संकटमा होलीका प्रेम गीत

शिव मठ पर् राम खेलैए होली……वसन्त ऋतुको आगमनसँगै श्री पञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलको गाउँघर, टोल छिमेकमा गाउने यस्ता माधुर्यता र प्रेम भावका होली गीत कमै मात्र सुन्न थालिएको छ । होली आएसँगै गीत त गाइन्छ तर यस्ता प्रेमभावका गीत भने गाउने मानिसको अभावका कारण गुञ्जिन छोडेको छ ।

कल्याणपुर नगरपालिका–१२ तिलासीका ७० वर्षीय फिरंगी सदाले पुर्खौली मृदंग बजाई फागु गीत जोगिरा गाउन नपाउँदा दुःखी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँ टोलमा घुमेर फागु पर्वको आगमन भएको जानकारी दिने परम्परा थियो । तर अहिले विस्तारै मेटिँदैछ ।’

अहिले गाउँका युवा वैदेशिक रोजगारीमा छन् भने गीत गाउने बुढापाकाको अभाव हँुदैछ । अहिले ढोल मृदङ्ग नै बज्न छोडेको देखिन्छ । यस अभावमा फागु गीत नै गाइन्छ । पहिलेका होली गीतको मिठास सम्झिएर उदास हुँदै गनौरी सदा भन्नुहुन्छ, ‘होली गीतमा पहिले उत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्ठता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्परा, माया पिरती एवं विरह मिसिएको हुन्थ्यो ।

वसन्तऋतुको आगमनसँगै वसन्तोेत्सव पर्वका रूपमा मनाइने होली पर्वका अवसरमा गाउने जोगिरा लोप हुँदै गएकाले संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्थाले काम गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने माग संस्कृतिविद्ले पनि राख्दै आएका छन्

तर अब उच्छृंखल गीत आएकाले होली गीतमा माधुर्यता र प्रेम भाव नै भेटिँदैन ।’ सोही ठाउँका रामबाबु ठाकुरको गुनासो पनि त्यस्तै छ । ‘जोगिरा सररर, कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग, कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम, जोगिरा सरररर…’ यो गीत मात्र सुन्न पाइन्छ हिजोआज होलीमा । न त मृदंग ढोल डम्फाको स्वर नै कतै सुन्न सकिन्छ ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले ठाकुर, सिरहा जिल्लाको मुसहर बस्तीमा बस्ने ४० वर्षीय गुलावचन्द्र सदालाई मात्र होइन तराईका सबै समुदायलाई समेत प्रभाव पारेको छ । उहाँ भन्नुहुन्छ, ‘होलीको पौराणिकता अब हराइसकेको छ ।’

होलीका खास गीत नै गाउन छोडिसकिएको गुनासो तराईका ज्येष्ठ नागरिकको छ । भनिन्छ– होलीको तर्क, दर्शन, अलौकिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होली संकीर्ण बन्दै गएको छ । अबको होली, होली नभएर खानपिन र सहरमुखी बढी बन्दैछ । यस गीतमा रमाउने पछिल्लो पुस्ता मात्र होइन अहिलेको पुस्ताले पनि यसको जर्गेना गर्न नसकेकाले यस्तो स्थिति आएको स्थानीयको भनाइ छ ।

पहिलेपहिले बुढापाका रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल डम्फा, तुरकी, बाँसुरी लिएर समूहगतरूपमा होली गीत जोगिरा गाउने गर्थे । स्थानीय मोहम्मद इसराइल भन्नुहुन्छ, ‘तर अब त्यो समय हराएर गएको छ, पहिलेको जस्तो गीत छैन नत अहिले गाइने गीतमा होलीको भावना नै भेटिन्छ ।’ पुरानो पुस्ता विस्थापित हुने अवस्थामा छ र अहिलेका अधिकांश युवा पुस्ता कामका लागि अरब मुलुक गएकाले संस्कृति संरक्षणको पहल कतैबाट पनि देखिँदैन भन्छन् स्थानीय ।

होली गीतको संरक्षण र गायन हराउँदै गएको बताउँदै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका शेषमन पण्डित भन्नुहुन्छ । अबको होली प्रेम र सदभावको नभएर बैराग्य र वैमनस्यतापूर्ण पो हुन गएको हो कि भन्नुहुन्छ उहाँ । होलीमा प्रयोग हुने भागको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रिसराग, द्वेष देखा पर्न थालेकामा उनीहरू चिन्तित छन् ।

पहिलेको होलीमा गाउने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्छ । तर अहिले आधुनिक फिल्मी गीत बजारमा उपलब्ध छन् । कतैकतै त गीतमा अश्लीता पनि देखिन्छ । मिथिलाको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाउने यस्ता होली गीतमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटोको बासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद्को भनाइ छ ।

पौराणिक होली गीतमा वसन्तको सुन्दरता, बासना, प्रेमालापका अतिरिक्त भगवान् सीताराम, शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा छ । ती गीतलाई अहिले भने पश्चिमा गीत संगीतले पछि पारेको छ । पौराणिक कथाअनुसार सत्ययुगमा राजा हीरण्यकश्यप अत्याचारी राजा थिए र आफूलाई देउताभन्दा ठूलो भएको घमण्ड गर्दथे ।

उनका छोरा प्रह्लाद भगवान विष्णुका परम भक्त थिए । हीरण्यकश्यपले छोरा प्रहलादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् तर प्रह्लादलाई आगोले केही प्रभाव पार्न सकेन । सोही परम्परालाई निरन्तरता दिँदै जीवन्तता दिन हिन्दू समाजमा फागुन शुक्लपूर्णिमाको रातमा होलिकाको दहनगरी हर्ष बढाइँ गर्ने परम्परा रही आएको छ ।

वसन्तऋतुको आगमनसँगै वसन्तोेत्सव पर्वका रूपमा मनाइने होली पर्वका अवसरमा गाउने जोगिरा लोप हुँदै गएकाले संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्थाले काम गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने माग संस्कृतिविद्ले पनि राख्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय मैथिली केन्द्रीय विभागका पूर्वप्रमुख परमेश्वर कापडले मिथिलाको परम्परा, धर्म संस्कृतिसँग जोडिएका यस्ता गीत जीवन्त बनाइराख्नु समाजको कर्तव्य भएको बताउनुहुन्छ । यी गीतको महत्व र लोकप्रियतालाई कायम राख्न सबैले काम गर्नुपर्ने उहाँले जिकिर गर्नुभयो । चार ऋतुमध्ये वसन्त ऋतुको महत्व ठूलो छ ।

दलान संस्कृतिको अभिन्न अंगका रूपमा रहेको होली गीत खासगरी रातको समयमा बुढापाका तथा युवाले दलानमा भेला भएर सामूहिकरूपमा गाउने परम्परा छ । तर देशमा विगतको सशस्त्र द्वन्द्वका कारण सुरक्षाका कारण रात्रिकालीन सामूहिक संस्कृतिको यो परम्परा पनि लोप हुँदै गएको हो ।

लोप हुँदै गएको यो संस्कृतिलाई बचाउन विगत २५ वर्षदेखि मिथिला नाट्य कला परिषद् (मिनाप) ले प्रत्येक वर्ष होलीको समयमा दुई दिवसीय फागु गीत, डम्फा प्रतियोगिता र महामुर्ख सम्मेलन गरी संस्कृति जोगाउने प्रयत्न गरेको छ । महेन्द्र विन्देश्री बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा मैथिली संस्कृतिका जानकार श्यामसुन्दर शशिले देश संघीयतामा गएकाले लोप हुँदै गएकका यस्ता संस्कृति जोगाउन प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढ्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया