हिमपातले किसान हर्षितः विकासका योजना

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका उच्च लेकाली क्षेत्रमा यस वर्षको मध्य फागुनसम्म सातौँपटक हिमपात भएको छ ।

खेतीबाली र चरन क्षेत्रका लागि हिमपात हुनु शुभसंकेत मानिने परम्पराअनुसार उत्पादन बढ्ने र पशुलाई चरन अभाव नहुने भन्दै किसानहरू हर्षित भएका छन् भने उच्च लेकाली क्षेत्रमा सञ्चालनमा रहेका विकास निर्माणका योजना र कामहरू भने प्रभावित भएका छन् ।

सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टकर हुनुका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका स्थानीय वासिन्दाले बताएका छन् । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ ।

गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही ९ फागुनमा हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको उनले बताए । विगतका भन्दा यो वर्ष धेरैपटक लगातारजसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, संघीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम सुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । सुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताए । करिब साढे दुई सय घरधुरीको बसोवास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ ।

रघुगंगा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

मंसिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सातपटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमिन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ । हिउँदे वर्षासँगै हिमपात भएपछि अन्न, तरकारी र फलफूललाई राम्रो हुने भन्दै किसानहरू हर्षित भएका छन् ।

प्रतिक्रिया