वुहानका नेपाली नेपालमा

काठमाडौं । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दुईदर्जन बढी मुलुकमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसबाट लाग्ने रोगको नामाकरण गरेको छ । रोगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ ।

‘कोरोना भाइरस’ले स्तनधारी जनावर तथा चराचुरुंगीहरूमा रोग निम्त्याउने गर्दछ । मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ । हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन । कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो । यस भाइरसको संक्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाइसमेत संक्रमण भएको पुष्टी भएको थियो ।

हाल कोरोनाको संक्रमण जटिल बन्दै गइरहेका बेला डब्लुएचओले नयाँ नाम दिएको हो ‘कोभिड–१९’ । ‘हामीले कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौँ’ डब्लुएचओका प्रमुख टेडोर्स एडहानोमले भने । नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ (रोग) र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो । कुनै भूगोल, जनावर, व्यक्ति तथा समूहजनित शब्द उपयुक्त नहुने भएकाले उच्चारण योग्य र रोगसँग सम्बन्धित नाम जुराइएको उनले जनाएका छन् ।

यसअघि इन्टरनेसनल कमिटिले एसएआरएस–कोभ–२ मा कोरोना भाइरसलाई वर्गीकरण गरेको थियो । कोरोनाको इपिसेन्टर वुहान रहे पनि चीनसहित दुई दर्जन देशमा संक्रमित भेटिएका छन् । चीनको ६ फागुनको तथ्यांक हेर्दा यस भाइरसबाट १ हजार ८ सय ७३ जनाको ज्यान गइसकेको छ भने १२ हजार ६ सय ७७ जना यस भाइरसबाट संक्रमित भए पनि निको भइसकेका छन् । हाल यस भाइरसबाट संक्रमित हुनेको संख्या ७३ हजार ४ सय ३३ पुगेको चीनको आधिकारिक तथ्यांकमा उल्लेख छ । हाल डब्लूएचओले संक्रमण फैलँदै गएकाले यसविरुद्ध आक्रामक रूपमा लड्न विश्व समुदायलाई आग्रहसमेत गरेको छ ।

चीनमा रहेका नेपालीलाई ल्याइयो नेपाल
चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरिएको छ । आइतबार नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत नेपालमा उनीहरूलाई ल्याइएको हो । उनीहरूलाई ल्याउनका लागि शनिबार अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानका लागि प्रस्थान गरेको थियो ।

त्यस्तै कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । २ सय ७७ सिटे उक्त जहाजले नेपाली लिएर काठमाडौंमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । नेपाल आउन १ सय ८० नेपालीले चीनस्थित नेपाली दूतावासमा निवेदन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘उनीहरूका बच्चाबच्चीसमेत गरेर १ सय ८५ जनालाई क्वोरन्टाइनस्थल भक्तपुरको नगरकोट र खरीपाटीमा राखिएको छ’, श्रेष्ठले भने । चीनबाट काठमाडौं फर्किएको ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, एक जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर, एक जना लोड मास्टर र चार जना नेपाली सेनाका चिकित्सक थिए ।
क्वारेन्टाइनमा विशेष नियम

उद्धार गरिएका १ सय ८५ जनाका लागि ६० कोठामा व्यवस्थापन गरिएको छ । उचित दुरीको फरकमा एकदेखि तीनजनासम्म राखिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गरेका छन् । क्वारेन्टाइनमा उनीहरूलाई खाना, पानी, स्वास्थ्योपचार सबै व्यवस्था मिलाइएको छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा कार्यरत छन् । सबैको दिनमा दुई पटकसम्म तापक्रम जाँच भएको छ । क्वारेन्टाइनमा अभिभावकहरूसँग भेटघाट गर्न पाइने छैन । क्वारेन्टाइनमा बसेकाहरूका लागि खेल तथा मनोरञ्जनका लागि छतमा व्यवस्था गरिएको छ ।

