कोरोना भाइरसबाट उहान अस्पतालका निर्देशकको मृत्यु

बेइजिङ । कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ भााइरसको कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उनलाई बचाउन धेरै प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।

उनि कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् । यही प्राणघातक जीवाणुको कारण उहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यसअघि कोरोना भाइरसको बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो । उहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेका छन् ।

प्रतिक्रिया