बास्कोटाको राजीनामाले मात्रै हुँदैन, प्रधानमन्त्रीमा पनि शंका छः गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका प्रबक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा तथा सेक्युरिटी प्रिन्टिङ मेसिन प्रकरणमा ७० करोडको बार्गेनिङका विषयमा केपी शर्मा ओलीको पनि संलग्नता भएको शंका गरेको छ । कांग्रेसले सेक्युरिटी प्रिन्टिङ मेसिन सम्बधमा प्रधानमन्त्री ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ ।

प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरेको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो । आज संसद भवन बाहिर नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सञ्चारमन्त्री बास्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त नुहने बताए ।

प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडि नै सुनेको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले भने, ‘अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बास्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो ?’ थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरे । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले यस्ता गम्भिर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

प्रतिक्रिया