कर्णाली करिडोरमा जोडियो हुम्ला

कर्णाली करिडोरको बाटो हुम्लाको दक्षिणी गाउँपालिका ताँजाकोट र अदानचुलीसम्म पुगेको छ । जिल्लाको जम्मा ७ गाउँपालिका मध्ये दक्षिणी बाजुरा सिमानासम्मको स्थानीय तहका जनता सडकको ट्रयाक खुलेर गाडी नै गुड्दा निकै खुसी भएका छन् । चाँडै नै अन्य गाउँपालिका समेत छुने लक्ष्यको साथमा काम युद्ध स्तरमा सञ्चालन भईरहेको छ ।

आफ्नै गाउँबाट गाडी चढेर सदरमुकाम सिमिकोट र त्यहाँबाट सुर्खेत झर्ने रहर ताँजाकोट गाउँपालिकाका स्थानीय ६२ वर्षीय नन्दप्रसाद जैसीको पुरा भएको छ । पहिलोपटक राजपुरमा पुगेर गाडी देखेको बताउने जैसीले भने, ‘पैसा तिर्न परे पनि गाउँ बाटै गाडी चढ्ने धेरै पूरानो धोको थियो । हामी जस्ता बूढापाकाको आफ्नै गाउँमा गाडी पुगेको हेर्ने र गाडी चडेर सदरमुकाम सिमिकोटसम्म पुग्ने रहर यो सरकारले पूरा गरिदेला कि भन्ने लागेको छ ।’ कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोडिए पनि हालसम्म सदरमुकाम सिमिकोट जोडिएको छैन ।

नेपाल सरकारले सबै पालिकाको सदरमुकामसम्म कालोपत्रे सडकको योजना बनाए पनि अझैंसम्म हुम्ला सदरमुकाममा सडक पुगेको छैन । हुम्लाको उत्तरी क्षेत्रका बासिन्दाले एक वर्ष पहिले आफ्नै गाउँ ठाउँमा गाडी देखे पनि हुम्लाको दक्षिणी क्षेत्रका वासिन्दाका लागि भने यो सपना पूरा हुन पाएको छैन । कतिपयले सुर्खेत वा अन्यत्र कतै जाँदा गाडी देखे पनि यहाँका ज्येष्ठ नागरिकले अहिलेसम्म सवारी साधन नंै देखेका छैनन् । उनीहरूमा कर्णाली करिडोर निर्माण अघि बढेसँगै आफ्नै गाउँ ठाउँमा सवारी साधन गुडेको देख्ने रहर जागेको छ ।

अदानचुली गाउँपालिका–१ का ४९ वर्षीय रुपचन्द्र थापाले पनि अरू सबै जिल्ला सडक सञ्जालमा जोडिँदा समेत अहिलेसम्म हुम्ला सदरमुकाम नजोडिएको भन्दै गुनासो गरे । सरकारले अहिलेसम्म यस जिल्ला र यहाँका जनतालाई उपेक्षा गरिरहेको उनको भनाइ छ । तर अब सडकले यहाँको मुहार फेरिने आशा उनमा जागेको छ । सडक बनेर गाडी नगुडे पनि थापाले छिमेकी जिल्ला मुगु र बाजुरामा गाडी गुडेको देखेको बताए । उनले भने, ‘अहिलेसम्म हामी उताका गाडीका बारेमा सुनेरै बसिरहेका छौं, हाम्रो ठाउँमा देख्न पाएनौं ।’

कर्णाली करिडोर अन्तर्गतको धुलाचौर लेबणीदेखि सल्लि सल्लासम्मको सडक खण्डको निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले हुम्ला र बाजुराको सीमाना कवाडीसम्मको ६ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ । कालीकोटदेखि हुम्लाको सल्लीसल्ला सम्म १ सय ९६ किलोमिटर सडक निर्माण गर्ने कार्य नेपाली सेनाले धमाधम अघि बढाइरहेको छ ।

जसमा कवाडीदेखि सल्लीसल्ला सम्म ३९ किमी सडकमध्ये २२ किलो मिटरमा छ मिटरको चौडा ट्रयाक खोलिसकेको छ । त्यस्तै १७ किमी सडकमा विस्फोटन भइरहेको छ भने, करिडोरको सडकमध्ये हुम्ला जिल्लामा सडक निर्माणको ६० प्रतिशत काम भइसकेको नयाँ भैरवी दल गुल्म सिमकोटले जानकारी दिएको छ ।

बाजुरा र हुम्ला जोड्ने कवाडी पुलबाट झण्डै पाँच किमी सडक सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आउँदा उक्त गाउँपालिकाका बासिन्दाको जनजीवन सहज हुन थालेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए । गाउँपालिकाले आगामी दिनमा सहायक सडकहरू खोल्ने लक्ष्य लिएको छ । उनले भने, ‘हाम्रो गाउँपालिकामा सडक आउनु विकासको सुरुवात हो, आगामी दिनमा यसलाई अघि बढाइनेछ ।’

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक विभागले निर्माण गरिरहेको ५१ किमी सडक तीव्र रुपले अघि बढिरहेको जानकारी दिए । कर्णाली करिडोर आयोजना निर्देशनालयले विभागलाई निर्माणका लागि आवश्यक हेभी ईक्वीप्मेण्ट ल्याउन नसकिनु समस्याका रूपमा रहेको बताउँदै आएको छ । निर्देशनालयले आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकामा ढिलोमा दशैँ सम्ममा सम्पन्न भइसक्ने जानकारी दिएएको छ । उनले भने, ‘सिमिकोटसम्म चाँडो सडक पु¥याउँने हाम्रो पनि लक्ष्य हो ।’

केही समय पहिले मात्र प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति करिडोरको अनुगमनका लागि पुगेको थियो । सडक विभाग र नेपाली सेना दुवैले काम गरिरहेको पाइएको समितिका सदस्य गणेशकुमार पहाडीले बताए ।

आउँदो दशैंसम्म जिल्ला सदरमुकाम जोड्ने लक्ष्य लिएर सडक निर्माणको काम अघि बढेको छ । सेनाले कालीकोटदेखि हुम्लासम्मको सडकमा काम अघि बढाइरहेको छ भने सडक विभागले सिमिकोटबाट सल्लीसम्मको सडक निर्माण अघि बढाएको छ । महानिर्देशक शर्माले भने, ‘विभागलाई पनि चट्टान फोडेर सडक निर्माण गर्न सेनाकै सहयोग चाहिन्छ ।’

सडक विभागले निर्माण अघि बढाइरहेको भए पनि ठूलाठूला चट्टान फुटाउन विस्फोटक पदार्थ चाहिने हुँदा निर्माणमा ढिलाइ हुनसक्ने उनको तर्क छ । विभागले निर्माण गरिरहेका स्थानमा पनि जिम्मेवारी नेपाली सेनालाई नै दिँदा चाँडो हुने स्थानीयको विश्वास छ । समितिलाई त्यसै अनुसार स्थानीयले सुझाव दिएका छन् । तर उनले भने, ‘विभागले ठेक्का भएको परियोजनामा तत्काल ठेक्का तोड्न सकिदैन ।’

आवश्यक सामग्री पुर्याउँन समस्या
कर्णाली करिडोर निर्माणमा आवश्यक सामग्री पु¥याउँन कठिन भएकाले पनि हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काममा ढिलाई भएको छ । सेनाले हाल आवश्यक सामग्री चीन हुँदै ल्याउनु परेको छ । तर ढुवानीको अनुमतिका लागि कठिनाइ रहेको सेनाका बालाध्यक्ष रथी गौरव तण्डुलले जानकारी दिए । सेनाले कवडीदेखि सल्लीसल्ला सम्मको सडक निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । नेपाली सेनाले जिम्मा पाएको हुम्ला र बाजुराको सीमाना कवाडीदेखि सल्लीसल्ला सम्मको ३९ किलोमिटर मध्ये १७ किलोमिटर काम बाँकी रहेको जनाएको छ ।

चालू आर्थिक वर्षभित्रै हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी दिएका बालाध्यक्ष रथी तन्डुलले असारसम्ममा नैं यस करिडोरको कालीकोट जिल्लामा बाँकी पाँच सय मिटर सडक निर्माण गरिने लक्ष्य लिइएको बताए । ‘गल्फागाड खोलामा १ सय २० फिट लम्बाइको बेलिब्रिज निर्माण भइरहेकामा त्यसलाई सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ उनले भने, ‘सल्लीसल्ला इलाकासम्मको १ सय २३ किलोमिटर सडक आंशिक रूपमा ट्रयाक निर्माण गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।’

