पर्यटकको आर्कषण बन्दै टीकापुर

आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि १४ किलोमिटर दक्षिणतर्फ टीकापुर पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको टीकापुरले नेपाल भ्रमण वर्ष २०२० मा थप बाह्य पर्यटकलाई स्वागत गर्ने तयारी पनि गरिरहेको छ ।

टीकापुर क्षेत्रका प्रमुख पर्यटकीय संरचनामा टीकापुर पार्क, पद्मप्रकाशेश्वर मन्दिर, पर्शुराम कुण्ड, बिपी कुञ्ज, डल्फिन क्षेत्र, ओजहुवा ताल, कर्णाली नदीलगायत छन् । जिल्लाका यी प्रमुख पर्यटकीय क्षेत्र टीकापुर नगरपालिकाभित्र पर्छन् । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा टीकापुर नगरपालिकाले पनि यसका लागि नगरसभाबाट बजेट विनियोजन गरी पर्यटनसम्बन्धी कार्यक्रम अघि सारेको छ । यहाँका केही प्रमुख प्राकृतिक तथा मानवनिर्मित पर्यटकीय संरचनाको परिचय यहाँ प्रस्तुत गरिएको छ ।

टीकापुर पार्कः टीकापुर नगरपालिकामा रहेको टीकापुर पार्क क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो । पूर्व–पश्चिम राजमार्गबाट करिब २० किलोमिटरभित्र पर्ने टीकापुर पार्कले आफ्नो एक अलग्गै इतिहास बोकेको छ । वि.सं २०२४ मा राजा महेन्द्र केही महिना टीकापुर पार्कमा बसेका थिए । राजा महेन्द्रलाई हृदयाघात भएपछि चिकित्सकको सल्लाहअनुसार कुनै प्राकृतिक क्षेत्रमा गएर आराम गर्न भनेपछि राजा महेन्द्रले टीकापुर पार्कमा बसी स्वास्थ्य लाभ गरेको बताइन्छ । त्यस समय राजाले यहीँबाट राज्य चलाएको इतिहास भेटिन्छ ।

यस पार्कमा राजा महेन्द्र आरोग्य केन्द्र र वीरेन्द्र विश्राम बाटिकाको नामका काठबाट निर्माण गरिएका दुई वटा घर छन् । बाहिर काठबाट निर्माण गरेको देखिए पनि भित्र सुविधा सम्पन्न शयनकक्ष, बाथरुम, अतिथि कक्ष छन् । राजा महेन्द्र र वीरेन्द्र टीकापुर आउँदा त्यहीँ बस्ने गरेको सो पार्कमा निर्मित घरको भित्री भागमा सुविधा सम्पन्न कोठा पनि छन् । टीकापुर पार्कको निर्माणमा पनि राजा महेन्द्रको योगदान रहेको टीकापुरवासी बताउँछन् ।

पार्कमा वर्षभरि मौसमअनुसारका दर्जनौँ फूल ढकमक्क फुलेको देख्न पाइन्छ । राजा महेन्द्रको पालामा स्थापना भएको टीकापुर पार्कमा रानी रत्न तथा बुहारी ऐश्वर्यको नाममा गुलाबका फरक–फरक बगैँचा रहेका छन् ।

पार्कलाई तीन भागमा विभाजन गरिएको छ । पार्क प्रवेश गरेपछि एउटा ठूलो स्तम्भ आउँछ । स्तम्भमा राजा महेन्द्रले रचना गरेको उपहार शीर्षकको कविता कुँदिएको छ । स्तम्भ नजिकै हेलिप्याड रहेको छ, जहाँ राजपरिवारका सदस्य चढेको हेलिकप्टर अवतरण गर्दथ्यो ।

स्तम्भको बायाँतर्फ राजा वीरेन्द्र विश्राम गृह रहेको छ । स्तम्भको ठीक अगाडि महेन्द्रको आरोग्य गृह रहेको छ भने त्यस वरपरको बगैँचालाई रत्न बाटिकाको नाम दिइएको छ । पार्कभित्र ठूलो फलफूल बगैँचासमेत रहेको छ । जहाँ आँप, लिची, कटहरलगायत गर्मीयामका फल रहे छन् । आठ प्रजातिका गुलाबका फूल फुलिरहेको पार्क हेर्दा अति आकर्षक देखिन्छ ।

