बंगुरपालनमा क्रियाशील वडाध्यक्ष

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरूपमा बंगुरपालन व्यवसाय सुरु गरेका छन् । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बंगुरपालनमा उनी संलग्न भएका हुन् । बंगुरपालनका लागि सात लाख बढी रकम उनले खर्च गरेका छन् । ६ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बंगुरका पाठा हुर्कंदै गएका छन् । खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्यान्डरस जातका बंगुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बंगुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गरेका छन् । खोर निर्माणमा मात्रै दुई लाख बढी रकम लगानी गरिएको वडाध्यक्ष ऐरले बताए । बंगुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उनी आफँै खटिन्छन् । कार्यालय समयमा जनताको काममा व्यस्त हुने वडाध्यक्षले बिहानीको समय र साँझको समय बंगुरको हेरचाह गर्नमै खर्चिंदै आएका छन् ।

‘वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बंगुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु’, उनले भने, ‘दैनिक बंगुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बंगुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।’ काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए वडाध्यक्षले कामदारलाई त्यस कार्यका लागि खटाउने गरेका छन् । बंगुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बंगुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रूपमा खाने गर्दछन् । बंगुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको छ ।

पहिला माछापालनका लागि पाँच कठ्ठा जग्गामा पोखरी मात्रै निर्माण गरिएको थियो वडाध्यक्ष ऐरले भने, ‘माछापालनबाट वार्षिकरूपमा छ क्विन्टल बढी माछा उत्पादन हँुदै आएको थियो ।’ पशु विज्ञको सल्लाहमा पोखरीसँगै बंगुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बंगुरपालनलाई सँगसँगै लगिएको उनले बताए । विगतमा माछाको उत्पादन मात्रै वार्षिकरूपमा झण्डै दुई लाख रुपैयाँ जति हुने गरेको थियो । बंगुरपालन सँगै पोखरीमा माछाका भुरा मात्रै यस वर्ष दुई हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उहाँको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।

‘बंगुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ’ वडाध्यक्ष ऐरले भने, ‘यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ ।’ वडाध्यक्ष ऐरको आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बंगुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन । दुई करोडको लागतमा सञ्चालन गरिएको उनको खाद्य उद्योगमा वार्षिकरूपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै ६५ लाख बढीको निर्यात हँुदै आएको उनले बताए ।

उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हँुदै आएको छ । चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बंगुर र माछाको चारोका रूपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उनले १२ जनालाई रोजगारी दिएका छन । खाद्य उद्योग वडाध्यक्ष हुनुभन्दा अगाडिदेखि नै उनले सञ्चालन गर्दै आएका थिए । आर्थिकरूपमा सबल बन्नका लागि आयआर्जनका कार्यमा संलग्न हँुदै आएको उनले बताए । खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बंगुरपालनका लागि लगानी गरिएको उनको भनाइ छ ।

‘राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि आर्थिक अवस्था मजबुत नभए हँुदैन । त्यसलाई पूर्ति गर्नका लागि बंगुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हँु ।’ राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइखाने साधनका रूपमा प्रयोग गर्दा बदनामसमेत भएका छन् । आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी रहेको उनले बताए ।

उनले भने, ‘आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरूसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डो¥याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफँै समृद्धितर्फ लम्किन्छ ।’ समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ संकल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उनको सुझाव छ ।

प्रतिक्रिया