पाइलट ‘अति उत्साहित’ हुँदा दुर्घटना

काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटना पाइलट ‘अति उत्साहित’ हुँदा भएको सरकारी छानबिन आयोगले निष्कर्ष निकालेको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुंगा सिस्नेभिरमा एयर डाइनेस्टिको ९एन–एएमआइई एएस ५० बि३ई हेलिकोप्टर दुर्घटना भएको थियो ।

पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरिएको चार सदस्यीय जाँच आयोगले करिब एक वर्ष लगाएर प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो । दुर्घटनाकै दिन मन्त्रिपरिषद्द्वारा गठित जाँचबुझ आयोगले ‘अति उत्साहित’ पाइलटले प्रतिकूल मौसमका बाबजुद पाथिभरा हेलिप्याडबाट हेलिकोप्टर उडाएको पाइएको निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदनले पाथिभरा हेलिप्याडबाट उड्नेबित्तिकै पाइलटले प्रतिकूल मौसमको सामना गर्नुपरेको पाएको छ । तीव्र गतिको हावा चल्नुका साथै हिउँ पर्न सुरु गरेको उक्त अवस्थामा पाइलटले हेलिकोप्टरमाथिको नियन्त्रण गुमाएको कारण भीरसँग ठोकिएर दुर्घटना भएको आयोगको निष्कर्ष छ ।

आयोगले तयार पारेको प्रतिवेदन सोमबार संकृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सार्वजनिक गरेको छ । ‘पाइलट अति उत्साहित थिए, पाथिभरा हेलिप्याडबाट उड्ने वित्तिकै प्रतिकुल मौषमसहित हावाहुरी र हिउँ पर्न शुरु गरेको थियो’, प्रतिवेदनमा भनिएको छ,‘उडानपछि हेलिकोप्टर आइएमसीमा प्रवेश ग¥र्यो, हेलिकोप्टर कुहिरोमा हरायो र चालकले आफ्नो नियन्त्रण गुमाएपछि दुर्घटनामा प¥र्यो ।’

आयोगले भविष्यमा यस्ता दुर्घटनाबाट बच्न पाइलटलाई पर्याप्त कौशलको तालिम दिन, हेलिकोप्टरहरूको अवस्था राम्रो राख्न लगायतका सुझाव समेत दिएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा भएको थियो । हेलिकोप्टरमा सवार अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो । पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दुर्घटनामा परेको ‘सिंगल इन्जिन हेलिकोप्टर एच१२५’ फ्रान्सस्थित युरोकोप्टर र एरोस्पटाइलले निर्माण गरेको हो । आयोगका अध्यक्ष गौतमसहितको टोली दुर्घटना भएको एक सातापछि दुर्घटनास्थल पुगेको थियो । गौतमको अध्यक्षतामा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसहित नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला र क्याप्टेन प्रमोद लामा सम्मिलित जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया