सिरहा प्रहरीद्वारा अवैध मदिरा नष्ट

लहान । सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी गाउँमा प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । बरियारपट्टी गाउँपालिका–१ कचनारी गाउँको विभिन्न ठाउँबाट अत्यधिक मात्रामा अवैध मदिरा बरामद गरी नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय महेसपुर पतारी र प्रहरी चौकी कचनारीको सक्रियतामा कचनारी गाउँको विभिन्न ठाउँबाट करिब आठ हजार लिटर अवैध मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख निरीक्षक अरिबन्दकुमार साहले बताए ।

नजिकिँदै गरेकोे होली पर्वमा हुन सक्ने घटनाहरूलाई मध्यनजर गर्दै र अवैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्य अनुरूप प्रहरीले छापा मार्दा अत्यधिक मात्रामा मदिरा बरामद गरिएको निरीक्षक साहको भनाइ छ । सिरहा जिल्लामा हुने अपराधिक गतिविधि विभिन्न हिंसाका घटनाहरू मध्ये ८० प्रतिशत घटनाहरू मदिराका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले बताए । अपराधिक गतिविधि रोक्न र महिलामाथि हुने हिंसा रोक्नका लागि अवैध मदिरालाई बन्द र अरू मदिरालाई नियन्त्रण गर्न आवश्यक रहेको एसपी चतुर्बेदीले बताएका छन् ।

घरेलु मदिरा उत्पादनमा बढीजसो महिलाहरूको नै संग्लग्नता आपूmले पाएको उनको भनाइ छ । घरमा नै बस्ने बढीजसो महिला नै हुने गरेका कारण कचनारी गाउँहरूमा महिलाहरूले नै अवैध मदिरा उत्पादन गर्ने गरेको एसपी चतुर्वेदीको भनाइ छ । पति रोजगारीका लागि विदेश जाने विदेशबाट आर्थिक सहयोग नगर्ने, एकल महिला लगायतका धेरैजसो आर्थिक अभाव भएका महिलाहरूको बढी संग्लग्नता देखिएको छ । अवैध मदिराबाट चाँडो आर्थिक लाभ लिन सकिने, अशिक्षाका कारण, अन्य विकल्प नभएका कारण पनि महिलाहरू यस्तो अवैध काममा लाग्ने गरेको एसपी चतुर्वेदीले बताए । यसका अन्त्यका लागि जनप्रतिनिधि तथा स्थानीय निकायले जनचेतना फैलाउने, स्वरोजगारका कार्यक्रमहरू दिँदा अवैध मदिरालाई नियन्त्रण गर्न सकिने एसपी चतुर्वेदी बताउँछन् ।

मदिराका कारण महिलाहरूले एकल जीवन निर्वाह गर्नुपर्ने, आत्महत्या गर्नुपर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकारकर्मीहरूको भनाइ छ । महिला अधिकार मञ्चमा आउने अधिकांश घटनामध्ये ८०÷९० प्रतिशत कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफूले पाएको उनको भनाइ छ ।

प्रतिक्रिया