माईभ्याली गोल्डकपः आयोजक दुई शून्यले विजयी

मङ्गलबारे । इलाममा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको गान्टोक सिटी फुटबल क्लबलाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजकले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

जीतका लागि जर्सी नं ३ का विदेशी खेलाडी जोर्डन ज्वइनर इन्डाब्ले खेल सुरु भएको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै नै आक्रामक खेलमा दोस्रो हाफ पछिको इन्ज्युरी समयमा थप गोल गर्दै जोर्डनले टोलीलाई विजयी गराएका थिए । जीतसँगै आयोजक माईभ्यालीले बाइ पाएको भारतको कोलकत्ता फुटवल क्लबसँग क्वार्टर फाइनल खेल्ने पक्का भएको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ आयोजक माईभ्यालीका जर्सी नं १२ का शिशिर लेखी घोषित हुँदै नगद रु १० हजार प्राप्त गरेका थिए । विदेशी खेलाडीसहित मैदानमा उत्रिएको आयोजकले घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको थियो । शनिबार झापा ११ र एमएफसी दार्जिलिङबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

प्रतिक्रिया