टीकापुर पार्कमा बसेर स्वास्थ्य लाभ गरेका राजाले काठमाडौं फर्किएपछि टीकापुर क्षेत्रमा सहरी विकास गर्न कर्णाली नदीको किनारमा पार्क निर्माण गर्न निर्देशन दिएको बताइन्छ । उक्त पार्क ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । पार्कको दक्षिणतर्फबाट कर्णाली नदी बगेको छ । नदीको कलकल आवाजले सुन्दर पार्कलाई थप रोमाञ्चक बनाइदिएको महसुस हुन्छ ।

कर्णाली नदीको किनारमा पार्कभित्रै पर्नेगरी पिकनिकस्थल छन् । वर्षमा लाखौँ आन्तरिक पर्यटक पिकनिक खान र पार्कको अवलोकनका लागि आउने गरेका छन् । पार्कले वार्षिक करिब ५० लाख राजस्व आम्दानी गर्दै आएको छ । पार्कको प्रवेश शुल्क विद्यार्थीलाई १५ र अन्यका लागि २५ रूपैयाँ तोकिएको छ ।

टीकापुर नगरपालिकाले पार्कलाई नगरको गौरवको योजनाका रूपमा प्राथमिकतामा राखेको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि पार्क महत्वपूर्ण क्षेत्र भएको भन्दै पार्कको व्यवस्थापनका लागि नगरपालिका निरन्तर लागिपरेको बताए । उनले अहिले पार्कको आम्दानीभन्दा बढी नगरपालिकाले पार्कमा लगानी गर्दै आएको भन्दै भविष्यमा पार्क नगरपालिकाको मुख्य आम्दानीको स्रोत बन्ने बताए ।

पद्मप्रकाशेश्वर मन्दिरः टीकापुर नगरपालिका–७ मा रहेको पदमप्रकाशेश्वर मन्दिर पर्यटकका लागि एक महत्वपूर्ण गन्तव्य बनेको छ । सयौँ वर्ष पुरानो यो मन्दिरको वि.सं १९६५ मा जीर्णोद्धार गरिएको थियो । नेपालको सबैभन्दा ठूलो शिवलिंग पद्मप्रकाशेश्वर मन्दिरमा रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद कायस्थ बताउँछन् । विश्वको दुर्लभ शिवलिंग यही मन्दिरमा रहेको भन्दै अध्यक्ष कायस्थले यस मन्दिरमा रहेको शिवलिंग पूर्वतर्फ फर्किएका कारणले पनि विशेष रहेको बताए ।

मानसरोवरको तीर्थयात्रामा जाने भक्तजनले पदमप्रकाशेश्वर मन्दिरको दर्शन गरेर जाने र फर्कदा पुनःमन्दिरको दर्शन गरेर घर फर्कने गरेको स्थानीय बताउँछन् । सयौँ वर्ष पुरानो मन्दिरको आफ्नै महत्व रहेको बताउँदै टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डँगौरा थारूले मन्दिरको प्रचारप्रसार हुन नसकेको स्वीकार गरे । नगरपालिकाले मन्दिरको संरक्षण र सम्बद्र्धनमा थप ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

नगर प्रमुख रावलले मन्दिरको पुनःनिर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारको ३० लाख र नगरपालिकाको १० लाख रुपैयाँ बजेट रहेको भन्दै पुरातात्विक महत्वलाई नबिग्रने गरी मन्दिरको पुनःनिर्माण गरिने बताए ।

