‘नास्पाती क्यान्डी’

मुलुकमा विभिन्न स्वादमा ‘क्यान्डी’ उत्पादन हुँदै आएको छ । बजारमा पाइने धेरै क्यान्डीबारे कतिलाई थाहा होला, तर नास्पातीको पनि ‘क्यान्डी’ बन्छ भन्ने । काठमाडौं दक्षिणकाली नगरपालिका– ८ छैमले पुग्नेले ‘नास्पाती क्यान्डी’को स्वाद लिन भुल्नुहुन्न ।

हालसालै मात्र यहाँ नास्पाती क्यान्डीको परीक्षण सफल भएको छ । आशा संसार नेपाल (होप नेपाल) ले उक्त क्यान्डीको उत्पादन थालेको हो । कम्पनीका अनुसार नास्पाती क्यान्डीको उत्पादन पहिलो भएको दाबी गरिएको छ । विदेशीको संलग्नता रहेको उक्त कम्पनीले ‘छैमले भिलेज परियोजना’अन्तर्गत क्यान्डी उत्पादन थालेको परियोजना व्यवस्थापक मीठाराम कठायतले जानकारी दिए ।

मुख्यगरी छैमले दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा नास्पाती उत्पादन हुन्छ । यहाँ उत्पादित नास्पाती काठमाडौंलगायत मुलुकका ठूला सहर र भारतमा पनि खपत हुन्छ । काँचै छँदै टिपेको नास्पाती भारत पुग्छ । पाक्ने मौसमका नास्पाती नेपालभित्र जान्छ । भाउ नआए पनि दुई महिनाको अन्तरमा नास्पाती बिक्री गर्नुपर्ने किसानको बाध्यता हो । बिक्री नभए त्यसै कुहाएर फ्याँक्नु पथ्र्यो

क्यान्डी उत्पादनले पीडित किसानलाई राहत पुग्ने दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताए । उनले भने, ‘यस्ता उद्योग अझै धेरै आउनुपर्छ, स्थानीय तहसँगको समन्वय बढाउनुपर्छ, किसानलाई सुसूचित गराउनुपर्छ, अनि मात्रै किसानले प्रत्यक्ष फाइदा लिन सक्छन् ।’

अघिपछि दलाल लाग्ने हुनाले किसानले वास्तविक भाउ पाउदैन थिए । यस्तो अवस्थामा क्यान्डी उत्पादक कम्पनीले बजारकै भाउमा नास्पाती खरिद ग¥यो भने राहत मिल्छ । होप नेपालले डेढ रोपनी जग्गा किनेर भवन निर्माण गरी छैमले भिलेज परियोजना सुरु गरेका थियो । दुई वर्षअघि सुरु भएको परियोजनाले भदौबाट भने ‘नास्पाती क्यान्डी’को उत्पादन थालेको छ । पहिलो वर्ष एक हजार किलो नास्पातीको क्यान्डी बनाइएको थियो । यसपटक १० हजार किलो नास्पातीको क्यान्डी उत्पादन गर्ने तयारी छ ।

क्यान्डी व्यावसायिक उत्पादन थालिएको छैन, तर पनि एक किलोको एक हजारका दरले विदेशमा क्यान्डी बिक्री भइरहेको छ । सबै उत्पादन युरोप र अमेरिका जान्छ । नेपालमा भने यसको बिक्री थालिएको छैन । नेपालमा बिक्री हुन थालेपछि भने मूल्य घट्ने कम्पनीले बताएको छ । व्यावसायिक उत्पादन नभई परीक्षण मात्रै भएकाले क्यान्डीको वास्तविक मूल्य तय गरिएको छैन । आकर्षक दाना, रसिलो र स्वादिलो फर्पिङको नास्पातीबाट बनेको क्यान्डी उच्च गुणस्तरको हुने विश्वास छ ।

