गुरुले नै आत्महत्या गरेपछि म पात्रको सोचमा कस्तो परिवर्तन आयो त ? यो कुरालाई यो उपन्यासमा देखाउन खोजिएको छ ।

निर्वाणानन्दले आत्महत्या गरेपछि हरिद्वारबाट एक्लै नेपाल फर्किएको म पात्रको मानसिकता विचलित भएको छ । गुरुले दिएको झोलाभित्रको सानो कागजमा लेखिएको ल्यापटप खोलेर हेर्ने आग्रहले निर्वाणानन्दले आत्महत्या गर्नुको रहस्यलाई खुलस्त पारिदिन्छ । वास्तवमा निर्वाणानन्दको जन्म तिथिमा मूल परेको हुन्छ र उसको बुवाले उसलाई हेलाको दृष्टिले हेरेका हुन्छन् ।

बुवाले गर्ने हेलाको व्यवहारकै कारणले निर्वाणानन्दले आफ्नो घर छोडेर काठमाडौं आएको देखिन्छ र सन्यासमार्गमा लागेको देखिन्छ । सन्यासमार्गमा लागेर पनि निर्वाणानन्द किन खुसी हुन सकेन ? यो कुरा उपन्यासमा गोप्य नै रहेको देखिन्छ । उपन्यासमा प्रयोग भएको भाषाशैली मीठो छ । पाठकको ध्यानलाई एकीकृत गर्नका लागि लेखकले हरेक घटनाको अन्त्यपछि अब के होला भन्ने कौतूहलता जगाउने काम गरेका छन् । समग्रमा यो उपन्यास नेपाली साहित्यका पाठकका लागि पठनयोग्य कृतिका रूपमा रहेको छ ।

प्रतिक्रिया