विद्युतीय बस खरिदको तयारी

काठमाडौँ । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसको बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए ।

उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ, उनले भने, ‘विद्युतीय बसको स्पेशिफिकेशन, मोडालिटिलगायतका कुरामा छलफल भइरहेको हो ।’ सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा संस्थाको रु तीन अर्ब बराबरको शेयर खरिद गरेको थियो ।

पहिले दिइएको भन्दा संस्थाले ‘स्पेशिफिकेशन’ फरक भएको र बस खरिद अघि नबढेको भन्दै सरकारले चार महिनापछि कात्तिकमा सो रकम फिर्ता गरेको हो । संस्थालाई दिइएको रकमसँगै ब्याजसमेत फिर्ता लिइएको मन्त्रालयका प्रवक्ता प्रधानले बताए । रकम फिर्ता भएसँगै सरकारले नयाँ प्रक्रियाबाट खरिद प्रक्रिया गर्न तयारी अघि बढाएको हो ।

प्रतिक्रिया