न्याय हराए हेग जानु, शिक्षा हराए खाडी जानु

चिया पसलमा गरीने चियो चर्चोले मन पनि खैलाबैला हुन थालेको छ । कोही न्यायका लागि दौडि रहेका छन् कोही अपराधका लागि । सबैका आ–आफ्ना स्वार्थमा छन् । विरगन्जको एक चिया पसलमा चिया पिउँदै गर्दा अर्को टेबुलमा बसेर सल्लाह त के भनाँै हल्ला गरिरहेका युवाहरूको कुरा नजानिदो तरिकाले सुनिरहे । भन्दै थिए अब साहुको विरूद्धमा अदालत जाने ।

मजदुरको पैसा खान पाउछ ? पसिना हाम्रो रजाइ उनको । पैसा नदिए प्रहरीमा उजुरी दिने । यो सम्वाद सुन्दा पंक्तिकारको मनमा अनेक कुराको वास भयो । तीन युवाहरू कुन कम्पनी अथवा कुन ठेकेदार सँग काम गरीरहेका थिए ? खोजीनीति नगरेकोमा पछुतो लागिरहेको छ । मजदुर जस्ता लाग्ने ति युवाहरूले आफ्नो ज्याला नपाएकोमा आक्रोश मात्र पोखि रहेका थिएनन् । परिवारको पीडा, अदालतको भरोसा, र प्रहरी प्रसासनको प्रतिको विश्वास जगाई रहेका थिए ।

उनीहरूले विश्वास जगाएको देख्दा मलाई भने ति मजदुरले आफ्नो ज्याला पूर्णरूपमा पाउनेमा रत्तिभर पनि विश्वास थिएन । प्रहरी प्रसासन, अदालत त मालिकको भइसकेको छ यो देशमा । जनताले त सपनामै प्रहरी प्रशासन जाने हो, सपनामै न्याय पाउने हो, सपनामै आफ्नो मजदूरी पाएर सपनीमै आफ्ना लालाबालालाई नौलो लुगा किनिदिने हो ।

यो प्रक्रिया लामो समयसम्म चलाउन पाउनु यो देशका नेतालाई पनि फाइदाकै कुरा हो । देशमा जति सुकुम्बासी बढे, जति बेरोजगार बढे त्यति नै राजनीतिक मुद्दा मजबुत हुने गरेको छ । राजनिति दलका हुने आन्दोलनमा आन्दोलनकारीको भिड लाग्नेछ । यो प्रक्रिया साइकलको चक्काजस्तै घुमिरहने छ र मजदुरको इहलीला समाप्त हुनेछ ।

प्रहरी प्रशासन, अदालत त मालिकको भइसकेको छ यो देशमा । जनताले त सपनामै प्रहरी प्रसासन जाने हो, सपनामै न्याय पाउने हो, सपनामै आफ्नो मजदूरी पाएर सपनीमै आफ्ना लालाबालालाई नौलो लुगा किनिदिने हो । यो प्रक्रिया लामो समयसम्म चलाउन पाउनु यो देशका नेतालाई पनि फाइदाकै कुरा हो 

हुन त यो देशमा ‘न्याय हराए गोरखा जानू शिक्षा हराए काशी जानू’ भन्ने उपदेश दिने गरिन्थ्यो । यो उपदेश पनि सम्झे । भन्न मन थियो भाइहरू गोरखा जानु न्याए गोरखामा नै पाइन्छ, तर तिमीहरू अलि कम पढेलेखे जस्ता छौ काशीतिर लागे पनि हुन्छ, तर भन्ने आँट गरिएन । यसो भन्दा उनीहरूको मजाक लाग्थ्यो र पीडा हुन्थ्यो ।

राजा पृथ्वीनारायण शाहले धेरै उपदेश दिएका छन् तर गोरखा र कास्कीको कुराले यति वेला मन पोलिरहेको छ । राजाले कास्कीलाई भनेका हुनकी भारतको काशीलाई भनेका हुन् त्यो कुरा त अलि पछि चर्चा होला तर गोरखाको कुरो भने नेपालकै हो । जहाँ राजा पृथ्वी नारायण शाह जन्मेका थिए । पृथ्वी नारायण शाह सम्झेर मात्र नहुँदो रहेछ गोरखामै जन्मेका नन्दप्रसाद अधिकारीको अनसनमै मृत्यु भएको पनि सम्झेँ । न्याय अस्पतालमा अनसन बस्दा बस्दै हरायो ।

सशस्त्र द्वन्द्वको समयमा मारिएका छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनशनमा बसेका गोर्खा फुजेलका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको हो । उनको शव अस्पतालमै छ । उनले पनि न्याए पाएनन् । नेपालका पहिला शहिद लखन थापा मगरलाई पनि रूखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।

गोरखामै जन्मेका र राणा शासनविरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । यो देशमा न्याय हराउन गोरखा बाटै सुरू भयो जो आज सम्म चलिरहेको छ । अहिले आएर नेपालमा न्याय सँगै शिक्षा पनि हराउँदै गएको छ । अब त नयाँ उपदेश भन्न सुरू गर्नुपर्छ शिक्षा हराए खाडी जानु ।

