श्रीमान् र छोराछोरी छाडेर अर्कैसँग पोइला जान लाग्दा‍‍‍….

भजनी । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । १३ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ७ बस्ने छङ्गा रानासँग विवाह गर्ने तयारीका साथ विवाह कार्डसमेत छपाएपछि आफूहरुलाई थाहा भएको पहिलेका श्रीमानकी फूपू पर्ने राजकुमारी डगौराले बताइन् ।

उनले दुई छोराछोरीलाई अलपत्र पारी अर्को विवाह गर्न लागेको भन्दै विवाह रोकिदिनका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन नमानेको बताइन् । पहिलेका श्रीमानसँग सम्बन्धविच्छेद गरी प्रक्रियाअनुसार अर्को विवाह गर्नु स्वभाविक भए पनि यही अवस्थामा विवाह रोकिदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

जानकी गाउँपालिका वडा नं ५ पथरैया माइत भएकी मीनाले श्रीमान बुधराम चौधरीको नामबाट नेपाली नागरिकता लिएको फूपू डगौराले बताइन् । यस विषयमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहरप्रसाद भट्टले उमेर पुगेको महिलाले विवाहित भए पनि अविवाहित केटासँग दुवैको इच्छाअनुसार विवाह गर्नका लागि कुनै पनि कानूनले रोक नलगाएको बताए । उनले कानूनी प्रक्रियाको लागि प्रशासनमार्फत जानुपर्ने बताए।

प्रतिक्रिया