रिलिजअघि ‘आरआरआर’ को कमाइ ४ सय करोड

मुम्बई । निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ ले प्रदर्शनअघि नै कमाइमा आफ्नो अघिल्ला सिनेमालाई पछि पारेको छ । यो चलचित्रले राजामौली निर्देशित ‘बाहुबलीः द कनक्लुजन’ को प्रि–रिलिज कमाइलाई पछि पारेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजमौलीको ‘आरआरआर’ चलचित्रले रिलिज अगावै चार सय करोड भारू ग्रस कमाइ गरिसकेको छ । भारतीय सिने व्यापार विश्लेषक रमेश बालाले मंगलबार सामाजिक सञ्जालमा ट्विट गर्दै यो जानकारी दिएका हुन् । उनले ट्विटमा सिनेमाका सबै बिक्री अधिकारबाट सिनेमाले देश र विदेशमा गरेर चार सय करोड भारू कमाइसकेको उल्लेख गरेका छन् ।

दुईवटा फरक समयको कथालाई प्रस्तुत गर्ने यस चलचित्रमा अभिनेता राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेको छ । उनीहरूसँगै चलचित्रमा बलिउड अभिनेत्री आलिया भट्ट, अभिनेता अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी तथा रे स्टेभन्सनलगायत कलाकारको अभिनय छ ।

चलचित्रको तेलांगना बिक्री अधिकार करिब २१५ करोड भारूमा बिक्री गरिएको छ । त्यस्तै, केरलामा सिनेमालाई १५ करोड भारूमा बेचिसकिएको छ । सिनेमालाई तमिलनाडूमा भने कतिमा बिक्री गरियो भन्नेबारेमा भने स्पष्ट हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी वर्ष ८ जनवरीमा प्रदर्शनमा आउने यस चलचित्रको बजेट तीन सय करोड भारू रहेको बताइएको छ ।

प्रतिक्रिया