चन्द्रागिरिमा १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालनमा

काठमाडौँ । पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकाले १५ श्ययाको नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको छ । काठमाडौँ प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रगिरि नगरपालिकाको रु एक करोड र वाग्मती प्रदेश सरकारकोे रु एक करोड लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्य सेवाको अधिकारलाई पूरा गर्न नगरपालिकाले नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिए । अस्पताल भवन साढे तीन तलाको छ । पन्ध्र वडा रहेको चन्द्रागिरिमा गाउँगाउँदेखिका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न र अस्पताल आवतजावतमा सहजताका लागि नगरस्तरीय एम्बुलेन्ससमेत खरिद प्रक्रियामा रहेको नगरप्रमुख गिरीले बताए ।

एम्बुलेन्स खरिदका लागि चन्द्रागिरि नगरपालिकाले रु ४० लाख रकम विनियोजन गरेको छ । चन्द्रागिरि नगरस्तरीय अस्पतालमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा आएको छ । यस्तै, नगरस्तरीय अस्पतालमा कार्यरत चिकित्सकको आवासका लागि रु एक करोड लागतमा आवासगृह निर्माण गर्न लागिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उक्त अस्पतालमा चन्द्रागिरिका जनतामात्र नभई धादिङका विभिन्न गाउँका जनताले समेत स्वास्थ्य सेवा पाउने नगरपालिकाले जनाएको छ ।

नगरस्तरीय अस्पताल सञ्चालनका लागि आवश्यक इको मेसिन खरिदका लागि चन्द्रागिरिले चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजनसमेत गरेको छ । चन्द्रागिरि नगर अस्पतालमा वार्षिक एक लाखभन्दा बढी जनताले स्वास्थ्य सेवा पाउनेछन् । क्षेत्रफलका आधारमा चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रतिक्रिया