ड्याफोडिललाई उपाधि

काठमाडौं । ड्याफोडिलले सातौँ विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा ड्याफोडिलले भ्याली भ्यु इङलिस स्कुललाई ३–० गोलले पराजित गर्यो । ड्याफोडिलका छेवाङ मोक्तानले २ तथा रामेश्वर थापा मगरले १ गोल गरे । ड्याफोडिलका रोशनराज पन्त ‘म्यान अफ द म्याच’ घोषित भए ।

उपाधिसँगै ड्याफोडिलले २० हजार नगद पुरस्कार पायो भने भ्याली भ्युले १० हजार नगद पुरस्कारमा चित्त बुझायो । विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा ड्याफोडिलका छेवाङ मोक्तान उत्कृष्ट खेलाडी, विद्या संस्कारका रुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक, रिब्सका मिलन गुरुङ ‘मोस्ट प्रोमिसिङ प्लेयर’ र भ्याली भ्युका इत्ची महर्जन सर्वाधिक गोलकर्ता बने ।

बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पार्यो । विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं। ८ का अध्यक्ष मनोज ढुंगाना, समाजसेवी विमल ठकुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा १३ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया