ओझेलमा महोत्तरीका पर्यटकीय गन्तव्य

ईश्वरी काफ्ले

सरकारले पर्र्यटन वर्षलाई लक्षित गरेर सार्वजनिक गरेको पर्यटनका नयाँ सय गन्तब्यमा महोत्तरीको एउटा मात्र गन्तव्य जलेश्वरस्थित महादेव मन्दिरलाई राखिएको छ । प्रदेश–२ ले पनि यसैलाई प्रमुख मानेर अन्य पर्यटकीय गन्तब्यलाई गौण बनाएको छ । जलेश्वर महादेवको आफ्नै महत्व र इतिहास तथा किंवदन्ती छ । तर, महोत्तरीका कतिपय यस्ता स्थान छन्, जसलाई छाड्ने हो वा आँखा चिम्लने हो भने महोत्तरीको मात्र होइन नेपालप्रतिको जानकारी अधुरो हुन्छ । यस्तै एउटा उदाहरणको राजकीय संस्कृत मावि मटिहानी तथा याज्ञवल्क्य लक्ष्मीनाराण विद्यापीठ मटिहानी । यसबाहेक टुटेश्वर महादेव, पञ्चधुरा माई, धूसवकुण्ड, कञ्चनवन, कारिकस्थान धार्मिक तथा ऐतिहासिक हिसाबले प्रमुख छन् ।

राजकीय संस्कृत मावि मटिहानी
यो विद्यालय नेपालकै सबैभन्दा पुरानो हो, जसको स्थापना विक्रम सम्वत १७७५ मा भएको प्रमाण छ । जतिवेला नेपाल एकीकरणको कुरै थिएन । यो स्थान मकवानपुरका राजाको अधिनमा थियो । यसपछि नेपालमा स्थापना भएको विद्यालय भनेको भोजपुर दिङ्लाको हो । जसलाई बालगुरु षडानन्दले स्थापना गरेका थिए । उनै षडानन्दले भने मटिहानीमा प्रारम्भिक शिक्षा प्राप्त गरी उतैबाट बनारस गएको मानिन्छ । बनारसबाट फर्केपछि उनले दिङ्लामा संस्कृत पाठशाला खालेका हुन् । यसको अर्थ हो, नेपालमा शिक्षाको ज्योति महोत्तरीको मटिहानीबाटै प्रज्वलित भएर छरिएकोे हो । यो विद्यालयमा अहिले पनि नेपालका विभिन्न पहाडी जिल्लाबाट संस्कृत भाषाका विविध विषय अध्ययनका लागि जाने गरेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमा पिता मंगलराज नेपालको पनि प्रारम्भिक शिक्षा यहीबाट सुरु भएको थियो । संस्कृत अध्ययनका लागि यहाँ निःशुल्क खानपिन, बसोवास र अध्यापनको व्यवस्था अद्यापि कायम छ ।

राज्यको पुनःसंरचनापछि नगरपालिका भएको मटिहानी यो संस्कृत माविले मात्र महत्वपूर्ण भएको होइन यो स्थान त्रेता युगदेखि नै महत्वपूर्ण र पवित्र मानिन्छ । मैथिल संस्कृतिमा विवाहको वेदी बनाउन विशेष पवित्र स्थानको माटो ल्याएर बनाइने प्रचलन छ । जनकपुरमा राम र सीताको विवाह हुँदा राजा जनकले मटिहानीको माटो ल्याएर विवाहको वेदी बनाएकाले पनि यसको पवित्रता र महत्व झल्किन्छ । राम र सीताको विवाहमा वेदी बनाउन यहाँको माटो उत्खनन् गरिएकाले यसस्थानको नाम त्यसै बेलादेखि मटिहानी रहन गएको किंवदन्ती पाइन्छ । यहाँ नेपाल एकीकरणअघि मकवानका राजा हेमकर्ण सेनले बनाउन लगाएको लक्ष्मीनारायणको मन्दिर छ ।

किंवदन्तीअनुसार मकवानपुरका राजा हेमकर्ण सिकार खेल्दै जाने क्रममा मटिहानीमा एक ‘बाबा’ सँग भेट भयो । निःसन्तान हेमकर्णले ‘बाबा’ सँग आफ्नो सन्तान नभएको दुःखेसो पोखे । ‘बाबा’ ले उनलाई सन्तान प्राप्तिको आशीर्वाद दिए । त्यसको वर्ष दिनमा हेमकर्णलाई पुत्र लाभ भयो । सोही पुत्रलाभको खुसीमा हेमकर्णले मटिहानीमा लक्ष्मी नारायणको मन्दिर बनाउन लगाई सो सञ्चालनार्थ ६ सय बिघा जमिन दान दिए । संस्कृत मावि र विद्यापीठ हाल सो मन्दिरको संरक्षकत्वमा सञ्चालित छन् । विद्यापीठमा हाल आचार्य तहसम्मको अध्यापन हुने गरेको छ । यहाँ सोझै जाँदा जनकपुरबाट १५ किलामिटर र जलेश्वर हुँदै गए २१ किलोमिटर दूरी पार गर्नुपर्छ । यहाँ मिथिलाको माध्यमिकी परिक्रमा सुरु भएको तेस्रो दिन (झुलनोत्सव), जनै पूर्णिमाको अघिल्लो दिन, दसैँको पूर्णिमाका दिन (रावण वध) को मेला लाग्दछ ।

यस्तो ऐतिहासिक तथा धार्मिक महत्वको स्थान संघ, प्रदेश वा सञ्चार जगत्कै पनि दृष्टिबाट ओझेल छन् । देशका ठूला भनिएका सञ्चार माध्यममा नेपालको पहिलो विद्यालय भनि कहिले काठमाडौंको दरबार हाइस्कुल त कहिले भोजपुरको दिङ्लाको नाम आउँछ । यसले यहाँका स्थानीयहरू विभेदको महसुस गर्दछन् । उनीहरू आफूहरू नेपाली नै त हौँ भनेर कहिलेकाहीँ आफैलाई चिमोट्न पर्ने अवस्था आउने गरेको बताउँछन् ।

पञ्चधुरामाई मन्दिर
बिपी राजमार्गले पूर्व–पश्चिम राजमार्ग जोड्ने विन्दु बर्दिवास चोकदेखि एक किमि पश्चिम, पूर्व–पश्चिम राजमार्गदेखि पाँच सय मिटर पूर्व जंगलमा यो मन्दिर अवस्थित छ । यो कहिले र कसले प्रतिस्थापन गरेको तिथिमिति कसैलाई थाहा छैन । घना जंगलबीच अवस्थित यो माईस्थानका छेउछाउमा जुन प्रजातिका बाँस छन् ती अन्यत्र पाइँदैनन् । यसको मुना तामाको रूपमा पनि खान नमिल्ने स्थानीय बताउँछन् । यो चुरेको फेदीमा रहेको स्थान हो । चुरे भावर क्षेत्रमा पर्ने भएकाले यसको पूर्व–पश्चिमको लामो क्षेत्रमा पानीको मूहान छैनन् । तर, यस मन्दिरको छेवैमा भने एउटा इनार छ, जसबाट पानी बग्ने गर्छ । पुरै क्षेत्रमा पानीको कुनै मुहान नहुनु तर, यहाँको पानीले सिँचाइ गर्नसमेत पुग्नुले माइकै शक्तिले भएको स्थानीयको विश्वास छ ।

जंगबहादुर राणाले सेतो बाघ देखेको यसै इलाकालाई मानिन्छ । त्यहीबाट उनी बिरामी भएर सर्लाहीको पथ्थरघट्टामा मृत्यु भएको थियो । पथ्थरघट्टा यहाँबाट सोझो लगभग २० किलोमिटरको दुरीमा पर्दछ । बाघ देवीलाई देवीको वाहन मानिन्छ । धनुषादेखि रौतहटसम्मको चुरेको फेदीमा रहेको अर्को कुनै देवी मन्दिर छैन । जंगबहादुरले देखेको सेतो बाघ यही देवीको वाहन थियो भन्ने विश्वास गरिन्छ । यहाँ कात्तिक महिनाको एकादशीपछि र दसैंमा निकै भिडभाड हुने गर्दछ ।


टुटेश्वरनाथ महादेव
बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने यस स्थानको नामै टुटेश्वर रहेको छ । यहाँ कहिले महादेवको ज्यातिर्लिंग स्थापना भयो एकिन तिथिमिति कसैलाई थाहा छैन । एक किसानको मकैबारीमा राती साढे देखिएपछि ती किसानले धारिलो हतियारको घुएत्रो हानेका थिए । बिहान सो स्थानमा रगत चुहिएको थियो । त्यो रगतको धारो पछ्याउँदै जादाँ एउटा कान काटिएको अवस्थामा ढुंगाको बसाहा भेटियो र त्यसको अघिल्तिर महादेवको शिवलिंग भेटिएकाले सो ठाउँमा मन्दिर बनाई नित्य पूजाआज गर्न लागिएको स्थानीय बताउँछन् । सो वरपर ०३२ साल ताका केही धातुका भाँडाकँुडा पनि भेटिएको स्थानीय बताउँछन् । सो भाडाकुँडा जिल्ला प्रशासन कार्यालयमार्फत पुरातत्व विभागमा अनुसन्धानका लागि पठाएकामा अहिलेसम्म त्यसको कुनै खबर प्राप्त नभएको बताइन्छ ।

