मोडलिङबाट चम्केका निराजन

काठमाडौं । एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय निराजन प्रधान म्युजिक भिडियो हेर्नेका लागि नयाँ नाम होइन । सयौँ गीतमा अभिनय गरेका प्रधान अब ठूलो पर्दामा देखिने भएका छन् । उनले चलचित्र ‘तिमीसँगै हुने मन छ’ बाट ठूलो पर्दामा डेब्यु गर्न लागेको खुलाए ।

म्युजिक भिडियोमा अत्यधिक व्यस्त मोडलको परिचय बनाएका प्रधानले आफ्नो करिअरको ८ वर्षमा एक हजारभन्दा बढी भिडियोमा अभिनय गरिसकेको दाबी गरे । उनले भिडियोमा सँगालेका अनुभवलाई अब फिल्मी करिअरमा उपयोग गर्ने उनले बताए । उनले यसबीच अभिनेता अनुरूप बरालबाट एक्टिङ क्लास पनि लिइसकेको सुनाए ।

सन् १९८६ मा तनहुँको भिमादमा जन्मिएका प्रधानले सानैदेखि गीत तथा संगीत र कलाकारितामा रुचि राख्थे । उनले सानोमा गायक बन्ने त सौख भए पनि कालान्तरमा अभिनय क्षेत्रमा परिचित भएको सुनाए । धेरैको रोजाइमा परेका कारण उनलाई एकमाथि अर्को अवसर आए ।

हरेक अवसरलाई उनले अनुभव हासिल गर्ने दरिलो प्लेटफर्मको रूपमा लिएको बताए । उनले अभिनय क्षेत्रमा जमे पनि आपूmभित्र गायक बन्ने सपना अझै नमरेको सुनाउ । उनले भने, ‘एकदिन आफ्नै स्वरमा गीत रेकर्ड गर्ने नै छु ।’

किसान परिवारमा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंमै बित्यो । साथी संगतका कारण आफू कलाकारिता क्षेत्रमा प्रवेश गरेको उनले जनाए । आठ वर्षअघि पहिलोपटक उनले नेपाल चलचित्र विकास बोर्डले आयोजना गरेको चलचित्र महोत्सवमा साथीको आग्रहमा भाग लिएका थिए । सो महोत्सवमा उत्कृष्ट कला सम्पादन गरेपछि उनी निरन्तर यही क्षेत्रमा जमेको बताए ।

मोडल प्रधानले पहिलो म्युजिक भिडियो आलोक नेम्वाङसँग गरेका थिए । उनले त्यो क्षण सम्झँदै भने, ‘त्योवेला नेम्वाङ दाइले मलाई लिन्नभन्दा पनि ८ हजार रुपैयाँ पारिश्रमिक दिनुभएको थियो ।’ नेम्वाङले दिएको त्यो अफर र पारिश्रमिक आफनो लागि वरदान सावित भएको प्रधानले बताए ।

उनले अहिलेसम्म प्रायःजसो निर्देशक तथा नयाँ पुस्ताका अभिनेत्री वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतसँग काम गरिसकेको जनाए । उनी भन्छन्, ‘मलाई काम गर्ने अवसर नजुरेको भनेको नम्रता श्रेष्ठसँग हो । मेरो उहाँसँग अभिनय गर्ने धोको छ ।’

उनको पहिलो चर्चित म्युजिक भिडियो लभ ट्र्याजिडीमा आधारित ‘खल्ली’ हो । प्रकाश तिमल्सिनाको सो भिडियोमा उनले अभिनेत्री वर्षा राउतसँग अभिनय गरेका थिए । त्यस्तै, उनले पछिल्लो समय गायक शिव परियारको लभ सङ ‘नभेटी नभेटी’ मा अभिनेत्री स्वस्तिमा खड्कासँग अभिनय गरेका छन् । त्यसैगरी ‘दिल तोडेर गयौँ’, राजेश राईको ‘अखौली बजार’लगायत उनी अभिनीत दर्जनौँ म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय छन् ।

कुनैवेला ८ हजार पारिश्रमिकमा काम गरेका प्रधान अहिलेका सर्वाधिक महँगा र व्यस्त मोडलमध्ये एक हुन् । म्युजिक भिडियोमा काम गरेरै उनले दर्जनौँ पुरस्कार तथा सम्मान थापेका छन् । उनले सन् २०१७ मा नेपाल म्युजिक अर्वाड (पोस्ट मोडल मेल मोर्डन एवं पप), सन् २०१८ मा सुन्दरतादेवी सन्देश अर्वाड (पब्लिक च्वाइस अर्वाड), सन् २०१८ मा बक्स अफिस म्युजिक भिडियो अर्वाड र सन् २०१९ मा नेपाल भाषाको म्युजिक भिडियो अर्वाड (बेस्ट डेब्यु मोडल मेल )लगायत थुप्रै अर्वाड हात पारिसकेका छन् ।

त्यस्तै, मोडल प्रधान कर्पोरेट क्षेत्रको व्यावसायिक विज्ञापनमा पनि रुचाइएका पात्र हुन् । उनले नेपाल टेलिकम, इको स्पोट फोर्ड गाडी, वल्र्ड लिंक, टिभिएस स्कुटर, लाली नुडल, नेपाल बंगलादेश बंैक, स्यानमिगल लगायतको टिभी तथा पत्रपत्रिका विज्ञापनमा देखिएका छन् ।

प्रतिक्रिया