कार्कीको ‘कुमारी प्रश्नहरू’ आउँदै

काठमाडौं । कथाकार दुर्गा कार्कीको पहिलो कथा संग्रह ‘कुमारी प्रश्नहरू’ बजारमा आउन लागेको छ । आगामी ९ फागुनमा सार्वजनिक हुने उक्त संग्रहलाई नेपालयले प्रकाशन गरेको हो । संग्रहमा सामाजिक यथार्थवादी कोणबाट लेखिएका १३ कथा समावेश रहेको कथाकार कार्कीले जानकारी दिइन् ।

नेपालयकी भूषिता वशिष्ठले दुर्गा कार्कीको पुस्तकबाट २०२० को आफ्नो प्रकाशन सुरु गरेको बताइन् । उनले भनिन्, ‘दुर्गा आफ्नो लेखनमार्फत सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत हुन्छिन् । लिंगभेदका विसंगतिलाई उमेरअनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्छिन् । चातुर्यपूर्ण गद्य शैली र आकर्षक कथा बुनोट कार्कीको विशेषता हो ।’ भूषिताले दुर्गाको यही शैलीले उनलाई अखबार लेखनमा ख्याति र लोकप्रियता दिलाएको समेत सुनाइन् ।

दुर्गाले आफू कथाकारको रूपमा पहिलोपटक आउँदा खुसी लागेको बताउँदै भनिन्, ‘किताबको पहिलो प्रति पाउँदासमेत मलाई मेरा कथाहरू साँच्चिकै किताबको रूपमा आए भनेर विश्वास नै लागेन, यिनमा काम गरेर साँच्चै सकियो र भन्ने लागिरह्यो ।’ उनले संग्रहमा प्रकाशित कथाबाट पाठकहरू पटक्कै निराश नहुने जिकिर गरिन् ।

उनले भनिन्, ‘प्रत्येक कथालाई मैले कम्तीमा पनि बीसपटक पढेकी छु, हरेक पटक केही न केही थपघट गरेकी छु र कतिलाई त महिनौँ सोचाइको गर्भमा बोकेर हिँडेकी छु ।’ नेपालयले २०२० को तालिका सार्वजनिक गर्दै चार महिला लेखकका सामग्री प्रकाशन गर्ने लक्ष्य लिएको जनाएको छ ।

नेपालयकी सिइओ सैजन मास्केले चार महिलाका चारवटै पुस्तकले भिन्नै शैली र कथानक बोकेर आएको बताइन् । उनले भनिन्, ‘यी पुस्तकले नेपाली समकालीन साहित्य र प्रकाशन उद्योगलाई सकारात्मक योगदान पु¥याउने आशा लिएका छौँ ।’

उनले लेखक दुर्गा आफ्नो कथा लेखनमार्फत ताजापन बोकेर आएकी जिकिर गरिन् । सिइओ मास्केले भनिन्, ‘मलाई आशा छ यो किताबले बजारलाई उत्साही बनाउने छ र पुनर्जीवन दिनेछ ।’ कार्कीको उक्त संग्रह नेपालका पुस्तक बिक्रेताका साथै एमेजन डट कममार्फत् संसारभर उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया