बाँस्कोटाको बचाउमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप पुष्टि नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले तत्कालका लागि उनीमाथि आरोपमात्र लागेकाले अहिले नै दोषी भनेर किटान गर्ने अवस्था नरहेको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितले संसद्मा आवाज उठाईरहेका वेला उनले सो विषयमा पहिलो पटक सार्वजनिक रूपमा बोलेका हुन् । प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दै आरोपहरू पुष्टि नभईसकेको अवस्थामा कोही पनि दोषी नहुने स्पष्ट पारे । यद्यपि उनले आरोप पुष्टि भएमा कसैलाई पनि नछाडिने भने स्पष्ट शब्दमा बोले । प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे । ‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ उनले भने,‘दोष भए उहाँले सजाय भोग्नुपर्छ । अहिलेसम्म उजुरी परेको छैन ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको दोहो¥याए । ‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन’, ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन । स्वीस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’

बाँस्कोटा स्वयंले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झँै गरेर…त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’ उनले सम्बन्धित निकायले छानबीन गरेपछि प्रमाणित गरेमात्र कारवाहीको भागीदार हुने स्पष्ट पारे । कसैले घुस खायो, २० करोड माग्यो भनेर आएको भन्दै उनले सत्य हो होइन हेर्नुपर्ने बताए । ‘यदि हो भने सजायको भागी हुन्छ । होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ । पार्टी र सरकारलाई बद्नाम गर्न, नेताहरूको चरित्र हत्या गर्न संगठित प्रयास भइरहेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अनाडी मान्छेले अनधिकृत मान्छेले रेकर्ड गरेर मैले रेकर्ड गरेको छु भन्छ भने के हो त्यो ? कसले लगायो वा केका लागि ? अतिरिक्त खोजेको होइन भने केका लागि गरेको ?’

प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटा दोषी देखिए कारबाही पनि हुने र सजाय पनि भोग्नुपर्ने बताए । स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले एजेन्ट होइन भनेर विज्ञप्तिसमेत निकालेको ओलीले उल्लेख गरेका थिए । ‘त्योसँग त डिल नै भएको छैन । फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरूको डिल भएको छ, कुरा भएको छ । अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन’, प्रधानमन्त्रीको भनाइ थियो । आफूले बाँस्कोटाको बचाउ गर्न नखोजेको तर यस्ता कुराको पछाडि के छ हेर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्र हो कि केही सत्यता छ ? त्यो हामीले हेर्नुपर्छ’ उनले भने, ‘सत्यता छ भने कारबाही हुन्छ । सत्यता छैन भने झुटो बोल्नेलाई सजाय हुन्छ ।’

उनले कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा संसद् अवरुद्ध गर्ने र माइतीघरमा उफ्रिएर सरकारको विरोध गरेको स्मरण गराउँदै बाँस्कोटामाथि आरोप लाग्नेबित्तिकै फलानो पनि मुछियो आहा.. भनेको भन्दै चिन्ता प्रकट गरे । ‘मुद्दा चल्यो भने अरू संसद अवरुद्ध गर्दछन्, माइतीघर मण्डलामा जुलुस गर्दछन् हाम्रा साथीहरू कसैले झुठा आरोप लगाए भनेपनि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दछन्’, उनको भनाइ थियो । सोही प्रकरणमा उनले आफूविरुद्ध पनि उजुरी परेको पत्रिका पढेर थाहा पाएको भन्दै त्यसलाई ‘पत्रु’ उजुरीको संज्ञा दिए । ‘मलाई समेत जोडेर उजुरी हालेको भन्ने समाचार पत्रिकामा पढेको हुँ । त्यसो हो भने त्यो पत्रु उजुरी हो । भ्रष्ट उजुरी हो’, उनले आक्रोशित हुँदै भने ।

बाँस्कोटा स्वयंले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने – आफ्नो नाममा बात लागेको हुनाले (बाँस्कोटाले)राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झँै गरेर…त्यसमा कस्सिनुपर्ने केही पनि छैन । दोषी भेटिए कारवाही भईहाल्छ नी ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार गर्ला, भ्रष्टाचारीको संरक्षण गर्ला भनेर चिन्ता नगर्न पनि सबैसँग आग्रह गरे । ‘भ्रष्ट देखिए अनुहार नहेरी कारबाही गर्छु । ऐया आत्था गर्न पाइँदैन’, उनले थपे । उनले सरकारले माइक्रोस्कोप लगाएर भ्रष्टाचारीको खोजबीन गरिरहेको बताउँदै पहिलेको तुलनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको दलील पेस गरे । ‘अख्तियार सक्रिय भएको । उजुरीको संख्या बढेको छ । १२÷१३ वर्षअघिका कान्ड बाहिर निक्लिएका छन् । सुन तस्करी घटेको छ । मझेरीमा गाडिएका, ओढारमा लुकाइएका सुन पनि फेला पारिएको छ’, उनले भने ।

पार्टीभित्र देखिएको विवादका बारेमा केही पनि नबोलेका प्रधामन्त्री ओलीले सकारका कामकारवाहीका विषयमा प्रष्ट पार्ने प्रयास गरेका थिए । यद्यपि उनले अब कम्युनिस्टहरू विभाजनतर्फ भने नजाने स्पष्ट पारे । नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै वेला दुई तिहाइ बहुमत आउने भन्दै कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को ‘शाही कू’ विरुद्धको आन्दोलन सफल भएको दाबी प्रधानमन्त्री ओलीले गरे ।

किड्नी फेरेको ६ दिनमा काममा फर्कन्छु
प्रधानमन्त्री ओलीले आफूले छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको बताए । उनले किड्नी ट्रान्सप्लान्ट गरेर फर्किएको भोलिपल्टैबाट कामलाई निरन्तरता दिने घोषणासमेत गरे ।

निक्कै उत्साहित शैलीमा भाषण गरेका उनले भने, ‘अब केही दिनभित्र अर्को किड्नी ट्रान्सप्लान्ट गर्छु, ५ दिन हस्पिटल बस्छु, छैठौँ दिन घर आउँछु, त्यसपछि काम गर्छु ।’ कतिपयले अहिले पनि आफूलाई बिरामी भन्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूले निरन्तररूपमा दैनिक १७÷१८ घण्टा काम गरिरहेको बताए ।

प्रतिक्रिया