क्यान्डी उत्पादनको कथा बेग्लै छ । केही वर्षअघि कठायत घरमा मेसिनमार्फत मकै छोडाउँदै थिए । अमेरिकन नागरिक डा. जोन घरमा आएर सोधे, ‘गाउँमा के सहयोग गर्दा स्थानीय समुदायलाई फाइदा पुग्छ ?’ उनले फ्याट्ट भने, ‘नास्पाती वाइन ।’ फर्पिङको नास्पाती मुलुकमै प्रख्यात छ । शीतभण्डारको अभावमा सस्तोमै नास्पाती बिक्री गर्नुपर्छ । कुहिने डरले सस्तो मै बेच्नुपर्ने बाध्यता उनीहरूमा छ । ‘यस्तो अवस्थामा वाइन बन्यो भने त किसानले कौडीको भाउमा त फ्याँक्नु पर्दैन, त्यही सोच आयो र वाइन बनाउन पाए किसानलाई राहत हुन्छ भनेको थिएँ,’ विगत स्मरण गर्दै उनले भने ।

प्रयास गर्छु भन्दै फर्किएका डा. जोड झण्डै तीन महिनापछि फेरि छैमले आए । ‘ल हामी काम गर्ने भयौँ, तर वाइन होइन क्यान्डी,’ डा. जोनको भनाइ उद्धृत गर्दै कठायतले भने । वाइन सुने पनि उनलाई क्यान्डी भने नौलो लाग्यो । जे त होला, काम गरौँ, भनेर कस्सिएको उनले सुनाए । क्यान्डी बन्छ नै भन्ने उनीहरूलाई पूरा विश्वास थिएन । एउटा परीक्षण गरौँ भनेर थालिएको काम पहिलो प्रयासमै सफल भएको छ ।

किसानबाट खरिद गरेर ल्याइएको नास्पाती सफा गरेर सुरुमा बोक्रा र गेडा (भिनाजु) निकालेर फालिन्छ । त्यसलाई नुनमा भिजाएर भित्रको पानी निकालिन्छ । नास्पातीको तौल बराबरको चिनी घोलेर पकाइन्छ ।

निश्चित तापक्रममा पुगेपछि चिनीको चास्नीसँगै नास्पाती डुबाएर हावा नछिर्ने गरी ड्रममा राखिन्छ । झण्डै दुई महिनापछि निकालेर घाममा सुकाइन्छ । त्यसपछि ‘नास्पाती क्यान्डी’ तयार हुन्छ । विभिन्न स्वाद र रङ्मा क्यान्डी बनाउन सकिन्छ । यहाँ भने सुन्तला र कागतीको रङमा क्यान्डी उत्पादन भएको छ ।

दक्षिणकाली नगरपालिका– ८ का सदस्य कुमार बलामीले नास्पाती क्यान्डीको उत्पादनले यो क्षेत्रमा एउटा आयाम थपिएको बताए । यस्ता उद्योगको व्यावसायीकरण आवश्यक रहेको बताउँदै बलामीले नास्पाती कुहिएर फ््याँक्नुपर्ने किसानको पीडामा उक्त उद्योगले केही राहत मिल्ने आशा व्यक्त गरे ।

ग्रामीण क्षेत्रमा सञ्चालनमा आउने यस्ता सानातिना उद्योगले मुलुकको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । दक्षिणकाली क्षेत्रमा १२ करोडमाथिको नास्पातीको कारोबार हुने अनुमान छ । दक्षिणकालीको पनि छैमले सबैभन्दा धेरै नास्पाती उत्पादन हुने गाउँ हो । त्यसैले अहिले यहाँ क्यान्डीका लागि नास्पातीको अभाव हुन्न । सोही गाउँमा क्यान्डी उत्पादनको सफल परीक्षण गरिएको छ ।

उक्त संस्थाले १६१ देशमा काम गर्दै आएको होप नेपालले क्यान्डी उत्पादनसँगै स्थानीयलाई कम्युटर शिक्षा, स्वास्थ्य शिविरदेखि विभिन्न सीप सिकाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । दक्षिणकालीमा नास्पातीका क्षेत्रमा सरकारलेसमेत लगानी बढाएको छ । स्थानीय नगरपालिकाले शीतभण्डारको योजनासमेत अघि बढाएको छ ।

प्रतिक्रिया