नाला निर्माणमा कमसल सामग्रीको प्रयोग

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्शनगरमा जारी नाला निर्माणमा मापदण्ड विपरीतको सामग्री प्रयोग गरिएको फेला परेको छ । सो ठाँउमा निर्माणाधीन नालामा दुई नम्बर र तीन नम्बर इँटाका साथै टुक्रे इँटा प्रयोग गरिएको भेटिएको हो ।

इँटा जोडाइको क्रममा नभिजाइएको र निर्धारित भागभन्दा कम सिमेन्टको प्रयोग गरी निर्माण गरिएको स्थानीयवासीले जानकारी गराएका छन् । मापदण्ड विपरीतको सामग्री प्रयोग नगर्न आग्रह गर्दा ठेकेदार पक्षका मानिसले नटेरेको स्थानीय गजेन्द्र कर्णले बताए ।

निर्माणस्थलमा खटिएका सुनील सरदारले समेत इँटामा मिसावट रहेको स्वीकार गरेका छन् । उनले कम्पनीले एक नम्बर भनेर इँटा मगाए पनि त्यसमा दुई नम्बर मिस्सिएर आएको दाबी गरे ।

नाला निर्माणको अधिकांश निर्माण भइसक्दासम्म निर्माणस्थलमा निर्माणसम्बन्धी सूचना बोर्ड नराखिएका कारण सर्वसाधारण सूचना नपाएर अलमलमा छन् । त्यहाँ भइरहेको निर्माण कार्यको अनुगमनका लागि गाउँपालिकाले सबइन्जिनियर खेम सुवेदी र असिटेन्ट सबइन्जिनियर शम्भु कर्णलाई खटाएको छ । अनुगमनमा खटिएका कर्णले आपूmहरूले सात वटै वडामा हुने निर्माण कार्यको अनुगमन गर्नुपर्नेमा जनशक्ती कम भएका कारण समस्या भएको दाबी गरे ।

यसैबीच गुणस्तरहीन निर्माण कार्यको सूचना पाएपछि कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मंजिता सरदार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्की र वडा–२ का वडाध्यक्ष किशोर पाण्डे सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

निर्माणमा मापदण्ड विपरीतको सामग्री प्रयोग गरिएको तथा लापरवाहीसमेत गरेको भेटिएपछि गाउँपालिका प्रमुख कामतले तत्काल काम रोकेर मापदण्डअनुसार काम गर्न निर्देशन दिएका छन् । कामतले दुई नम्बर इँटा प्रयोग गरिएका संरचना भत्काइने जानकारी दिए ।

बुढीगंगा गाँउपालिका–१ को यसुकी कन्स्ट्रक्सनले त्यहाँ नाला निर्माणको ठेक्का पाएको छ । कन्स्ट्रक्सनका जेनरल म्यानेजर चुडाराज अधिकारीले टेलिफोनमा प्रतिक्रिया दिँदै ठेक्का सम्झौता अनुसार नै काम भएको दाबी गरे । इँटा लोड गर्ने क्रममा भट्टाका लेबरहरूले एक÷दुई इँटा मिसाएको हुनसक्ने उनको दाबी छ । २ सय ७२ मिटरको सो नाला आगामी १५ जेठसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेकोे जनाइएको छ ।

प्रतिक्रिया