पद्मप्रकाशेश्वर मन्दिरको स्थापना हुँदा ७ सय बिघा जग्गा मन्दिरको नाममा भए पनि हाल मन्दिरसँग दुई कठ्ठा १० धुर मात्र जग्गा बाँकी छ । मन्दिरका अध्यक्ष कायस्थले स्थानीय सरकारले मन्दिरका नाममा रहेको जग्गाको खोजी गर्नुपर्ने बताएका छन् । उनले मन्दिर आसपासमै पर्शुराम कुण्डको स्थापना गर्नुपर्ने भन्दै सम्भावना बोकेको क्षेत्रलाई स्थानीय सरकारले खासै वास्ता नगरेको गुनासो समेत गरे ।

डल्फिन क्षेत्रः टीकापुर नगरपालिका– ७ मा पर्ने डल्फिन क्षेत्र पर्यटकका लागि महत्वपूर्ण गन्तव्य रहेको छ । विश्वकै दुर्लभ जलचर डल्फिन कर्णाली–मोहना, काँढा, कन्द्रा नदीमा पाइन्छ । विशेषगरी, वर्षातको समयमा डल्फिन बढीमात्रामा देखिने भए पनि कर्णाली नदीमा बाहै्र महिना डल्फिन देख्न सकिन्छ । डल्फिन हेर्न नेपाल, भारत, बंगलादेशलगायत तेस्रो मुलुकका पर्यटक यहाँ आउने गरेका छन् ।

वि.सं ०५४÷०५५ तिर सो क्षेत्रमा डल्फिन देखिएपछि स्थानीय भोजराज श्रेष्ठले डल्फिन संरक्षण केन्द्र स्थापना गरी प्रचारप्रसार र संरक्षणका क्रियाकलाप थालेका थिए । डल्फिन क्षेत्रको प्रचारप्रसारका लागि प्रत्येक वर्ष डल्फिन महोत्सवको आयाजना पनि हुने गरेको छ । टीकापुर नगरपालिका– ७ का वडाअध्यक्ष डँगौरा थारूले डल्फिन क्षेत्रको संरक्षण र प्रचारप्रसारका लागि नगरस्तरबाट विभिन्न प्रयास भइरहेको भन्दै सो क्षेत्रमा भौतिक संरचना निर्माणको कामसमेत सुरु हुने बताए ।

डल्फिन क्षेत्रमा टीकापुर नगरपालिका र भजनी नगरपालिका पर्ने हुँदा सो क्षेत्रमा माछा मार्नसमेत प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लगाइए पनि माछा मार्नेक्रम भने नरोकिएको स्थानीयको गुनासो रहेको छ ।

पर्शुराम कुण्डः टीकापुर नगरपालिका– ७ मै पर्ने पर्शुराम कुण्ड पर्यटकको अर्काे महत्वूर्ण गन्तव्य बन्न सक्छ । रानी जमरा गुलरिया सिँचाइ आयोजना सुरु हुनु अगाडि कर्णाली नदीको केही भाग त्यही कुण्ड भएर बग्थ्यो । हाल उक्त कुण्ड तालका रूपमा परिणत भएको छ । कुण्डसँगै बिपी कुञ्ज र सत्ती कर्णाली सामुदायिक वन जोडिएको यो क्षेत्र पनि पर्यटकको महत्वपूर्ण गन्तव्य बन्नसक्ने देखिन्छ ।

हुलाकी राजमार्गसँगै जोडिएको पर्शुराम कुण्डको संरक्षण र प्रचारप्रसार हुनसके पर्यटकका लागि पिकनिक स्पट, जंगल सफारीका लागि सत्ती कर्णाली सामुदायिक वन, ¥याफ्टिङका लागि कर्णाली नदीसँगै जोडिएका कारण त्यसको महत्व विशेष रहेको स्थानीय जीतराम चौधरीले बताए ।

नगरपालिकाले चालू आर्थिक वर्षमा ओजहुवा ताल, पर्शुराम कुण्ड र सत्ती कर्णाली सामुदायिक वनको डिपीआर तयार गर्ने काम सुरु गरेको अध्यक्ष थारूले बताए । टीकापुर आफैँमा एउटा योजनाबद्ध र व्यवस्थित शहर रहेको बताइन्छ । त्यसैले यस सहरले पनि टीकापुरमा रहेका यी संरचनाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया