प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं । भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीसहित चार जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा रू ७० करोड कमिसनको डिल गरेर राजिनामा दिएपछि भ्रष्टाचार अभियोगमा प्रधानमन्त्री ओली, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आइतबारउ जुरी दर्ता भएको हो ।

उजुरी दिनेमा बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनालाई उजुरी दिएका हुन् ।

अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले कारबाहीको मागसहित उजुरी दिएका हुन् । उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चार मन्त्री बास्कोटाको अडियो सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् ।

सार्वजनिक अडियोमा बास्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ । प्रधानमन्त्री ओलीले उक्त अडियाे डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले उक्त प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ।

प्रतिक्रिया