‘परदेशी–२’ बन्ने

काठमाडौँ । नारायण रायमाझीले निर्देशन गर्ने चलचित्र ‘परदेशी–२’ को शुभमुहूर्त गरिएको छ । चलचित्रका प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको हो ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता चलचित्रका लेखक तथा निर्देशक रहेका रायमाझीले ‘परदेशी–२’ को निर्देशन गर्न लागेका हुन् । प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेले चलचित्र सामाजिक विषयमा बन्ने बताए । ‘परदेशी–२’ मुभिज डटकमको ब्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस ब्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भइसकेका छन् ।

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथाव्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भइरहेको बताउँदै ‘परदेशी–२’ यस्तै धेरै कथामध्येको एक कथा भएको कुरा निर्देशक रायमाझीले सुनाए ।

उनले भने, ‘हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौँ र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका छौँ ।’ उनका अनुसार चलचित्रमा नेपाली गाउँबस्ती रित्तिएको कथालाई उधिनिएको छ । नेपाली समाजमा बढ्दो परदेश मोहको विषयलाई चलचित्रमा उठान गरिएको निर्देशक रायमाझीले जिकिर गरे । उनले भने, ‘सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरूको संघर्षमय जीवनको कथालाई चलचित्रले उतार्नेछ ।’

रायमाझीले बाध्यता या रहरले विदेशिएका युवा र तिनका अभिभावकले देखेको सपना र वास्तविक भोगाइ तथा कठिनाइको यथार्थ कथा चलचित्रले बताउने दाबी गरे । चलचित्रका निर्माता राजेश वंशलले ‘परदेशी–२’ गाउँ तथा सहरको घर घरको कथा भएको बताए ।

उनले भने, ‘परदेशले नेपालीलाई सुख र समृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरू छन् । यही सुख–दुःख, सफलता–असफलता र त्यससँग जोडिएको उतारचढावको कथा चलचित्रमा उतारिने छ ।’ उनले स्क्रिप्टमा नारायणदाइले पाँच वर्ष मिहिनेत गरेको सुनाए । उनले थपे, ‘गोर्खा पल्टन र परदेशीजस्तै यो चलचित्रले पनि दर्शकको अपार माया पाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’

यस चलचित्रमा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने गायक तथा अभिनेता प्रशान्त तामाङ, प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने निर्माण पक्षले जनाएको छ । गायक रमेश बिजीको कथा तथा पटकथा निर्देशक रायमाझीको पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बिबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शब्द रहेको छ ।

बिबी अनुरागी र निर्देशक रायमाझीको संगीत रहने यस चलचित्रका गीतमा प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दास, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् । चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मानकृष्ण महर्जनले चलचित्र खिच्ने छन् । पोखरा, पाल्पा, काठमाडौँ, भारतको गोरखपुर र अमेरिकामा छायांकन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायांकनको काम सकिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया