प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

कास्की । पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि सुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो ।

यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अंकका साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अंकसहित दोस्रो स्थान हासिल गरेको थियो । नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अंकका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।

पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अंकका साथ प्रथम, जङ्गमेन चोइ ७३४ अंकसहित द्वितीय तथा मुनसिउव लिम ७२६ अंकसहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अंकका साथ चौथो स्थानमा रहेका छन् ।

महिलातर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक २०६ अंकसहित प्रथम, कोरियाकी याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डकी सुसन स्टोफर र भारतकी रिनुल पशांकर ६८ र ५२ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । प्रतियोगीहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।

प्रतियोगितामा २० देशका ९२ खेलाडीले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिहेका छन् । यस टूरबाट पाँचदेखि आठ जना खेलाडी प्याराग्लाइडिङ वल्र्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ ।

यस वर्ष नेपालसहित इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्था (ना) का निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया