पुनर्निर्माण अन्तिम चरणमा : ८५ प्रतिशत काम सम्पन्न

सिन्धुपाल्चोक । विनासकारी भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पको करिब ५८ महिनामा झण्डै ८५ प्रतिशत घर ठडिएसँगै पुनर्निर्माणले लक्ष्यको अन्तिम बिन्दु भेट्न लागेको हो । पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकअनुसार जिल्लामा ९० हजार ७ सय ५९ लाभग्राही छन् । यीमध्ये ८७ हजार ४ सय ४९ (९६ दशमलव ३५प्रतिशत) ले पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको अनुदान लिएका छन् । त्यस्तै ८३ हजार ८ सय ५६ (९२ दशमलव ३९ प्रतिशत) ले दोस्रो किस्ता र ७६ हजार ८ सय ४२ (८४ दशमलव ६२ प्रतिशत) ले आवास निर्माण सकेर तेस्रो किस्तावापतको अनुदान रकम लगिसकेको जिमालीले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिएसँगै निजी आवासतर्फ शतप्रतिशत नतिजा निकाल्ने क्रममा पुगेको हो । जिमालीका व्यवस्थापक लक्ष्मण सेठले यो आर्थिक वर्षमा निजी आवासतर्फको पुनर्निमाण सक्ने दावी गरे । ‘पछिल्लो समय पुनर्निर्माणले तीव्रता लिएको छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा निजी आवास निर्माण भए बाँकी १५ प्रतिशत यही वर्षमा निर्माण हुने देखिन्छ ।’ पहिलो किस्ता पनि नलिएका ३ हजार ३ सय १० को मात्रै पुनर्निर्माण सुरु हुन बाँकी छ । आवास निर्माण सकेर अन्तिम किस्ता लिन बाँकी लाभग्राही पनि छन् । यस्तो हुँदा आवास निर्माण सम्पन्न भएका घर धुरी संख्या झण्डै ९० प्रतिशत पुग्ने सेठको अनुमान छ । ‘केहीको अन्तिम किस्ताका लागि प्रक्रियामा छ,’ उनले भने, ‘अधिकांश प्रक्रियामा छिर्न आउनै बाँकी छ ।’

जिमालीको तथ्यांकअनुसार बाह्रविसे नगरपालिकाका ८ हजार २ सय ४४ मध्ये ७ हजार ४३, बलेफी गाउँपालिकाका ६ हजार १ सय ३३ मध्ये ५ हजार ६ सय २९, भोटेकोसी गाउँपालिकाका ४ हजार ३ सय ६८ मध्ये २ हजार ९ सय ३३ हेलम्बु गाउँपालिकाका ५ हजार ६ सय ५४ मध्ये ४ हजार ६ सय ५९ लाभग्राहीले अन्तिम किस्ता लगिसकेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका १४ हजार ३ सय २५ मध्ये १२ हजार ९ सय ५८, इन्द्रावती गाउँपालिकाका ८ हजार ५ सय ८४ मध्ये ७ हजार ६ सय ३८, जुगल गाउँपालिकाका ५ हजार ७ सय ३९ मध्ये ४ हजार ३ ले निर्माण सम्पन्न गरेर पुरै अनुदान पाएका छन् ।

त्यस्तै १३ हजार ९ सय ७० लाभग्राही रहेको मेलम्ची नगरपालिकामा ११ हजार ३ सय ६५ले, ७ हजार ४ सय ८२ रहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ५ हजार ८ सय १०, ५ हजार ९ सय ३ रहेको सुनकोसी गाउँपालिकामा ५ हजार २ सय ६ र ४ हजार ६ सय ५१ लाभग्राही रहेको त्रिपुरासुन्दरीमा ४ हजार २ सय ४९ ले अन्तिम किस्ता लिइसकेको सेठले जानकारी दिए ।

भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न सकेका छैनन् । जिल्लामा १ सय ९७ परिवार भूमिहीन लाभग्राही रहेकोमा ३६ को मात्र कायम भएको छ । त्यसमध्ये एक परिवारले मात्र जग्गा प्राप्ति गरेका छन् । त्यस्तै ९ सय १३ परिवार बिस्थापितमध्ये ३ सय ३ ले मात्र जग्गा प्राप्ति गरेर आवास पुनर्निर्माण गरिरहेका छन् । ६ सय १० बिस्थापित जग्गा प्राप्तिको प्रक्रियामा छन् । उनीहरूले आवास निर्माण थाल्न सकेका छैनन् । विनासकारी भूकम्पको ठीक वर्ष दिनपछि ०७३ वैशाख १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए ।

प्रतिक्रिया