बच्चा काखमा लिएकी महिलालाई जबरजस्ती लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन

काठमाडौं । एक महिलालाई अन्धाधुन्द लाठी प्रहार गर्ने महानगरीय प्रहरी प्रभाग, भैंसीपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने क्रममा सहभागी भएकी हेमा श्रेष्ठलाई प्रहरी इन्सपेक्टर पौडेलले लाठी हानेपछि उनिमाथि छानविन सुरु भएको स्रोतले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी वृत्त परिसरले छानविन सुरु गरेको स्रोतको भनाई छ । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ ।

समितिलाई घटनाबारे यर्थाथ बिवरण पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । प्रतिवेदनको रायको आधारमा पौडेललाई कारबाही हुनसक्छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हामीले छानविन सुरु गरिसकेका छौँ, दोषी देखिए कारबाही हुन्छ ।’

महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरीका उच्च अधिकृतले बताए । इन्सपेक्टर पौडेलले काखमा बच्चा च्यापेकी महिलालाई अन्धाधुन्द लाठी हानेका थिए भने उक्त भिडियो पनि सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

प्रतिक्रिया