नेपालमा पढेलेखेका युवाहरू खाडीमा पसिना बगाइरहेका छन् । हुन त गोरखाका अधिकारी मात्र होइन धेरैले न्यायको लागि लडिरहेकै छन् । कसैले ईटाभट्टामा जिउँदै जलाइएकाहरूको न्याय खोजीरहेका छन् भने कोही जलाउनेका लागि । यो देशमा नेता भएपछि केही नलाग्दो रहेछ । नेताभन्दा पनि केपि ओली र प्रचण्डको नजिक भएपछि कसैले छुन नसक्दो रहेछ ।

कृष्ण महरा जेल गए कृष्ण गिरी छुटे, विजयकुमार गच्छदारलाई भ्रष्टाचारको आरोप लाग्यो संसद पदसमेत निलम्बित भयो तर बिष्णु पौडेल र कुमार रेग्मीले लालपुर्जा फीर्ता गर्दछु भनेर उन्मुक्ति पाए । समान न्याय कहाँनेर छ भनेर अनुमान गरौँ । सुदुरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीको टिकापुरका जनताले न्याए नपाएको गुनासो कहिल्यै नछुट्ने भयो ।

अग्निप्रसाद सापकोटा सभामुख भए । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सभामुख सापकोटाविरुद्ध मुद्दा छ । सापकोटा सभामुख भए अर्जुनले पाउनुपर्ने न्याय हरायो । पृथ्वीनारायण शाहले एकीकरण गरे पश्चात्का राजनीतिक घटनाक्रमहरूको इतिहास हेर्ने हो भने आजका दिन सम्म नेपालमा न्याय, शान्ति, समता, समृद्धि र शुसासन कहिल्यै आएको देखिदैन, यो वा त्यो नाममा जनता प्रताडित हुने आजको नयाँ घटना होइन । जब–जब आन्दोलन र संघर्षहरू चुलिँदै जान्छन् तब नेतृत्वले सम्झौताको नाममा घात गरिँदै आइरहेको कुरा जगजाहेर छ ।

नेपालको राजनितिक इतिहास लाई पनि फर्केर हेरौँ । २०२८ सालमा तत्कालिन झापा विद्रोह मार्फत राष्ट्रिय राजनीतिको केन्द्रमा आएका खड्ग प्रसाद ओलीको नेतृत्वमा रहेको नेकपा एमाले र २०४४ सालको सेक्टर काण्ड पश्चात राष्ट्रिय राजनीतिको केन्द्रमा प्रवेश गरेका पुष्पकमल दाहाल नेतृत्वको नेकपा ( माओवादी केन्द्र ) बीच एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी वर्तमान नेपालको सत्ताधारी दल हो ।

विद्रोह गरेर राजनितिमा आएका दलहरू एक भएपछि शक्तीसाली प्रधानमन्त्री केपि ओलीले राष्ट्रिय निर्माता पुरस्कार पाए । पृथ्वि नारायण शाहलाई राष्ट्र निर्माता भन्नेहरू राजावादी परीणत भए । यो घटनाले देशबाट न्याय र शिक्षा हराएको प्रमाणीत हुन्छ । सरकार राम्रो कुराको प्रचार भएको मात्रै हेर्न र सुन्नमा तल्लीन छ । असन्तुष्टी प्रकट गर्ने जनतालाई प्रतिपक्षी कित्तामा राखिएको छ ।

सञ्चारमन्त्री खुले आमजनतालाई त्रसित बनाई रहेका छन् । प्रतिपक्षी दल नै काठमाडांैको धुलोमा विलिन भएको छ । देशबाट भएभरका युवा विदेश लखटेर राष्ट्रिय उत्पादन विनाको आर्थिक समृद्धीको सपना देखिरहेको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४–५ जनाको संख्यामा आउने लासलाई देखिरहेको छैन ।

यही गति र दिशामा सरकारको यात्रा जारी रहने हो भने अब चार–पाँच वर्षमा समृद्ध नेता र सुखी कार्यकर्ता बन्ने त देखिन्छ तर जनताको जीवनस्तर भने झन्–झन् दयनीय र कष्टकर बन्दै जाने देखिन्छ । न्यायदेखि श्रमको मूल्य खोज्न पनि राजधानी धाउनु पर्ने अवस्था कहिलै नहट्ने भयो । किसानले उखुको मूल्य नपाएर काठमाडौं गएरै धर्ना बस्नुप¥यो । गाँउगाँउमा सिंहदरबार स्थापना भए पनि दरबारभित्र सिंह मात्रै बस्न थाले ।

न्याए पाउने आसा हराउदै गएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहाले भनेको उपदेश न्याय हराए गोरखा जानु र शिक्षा हराए कास्की जानु भन्ने उपदेश गणतान्त्रिक देशमा कुनै तालमेल मिलेको छैन । गाणतन्त्र पछि राष्ट्रनिर्माता सम्मान पाएका केपी ओलीले शिक्षा र न्यायलाई काशी होइन कि काशी र गोरखाको जति नै दूरीमा राखेको छ । दूरी घटाउने प्रयाससम्म गर्न सकेको छैन । सरकार न्याय हराए हेग जानु शिक्षा हराए खाडी जानु भन्ने उपदेश स्थापित गर्न बाट जोगिने कि ?

प्रतिक्रिया