देश विकासमा तीव्र गतिले लागिपरेका छौँः प्रधानमन्त्री ओली

पाँचथर । जिल्लाको दक्षिणिक्षेत्र यासोकमा तमोर लिफ्टिङ खानेपानी आयोजनाको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको छ । प्रधानमन्त्री ओलीले तीव्र गतिमा विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताए । पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु सरकारको मुख्य लक्ष्य रहेको जिकिर गरे ।

आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए । ‘हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले सुख्खा क्षेका मानिसले अब ढाढ खुस्कने गरी दिनभरी पानी बोक्ने दिन गएको बताए । जनतालाई सुलभ सेवा दिन सरकार लागि परेको जनाउँदै उनले बिकास निर्माणका काम तपाईंहरुले नै गर्नुपर्ने भन्दै धन्यवाद दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र पूर्वसभामुख सभामुख सुवासचन्द्र नेम्वाङले राखेका भनाइप्रति समर्थन जनाउँदै प्रदेश एकको बिकास तीव्र गतिमा लम्किएको विचार व्यक्त गरे । उनले देश बिकास भए बिजुलिको महसुल र्तिनु नपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले आफू सँगै आएका तथा आफू बिरामी हुँदा उपचार गर्ने स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिँदै उनीहरुका परिचय दिए ।लिफ्टिङ खानेपानी आयोजना उद्घाटन तयारीका लागी विहिबार पत्रकार सम्मेलन समेत गरेर जानकारी गराइएको थियो ।

त्यस क्षेत्रका नागरीकहरुलाई खानेपानीको अभावले प्रत्येक वर्ष सयौँको संख्यामा बसाईं सर्ने गरेको कुम्मायक गाउँपालिकाअन्र्तगत यासोक, रानिगाउँ र स्यारुम्बाबाट अब बसाईं सर्ने क्रम रोकिने उपभोक्ता समितिका अध्यक्ष एवं पूर्वमन्त्री डम्बरसिंह सम्वाहाम्फेले जानकारी गराउँदै आइरहेका थिए । तमोर खोलाबाट ९.१४६ किलोमिटर टाढाबाट पम्पिङ गरेर ल्याएको पानी यासोक बजारसम्म आइपुगेको जानकारी समितिका अध्यक्ष सम्वाहाम्फेले दिए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, खानेपानी तथा सरसफाई मन्त्री विना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री, साथै पाँचथरे युवा मन्त्री ईन्द्रबहादुर आङ्बो, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अगावै सुरक्षा व्यवस्था मिलाइएका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।

खानेपानी यासोक रानिगाउँ स्याबरुम्वा क्षेत्रका ३०४३ घर धुरीलाई पानी खुवाउने महत्वकांक्षी योजनाका रुपमा २०७२ सालबाट सुरु गरीएको थियो । हाल यो योजनाबाट २२०० घर धुरीलाई पानी खुवाउन थालिने समितिले जनाएको छ । घरघरमा पाइपलाईन जडान गर्ने कार्य तीव्ररुपमा भइरहेको र केही क्षेत्रमा भने बाटो निर्माणका कारणले ढिलो भइरहेको छ । मिटर जडान लगायतका केही कामहरु बाँकी रहे पनि पानीको महसुल कसरी लगाउने भन्नेमा समिति अन्योलमा परेको छ ।

पानीको मूहान लुभुघाट तमोरदेखि १ हजार ४ सय ३४ मिटरको उचाइमा रहेको यासोकसम्म पानी पम्पिङ गर्नलाई ७ वटा पम्प स्टेशनको निर्माण गरिएको छ । प्रधानमन्त्री ओलिको जन्मदिन जन्म घर आठराईमा मनाउने क्रममा पाँचथर आएर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । आइतबार उनको जन्मदिनका अवसरमा आफ्ना बुबासहित अन्य मन्त्रीहरु पनि उपस्थित रहेका छन् ।

प्रधानमन्त्री ओलीले छातेढुङगा ५ सुकेपोखरीदेखि ताप्लेजुङ ढुङ्गेसाँघुमा रहेको स्वर्गीय जननेता मदन भण्डारीको जन्म घर जाने सडकको शिलान्यास पनि गरेका छन् । त्यस्तै उनले त्यस क्षेत्रका एक हजार पाँच सय बिद्यार्थिहरुलाई शैक्षिक साम्राग्री हस्तान्तरण गरे । त्यस क्षेत्रका ४ सय बृद्ध बृद्धाहरुलाइ न्यानो कपडासहित प्रधानमन्त्री ओलीले सम्मान गरे । उनले आठराईको संक्रान्ति बजारमा रहेको नेपाल बैंकको कार्यालय पनि उद्घाटन गरे ।

प्रतिक्रिया