डढुवा रोगले गोलभेडा खेती सखाप

बैतडी । डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट भएको किसानको भनाइ छ ।

तरकारी खेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेडामा उक्त रोग लागेपछि चिन्तित बनेका स्थानीय सुरेश श्रेष्ठले बताए । पाँच रोपनी बढी जमिनमा गरेको गोलभेडा खेतीमा डढुवा रोग लागेको किसान रामसिंह मालको भनाइ छ । मेहनत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ । उनले भने, ‘डढुवा रोगले लगाएको सबै गोलभेडा सखाप पारेको छ ।’

रामसिंहको मात्रै नभएर गोकुलेश्वरका अन्य ५० भन्दाबढी किसानले लगाएको गोलभेडामा डढुवा रोग लागेको हो । बारीमा लगाएको गोलभेडा डढुवा रोगले सखाप पारेपछि उनीहरू हैरान भएका छन् । उक्त रोगका कारण यो मौसममा गोलभेडा भित्र्याउनै नपाउँदा धेरै घाटा व्यहोर्नुपरेको अर्का किसान प्रेमसिंह मालको दुःखेसोे छ । उनले भने, ‘एक मौसममा करिब एक लाखको गोलभेडा बिक्री गर्ने गरेको भए पनि यो वर्ष डढुवा रोगले बारीको सबै गोलभेडा सखाप पा¥यो ।’

तरकारी खेतीबाटै जीविकोपार्जन भइरहेका बेला यो वर्ष गोलभेडामा लागेको डढुवाले धेरै घाटा लाग्दा समस्या भएको किसानको भनाइ छ । किसान हीरा खत्रीले यो वर्ष डढुवा रोगका कारण गोलभेडा नष्ट हुँदा लाखौँ क्षति भएको बताए । बेलाबेला तरकारी खेतीमा लाग्ने रोग, कीराले हैरान हुनुका साथै तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नुपरेको छ ।

ढुसीका कारण गोलभेडामा डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । ढुसी र चिसोको समयमा तुसारोलगायतका अन्य कारणले पनि यो रोग लाग्ने गरेको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले थौरै जग्गामा खेती गर्ने किसानको गोलभेडामा डढुवाको संक्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताए । ‘ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरूको बालीमा डढुवाको संक्रमण देखिँदा नोक्सान भएको छ’, निमित्त प्रमुख चन्दले भने ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गइ शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय भएर डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवाको संक्रमणबाट गोलभेडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाब प्राविधिकले दिएका छन् । टिप्न तयार भइसकेको गोलभेडामा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह प्राविधिकको छ ।

बैतडीका किसानले तरकारी खेती तथा बाली बिमा नगर्ने गरेकाले क्षतिपूर्तिसमेत पाउँदैनन् । गोकुलेश्वर क्षेत्र तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ । बैतडीमा चार हेक्टर बढी जमिनमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ ।

प्रतिक्रिया