मुडेमा हिलस्टेसन निर्माण सुरु

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको ‘एक जिल्ला एक नमुना पर्यटन गन्तव्य’ निर्माण गर्ने नीति अनुरूप लिसंखुपाखर गाउँपालिका–५ मा ६० फिट उचाइको हिलस्टेसन निर्माणको सुरुआत गरिएको छ ।

२ हजार ५ सय मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको सैलुङ, कालिञ्चोक मन्दिर, गौरी शंकर तथा सिन्धुपाल्चोकको जुगल हिम शृंखला दोर्जे लाक्पालगायत देख्न सकिन्छ । त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

गाउँपालिकाको पर्यटकीय क्षेत्र मुडेमा ८ करोड ८५ लाख रुपैयाँ लागतमा हिलस्टेसन बन्न लागेको हो । प्रदेश सरकारले मुडेलाई पर्यटकीय गन्तव्यको रूपमा सूचीकृतसमेत गरेको छ । निर्माण सुरु भएको हिलस्टेसनका लागि चालु आवका लागि ३ करोड ५० लाखको टेन्डर सम्पन्न भइसकेको छ । बहुवर्षीय योजनाअनुसार हिलस्टेसन निर्माण सुरु गरिएको बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए ।

‘हामीले जिल्लाबाट छनोट गरेर पठाइएको आधारमा स्थान तोकेका हौँ । अब प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारको विकास गर्नेछ ।’, मन्त्रालयका सचिव शिवकुमार वाग्लले भने, ‘१० वर्ष भित्रमा प्रदेश भित्रका प्रत्येक जिल्लामा एउटा पर्यटकीय गन्तव्यमा बनाउने सोच लिएको छ । भौतिक पूर्वाधार विकास गर्ने गरी त्यस्ता गन्तव्यहरूमा प्रत्येक वर्ष पाँच करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयको तयारी छ ।’

हिलस्टेसनभित्र सामाजिक लजका साथमा अरू पर्यटकीय आकर्षणका विभिन्न केन्द्रको निर्माण गरिनेछ । त्यस्तै पिकनिक स्पट, गार्डेन, बाल उद्यान लगायतका महत्वपूर्ण आकर्षक संरचना बन्ने जनाइएको छ । मूलखर्क सामुदायिक वनको जग्गामा बन्न लागेको हिलस्टेसन निर्माण सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने गाउँपालिका अध्यक्ष कमल नेपालले बताए ।

दोलखाको सीमा गाउँमा हिलस्टेसन बन्ने भएपछि दुई जिल्लाबीच थप सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । सीमा जोडिएको दोलखाको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले यो परियोजनाले सिन्धुपाल्चोकसँगै दोलखा भित्रने पर्यटकलाई समेत वृद्धि गर्ने उल्लेख गर्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया