अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

सर्लाही । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै सर्लाहीका सरोकारवालाले तत्काल अघि बढाउन माग गरेका छन् ।

जिल्लाका सर्वपक्षीय संयन्त्रको बैठकले जिल्लाको पूर्वी सिमाना संग्रामपुरदेखि पश्चिम सिमाना बलरासम्मको हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र सञ्चालन गर्न माग गरेका हुन् । फागुपूर्णिमासम्म पनि सडक निर्माणको काम अघि नबढाए चरणबद्ध आन्दोलनमा उत्रने सरोकारवालाले घोषणा गरेका छन् ।

तत्काल सडक निर्माणको काम अघि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराइएको प्रदेशसभा सदस्य अशोक यादवले बताए । आफूहरूको माग सुनुवाइ नभए आन्दोलनको कार्यक्रम अघि बढाउन सांसद, स्थानीय तहका प्रमुख, नागरिक अगुवालगायत सम्मेलित संघर्ष समितिसमेत गठन गरिएको यादवले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही–२ का प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवको प्रमुख आतिथ्यतामा हुलाकी सडकबारे छलफल गर्न सर्वपक्षीय बैठक बसेको हो । सर्वपक्षीय बैठकमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य, पूर्व–पश्चिम तथा भित्री हुलाकी सडकमा पर्ने विभिन्न स्थानीय निकायका प्रमुख, सडक कार्यालय जनकपुर र चन्द्रनिगाहपुर रौतहटका प्रतिनिधिको बीचमा छलफल भएको हो ।

सदरमुकाम मलंगवा हुँदै भारतीय सीमासँगै जोडिने जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धुलोको मार खेपी रहनुपरेको छ । सर्लाही खण्डको हुलाकी सडक निर्माणको काम तत्काल अघि बढाउने व्यवस्था मिलाई दिन आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग आग्रह गरेको सर्लाही–१ का प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताए । आफूले हुलाकी सडकको अवस्थाबारे निरन्तररूपमा मन्त्री नेम्वाङ र मन्त्रालयका जिम्मेवार कर्मचारीलाई ध्यानाकर्षण गराइरहेको सांसद साहको भनाइ छ ।

प्रतिक्रिया