माङसेबुङ–३ मा वडा विभाजनको माग

इलाम । राज्य पुनर्संरचनाका क्रममा अवैज्ञानिक तवरले वडा विभाजन गरिएको भन्दै माङसेबुङ–३ (साविक बाँझो–७ र ८) का स्थानीयले पुनर्संरचना हेरफेर गर्न माग गरेका छन् । वडा विभाजनको माग गर्दै उनीहरू इलाम सदरमुकाम आइपुगेका छन् ।

सेवा सुविधा प्राप्त गर्न असहज भएको भन्दै वडा विभाजनका लागि बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले यसअघि माङसेबुङ–३ नम्बर वडा कार्यालय, माङ्सेबुङ गाउँपालिका र जिल्ला समन्वय समिति इलाममा समेत वडा विभाजनका लागि ज्ञापनपत्र बुझाइसकेका छन् ।

वडा विभाजन तथा संख्या थप सुझाव समिति नै गठन गरी शान्तिपूर्ण रूपमा सम्बन्धित निकायमा दबाब सिर्जना गरिरहेको समितिका संयोजक हर्कप्रसाद साम्बाले बताए ।

भौगोलिक वनावट बेमेल र विकट रहेकोले वडावासी नागरिकहरूको दैनिक वडा कार्यालयबाट पाउने सुविधा प्राप्त गर्न कठिन भएको र विकास निर्माणमा समेत असुविधा रहेकाले सो वडा विभाजन दुई वटा वडा बनाउनुपर्ने समितिको माग छ । ०७३ मा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण अयोगले साविककका बाँझो गाविसको ७ र ८ तथा इभाङ गाविसको ६, ७ र ८ वडा समायोजन गरी माङसेबुङ गाउँपालिका–३ बनाएको थियो ।

उनीहरूले अहिले साविकका इभाङ–६, ७ र ८ लाई माङसेबुङ–३ कायम गराई साविक बाँझो–७ र ८ लाई छुट्टै माङसेबुङ–७ नम्बर वडा कायम गर्न माग गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा समेत गाउँपालिकाको वडा ५ देखि २१ सम्म हुने प्रावधान रहेकाले जनताको सेवासुविधा सहतका लागि हालको वडालाई आवश्यक प्रक्रिया विभाजन गर्न माग गरेको छ ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्य सर्त तथा कार्यविधि (परिमार्जन सहित) ०७३ कात्तिक ४ अनुसार पहाडी क्षेत्रको गाउँपालिकाका लागि २२ हजार र वडाका लागि ३ हजार २ सय जनसंख्या हुनुपर्ने मापदण्ड थियो । सोही मापदण्डअनुसार प्राविधिक सहयोग समिति इलामले प्रतिवेदन पठाएको थियो । सोही प्रतिवेदनका आधारमा आयोगले गाउँपालिका र वडा कायम गरेको थियो ।

०६८ को जनगणनाअनुसार साविकको बाँझो–७ र ८ वडामा २ हजार ४ सय ६० र साविकको इभाङ–६, ७ र ८ मा १ हजार ६ सय ५३ गरी ४ हजार १ सय १३ जनसंख्या थियो । त्यतिबेला दुई वटा वडाका लागि कार्य सर्त तथा कार्यविधिमा उल्लेख गरिएको मापदण्ड अनुसारको जनसंख्या नपुग्ने भएपछि प्राविधिक सहयोग समितिले एउटै वडा कायम गरेको थियो ।

माङसेबुङ गाउँपालिका–६ वटा वडामा विभाजित छ । १८ हजार ५ सय ३ जनसंख्या रहेको सो गाउँपालिका १ सय ४२ दशमलव ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

प्रतिक्रिया