खप्तड गोल्डकपको तयारी पूरा

धनगढी । घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशिको नेपाल आईस चौथो सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सोमबार ट्रफी सार्वजनिक गरेको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले सोमबार आयोजित पत्रकार सम्मेलनमा गर्दै प्रतियोगिताका लागि लगभग सबै तयारी पूरा भएको जनाएको छ ।

धनगढी रगशालामा फागुन ९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमती क्लब र भारतको कन्चनजंगा एफसीबीच हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि नेपाल आइस सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । जुन खेल फागुन १३ गते हुनेछ ।
चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ र दोस्रो हुने टोलीले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजक क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फागुन १० गते नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन ११ मा नव जनजागृति क्लब सिमरा र प्रभु बैंक जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुन बीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ गते प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ । फाइनल फागुन २० मा हुनेछ ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले रंगशाला पुगेर प्रत्यक्ष खेल हेर्ने अनुमान गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्नेछ । गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोबल आईएमई बैंक, एभरेस्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, इन्सुरेन्स पाटर्सरमा मेटलाईफ रहेको छ ।

प्रतिक्रिया