सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा

काठमाडौं । ७० करोडको विवादस्पद अडियो विवरणमा मुछिएपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । नैतिकताका आधारमा उनले अडियो टेप सार्वजनिक भएको १२ घण्टा नबित्दै राजीनामा बुझाएका हुन् । उनको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृतसमेत गरिसकेका छन् ।

सेक्युरिटी प्रेस खरिदका विषयमा स्विजरल्यान्डको एजेन्ट भनेर ठग्दै हिडेका विजयप्रकाश शर्मा मिश्रसँगको दुई मिनेट ३१ सेकेन्ड लामो संवादमा घुसको कुरा उल्लेख छ । टेलिफोन संवाद भनिएपनि कसले कसलाई फोन गरेको हो त्यो खुलेको छैन भने संवादको अंश मात्र सार्वजनिक भएको छ ।

मिश्रले भने आफैँले सो संवाद सार्वजनिक गरेको भनाइ भने राखिसकेका छन् । कञ्चनपुरको कार्यक्रममा गएका बेला भिडियो सार्वजनिक भएपछि उनले सिधै प्रधानमन्त्री ओलीसँग भेट गरी राजीनामा पत्र बुझाएका थिए ।

त्यसअघि बिहीबार बिहानै प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यस विषयमा कुराकानी भएको थियो । स्रोतका अनुसार छलफलमा बाँस्कोटाले अनुसन्धानलाई सहयोग गर्न राजीनामा गराउने निष्कर्ष निकालेका थिए ।

सोही सुझाव अनुसार उनले राजधानी आएलगत्तै नैतिकताका आधारमा राजीनामा बुझाएको टिवट्रबाट सार्वजनिक गरेका छन् । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु । धन्यवाद’, उनले भनेका छन् ।

सरकारले स्वदेशमै नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकीकृत छपाइका लागि राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) राख्ने निर्णय गरेको तीनवर्षअघि नै गरेको थियो । सेक्युरिटी प्रेस खरिदका लागि सूचना तथा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको हो ।

स्रोतका अनुसार उक्त अडियो करिब डेढवर्ष अघिको हो । जुनबेला स्वीस कम्पनीले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा चासो देखाएको थियो । तर, त्यसलाई सरकारले हटाएर जर्मन वा फ्रान्स सरकारसँग खरिद गर्ने तयारी गरेको थियो । सो विषय अहिले संसदीय समितिको लेखा समितिमा छलफलको क्रममा रहेको छ ।

गत पुष २४ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि बाँस्कोटाले समितिको निर्देशन अनुसार सरकार अघि बढ्न तयार रहेको बताएका थिए । ‘समितिमा छलफलपछि हुने निर्णयले हामीलाई फाइदा पुग्छ । गलत छ भने सुझाव देला’ उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘कोठाभित्र बसेर निर्णय नहोस् भन्ने मेरो पनि चाहना हो ।

यस्तै सम्मेलन गरेर गर्न पाइयोस् भन्ने मेरो चासो हो ।’ उनले संसदको समितिले देशको हितमा निर्णय गर्ने भन्दै देशलाई चाहिने नचाहिने र प्रक्रिया पुगे नपुगेकोबारे छलफल गर्नुपर्ने भनेका थिए । ‘संसदले आवश्यक भए खरिद गर्न भन्ला, मैले व्यक्तिगत रूपमा खेतको गरो जोड्न पर्ने कुरा रहेन त्यसैले यो स्पष्ट छ’, बाँस्कोटाको भनाइ थियो ।

आरोप प्रमाणित भए सजाय भोग्न तयार
अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार बिहान कञ्चनपुरमा आयोजित कार्यक्रममा आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् । बेलडाँडीमा नेकपाका कार्यकर्तासँग बोल्दै उनले सो अडियोको पुष्टि हुनुपर्ने बताए ।

‘अहिले त प्रविधि छ, अनेक बनाउँछन् । टिकटकदेखि साँच्चैसम्मका चारवटा जोडेर पनि बनाउँछन् । मलाई त १२ अर्ब खायो पनि भन्थे, हिजो फेरि कति करोडको निकालेका छन् रे । अर्बबाट करोडमा झरेछन् । त्यसको पनि पुष्टि हुनुपर्ला, प्रमाणित हुनुपर्ला’, उनले भने । मन्त्री बाँस्कोटाले आफूले पार्टीलाई धोका नदिने भन्दै व्यक्तिमाथि आरोप लाग्यो भने आफैँले पुष्टि गर्नुपर्ने बताए ।

उनले भने, ‘यदि मैले गरेको छु भने जवाफदेहिता मैले बोक्ने हो, पार्टीले बोक्दैन । कुन निकायबाट मैले शुद्धताको प्रमाणपत्र पाउनुपर्ने हो, मैले लिनुपर्छ ।’ मन्त्री बाँस्कोटाले आफू फेरि पनि पार्टीकै कमरेडहरूसँग काम गर्नुपर्ने भएकाले डराएर हिँड्नुपर्ने वा खुट्टा कमाएर हिँडनुपर्ने काम नगरेको दाबी गरे । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन’ उनले भने ‘आरोप लगाएको छ भने अरू पनि कुरा होलान् नि । अरू केही चिज होलान् नि ।’

प्रतिक्रिया