यहाँ साउन महिनाभरी ठूलो मेला लाग्दछ । यहाँ नेपालका तराई क्षेत्र धनुषा, महोत्तरी, सिन्धुलीलगायत सीमावर्ती भारतीय नागरिक पनि महादेवलाई जल चढाउन आउने गर्दछन् । अन्य समयमा भने कमै मानिसको चहलपहल हुने गरेको छ ।

 


जलेश्वरनाथ महादेव
जल या पानीयुक्त पोखरीमा रहको देवता हुनाले यिनलाई जलश्ेवरनाथ महादेव भनिएको हो । जलेश्वर महादवेको मन्दिर गुम्बज शैलीमा निर्मित छ, जसमा आकर्षक बुर्जाहरू निकालिएका छन् । मन्दिरको गर्भगृहमा एउटा पोखरीजस्तो छ, जहाँ जलेश्वर महादेवको शिवलिंग छ । यो स्थान जनकवंशदेखि नै प्रसिद्ध छ । यसको स्थापनाका वारेमा विभिन्न पुराणमा यसरी उल्लेख पाइन्छ ः पद्यपुराणमा ‘जलेश्वर महालिङ्खो रुद्रेण स्थापित स्वयम्’ भनेर उल्लेख गरिएको छ भने यसैगरी विष्णुपुराण मिथिला महात्म्यमा ‘सर्वसिद्ध करं लिंगम् वारुणाख्यां जलेश्वरम्’ शिव पुराणमा ‘ज्योर्तिमयो जगन्नाथो निराकारो जलेश्वरः’ उल्लेख गरिएको छ । माथि उल्लिखित सबै स्रोतले यहाँ भगवान् स्वयंले स्थापित गरेको भन्ने बुझाउँछ । यसलाई केन्द्र र प्रदेशले पनि पर्यटकीय गन्तव्यको सूचीमा समेटेको छ ।

कारिकस्थान
यो स्थान जलेश्वर महादेव मन्दिरबाट ६ किलोमिटरको दूरीमा पर्छ । यहाँ हरेक मंगलबार र शुक्रबार सयौंको संख्यामा वलि चढाइने गरिएको छ । आफ्नो मनोकामना सिद्धिका लागि कारिकस्थानलाई भाकल गर्ने र मनोकामना पूरा भएपछि यहाँ बोकाको बलि दिने गरिन्छ । यसरी बलि चढाउन आउनेको मंगलबार र शुक्रबार भिड नै लाग्ने गर्दछ । यहाँ बलि दिएका बोकाको प्रसाद अन्त लगेर खान नहुने प्रचलन छ । यहाँ बलि दिने यही पकाएर खाने र उब्रेका मासु यहीँ खाडल खनेर पुर्ने गरिन्छ । मानोकांक्षा पूर्ण गराउने देवताका रूपमा कारिकस्थान प्रसिद्ध छ । यहाँ नेपाल र सीमावर्ती भारतबाटसमेत बली चढाउन श्रद्धालुहरू आउने गर्दछन् ।

यसबाहेक जिल्लामा सोनामाईस्थान छ । यहाँ हरेक दसैंमा घटस्थापनादेखि महानवमीसम्म ठूलो मेला लाग्दछ । यो मेला हेर्न यहाँ नेपालका मात्र होइन भारतका श्रद्धालुहरूको पनि ओइरो लाग्छ । घटस्थापनादेखि नै यहाँ बलि पनि चढाउने गरिन्छ । महानवमीमा राँगासहितको पञ्चवली दिएपछि मेला समापन भएको मानिन्छ । यो मेलाको अर्को विशेषता भनेको शरीरमा भूत चढेकाहरू सानोमाईको सीमा प्रवेश गर्नासाथ काम्ने गर्दछन् । भूत चढेर दुःख दिँदा अन्त झारफुक गर्दा ठीक नभएपछि यहाँ आउने गर्दछन् । मन्दिरको प्रांगणमा रहेको मौलाका वरिपरि झाँक्रो फिँजाएर कामीरहेका महिलाहरू यो दसैंको समयको मेलामा जो कोहीले देख्न सक्छन् । यसबाहेक अन्य दिन पनि यहाँ बली चढाउन र पिकनिक मनाउन पनि मानिसहरू आउने गर्दछन् ।

माथि उल्लिखित स्थानवाहेक यस जिल्लाको अन्य धार्मिक पर्यटकीय क्षेत्र भनेको मडै, ध्रुवकुण्ड, कन्चनवन हुन् । जनकपुरलाई केन्द्रमा राखेर गरिने मिथिलाको १५ दिने परिक्रमाको यी रात्रि विश्रामस्थल हुन् । मडैमा लक्ष्मीनायणको मन्दिर, ध्रुवकुण्डमा ध्रुवको मन्दिर र कुण्ड, कञ्चनवनमा बगैंचा रहेका छन् । यी स्थानको महत्वका वारेका थिथिला महात्म्यमा विशेष वर्णन पाइन्छ ।

प्रतिक्रिया