डराउन पर्दैनः डा. पुन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले अन्य देशले पनि वुहानबाट आफ्ना नागरिकलाई उद्दार गरेर घर लगेको भन्दै नेपालमा नेपालीलाई ल्याउँदा समस्या नहुने बताए । उनले भने, ‘धेरैमा डर त्रास देखिएको छ, कतिले आन्दोलन नै गरेर विरोध देखाएका छन् तर त्यस्तो डराउनु पर्ने छैन । यदि त्यसो हो भने त अन्य देशले पनि आफ्ना नागरिक फर्काएका छन्, त्यहाँ यो रोग फैलिसक्नुपर्ने हो नि ।’

चीनबाट ल्याइएका विद्यार्थी संक्रमित नहुने भन्दै पुनले उनीहरूलाई क्वारेन्टाइनमा राख्दैमा वरिपरिका मानिसलाई जोखिम नहुने बताए । ‘कसैलाई हेर्दैमा, बाटोमा हिँड्दैमा र यतिकै हावाबाट उडेर यो रोग सर्ने होइन त्यसैले धेरै डराउन पर्दैन,’ उनले भने । उनले मानिसहरूमा कोभिड चाहिँ हावाबाटै सर्ने र सबै ठाउँमा फैलिने भन्ने त्रास भएको भन्दै उनले त्यस्तो नहुने बताए । उनले यस कुरामा कुनै वैज्ञानिक आधार र तथ्य नभएको दाबी गरे ।
विमानस्थलमा पाँच स्वास्थ्यकर्मी परिचालित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा पाँच जना स्वास्थ्यकर्मी परिचालित गरेको छ । विमानस्थलमा उच्च सतर्कता अपनाएसँगै त्यहाँ रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको हो । विदेशी पर्यटक तथा स्वदेश फर्किएका नेपालीको स्वास्थ्यजाँचका लागि विमानस्थलमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।

संक्रमण श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा यसबाट बच्न भिडभाडमा जान नहुने चिकित्सकहरूले बताएका छन् । यसका लागि मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने, साबुन पानीले वेलावेला हात धुने, खानेकुरालाई राम्रोसँग पकाएर खानुपर्ने चिकित्सकले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. पुनका अनुसार नोबेल कोरेना भाइरस नामको यो भाइरसले सबैलाई सतर्कता अपनाएको छ ।

उनले भने, ‘उच्च सतर्कता अपनाउन जरुरी छ तर डराउन भने आवश्यक छैन । जुन विद्यार्थीलाई कोभिडको नेगेटिभ रिपोर्ट आएको थियो उक्त व्यक्तिलाई निको भएपछि अन्यलाई नदेखिएको हुँदा त्रासमा चाँही नबस्नुस् तर सावधानी अपनाउन नछोड्नुस् ।’ भौगोलिक रूपमा हाम्रो देश नजिकै भएको कारण पनि बर्सेनि चीनमा विद्यार्थी, व्यवसायी र अन्य व्यक्तिहरू भ्रमण गर्न जाने र नेपालमा समेत त्यहाँबाट पर्यटक आउने हुँदा समस्या भएको डा. पुनले बताए ।

उनका अनुसार भौगोलिक हिसाबले देशसँगै भएकाले यस भाइरसलाई रोक्नका लागि सबै नाकाहरूमा सतर्कता अपनाउनुपर्छ । उनले विकसित देशले जस्तै हामीले पनि समयमै उच्च सतर्कता अपनाउँदा भावी दिनमा त्यसले पार्ने असर खेप्न नपर्ने बताए ।
कोरोना भाइरस के हो ?

जनावरबाट सर्ने एक भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरस भन्दा तीव्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरूले यो निकै भयानक रहेको बताइरहेका छन् ।

लक्षण
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुआती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकीजस्तै लागे पनि यो सामान्य रूपमा रहँदैन । त्यसपछि क्रमशः उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्युसमेत हुन्छ । यसको डरलाग्दो अर्को पक्ष भनेको यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोेमा सजिलै सर्छ ।

जोगिने उपाय
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाइमा विशेष ध्यान दिनु नै यस रोगबाट बच्ने उपाय हो ।

प्रतिक्रिया