रेखांकन सुधार गर्न सेनाको माग
नेपाली सेनाले कर्णाली करिडोर सडकको प्रस्तावित रेखांकन सुधार गर्न सरकारसँग माग गरेको छ । कतिपय खण्डमा रेखांकन पहिलेको चलन चल्तीकै बाटोमा भएकाले त्यसको सट्टा कर्णालीको तीरैतीर हुनुपर्ने विकास समितिले पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझावमा भनेको छ । हालको रेखांकनभन्दा कर्णाली नजिक हुँदा झण्डै चार दशमलव पाँच किमी छोटो पर्ने भन्दै उक्त मार्ग प्रस्ताव गरिएको पुष्टी समिति सदस्य पहाडीले गरे । यसबाट कालीकोट र बाजुराका पिछडिएका क्षेत्रहरू धौलागो, खिन, थिर्पु र साप्टाका नागरिक लाभान्वित हुनेछन । रेखांकन तल्लो भागबाट हुँदा सडक दुर्घटना कम हुने र गिट्टी, बालुवा, पानीलगायत निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने दाबी सेनाको छ ।

नेपालको सबैभन्दा पिछडिएको क्षेत्रका रूपमा रहेको कर्णाली र त्यसमा पनि पिछडिएको हुम्लालाई सडक सञ्जालसँग जोड्न विसं २०६९ चैतमा हिल्सा–सिमिकोट सडक योजनाको युनिट स्थापना भएको थियो । ९५ किमी लम्बाइको सडकमध्ये ८७ दशमलव पाँच किमी सडकमा दुई लेन ट्र्याक खोलिइसकेको छ । हिल्सा–सिमिकोट सडक निर्माण सुरु गरिएकोमा सरकारले विसं २०७३÷०७४ मा ५० किमी सिमिकोट–सल्लीसल्ला सम्म विस्तारको योजना बनाएको हो ।

हिल्सादेखि सिमिकोट खण्डमा ९५ किमी सडक निर्माणका लागि छ वटा ठेक्का सञ्चालनमा छन् । हिल्सादेखि च्याछङासम्म ७४.९ किमीमा ७१.५ किमी सडकको दुई लेनको ट्र¥याक खोलिसकिएको छ । इलिङदेखि सल्लीखोलामा पर्ने कडा चट्टानमा विस्फोटको काम भइरहेको बलाध्यक्ष रथी तन्डुलले जानकारी दिए । ‘च्याछङाभिर खण्डको च्याछङाभिर फुटाइसकेको छ भने बाँकी रहेको खण्डमा ड्रिलिङ र विस्फोटनको काम भइरहेको छ ।’ उनले भने, ‘सिमिकोटबाट सल्लीसल्ला सम्म ५० किमीमा तीनवटा ठेक्कामार्फत निर्माण अघि बढाइँदैछ ।’

याङ्चुदेखि भिरगौंडासम्मको ठूला चट्टान रहेकामा विस्फोटन भइसकेको जनाएको सेनाले बोक्चेगौंडामा पनि अहिले ड्रिलिङ भइरहेको जानकारी दिएको छ । सर्केगाडमा स्थानीयबासीले बालीमा नोक्सानी पुग्ने भन्दै काममा अवरोध पु¥याएकामा अझैसम्म समाधान निस्कन सकेको छैन । हाल सर्केगाडमा रहेको कम्प्रशेर मेशिन स्यालतडी र छाहरेमा झार्न लागिएको सेनाले जनाएको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा करिडोरको कुल अनुमानित लागत दुई अर्ब ८४ करोड १६ लाख ११ हजार रहने अनुमान गरिएको थियो । हालसम्म नेपाली सेनाले एक अर्ब १३ करोड रुपैयाँ खर्च गरिसकेको छ । चालु आवमा सरकारले ४० करोड रुपैयाँ बजेट यो सडकका लागि विनियोजन गरेको छ । चालू आवमा चारवटा पुल निर्माण शुरु भएको छ । यसमध्ये सल्ली पुलमा ढलानको काम अघि बढेको छ भने हेप्का पुलमा जगको काम भइरहेको छ । अरू दुई पुलमा माटो परीक्षणको काम भइरहेको छ ।

प्रतिक्रिया