शैक्षिक गन्तव्य बन्दै छ बर्दिवास

नेपालमा पठनपाठन हुने अधिकांश विषयकोे पढाइ हुन थालेपछि महोत्तरीको बर्दिवास राम्रो शैक्षिक गन्तव्य बन्ने देखिएको छ । पछिल्लो समयमा नयाँ तथा प्राविधिक विषयको पनि पठनपाठन सुरु भएपछि बर्दिवास मुलुककै एक शैक्षिक गन्तव्य बन्ने क्रममा अघि बढेको देखिन्छ ।

मेडिकल कलेज स्थापनाको पछिल्लो तयारीले पनि यस क्षेत्रमा उत्साह थपिदिएको छ । उच्च शिक्षामा एकपछि अर्को अवसरको सम्भावना बढ्दै गएपछि बर्दिवास शैक्षिक गन्तव्य बन्ने आशाले यहाँका सर्वसाधारणलाई थप उत्साहित बनाएको छ ।

गत वैशाखमा कार्यालय स्थापना भएको बर्दिवास मेडिकल कलेजको डिपिआर (विस्तृत कार्य योजना प्रस्ताव) बनेर स्वीकृतिको चरणमा छ । यस प्रयासले बर्दिवासवासीमा खुसी छाएको हो । क्याम्पस प्रशासनले केही दिनअघि मात्र १५ अर्ब १५ करोड रूपैयाँको लागतमा निर्माण हुने उक्त क्याम्पसकोे डिपिआरबारे सर्वपक्षीय बैठक आयोजन गरेर यससम्बन्धी जानकारी गराइसकेको छ । अहिलेसम्म अघि बढेका कामको आधारमा २०८० सालभित्रै बर्दिवास मेडिकल कलेज सञ्चालन हुने यहाँ स्थापित बर्दिवास मेडिकल कलेजको कार्यालयका प्रमुख देवी सुवेदीले जानकारी दिए ।

प्रत्येक प्रदेशमा एक मेडिकल कलेज स्थापना गर्ने नीति ०७४ सालमा नेपाल सरकारले तय गरेसँगै त्यतिखेरै बर्दिवासमा मेडिकल कलेज स्थापनाको कुरा अघि बढेको थियो । गत आर्थिक वर्ष ०७५÷७६ मा कलेजलाई १० करोड रकम विनियोजन गरेर गत वैशाखमा कार्यालय स्थापना गरेपछि कलेज स्थापनाको कामले गति लिएको हो । बर्दिवासमा एकपछि अर्को उच्च शिक्षाको अवसर बढ्दै जाँदा यसको सकारात्मक प्रभाव यस वरपरका अन्य क्षेत्रमा पनि पर्ने जिल्लाका नागरिक समाजका अगुवाहरू बताउँछन् ।

बर्दिवासमा विगतदेखि नै विभिन्न संकायमा उच्च शिक्षाको पठनपाठन हुँदै आएको छ । शिक्षा संकायमा स्नातकोत्तर, वाणिज्य शास्त्रमा स्नातक र अन्य प्राविधिक विषयमा स्नातक तहसम्मको अध्ययन गर्न सकिने शैक्षिक प्रतिष्ठान सञ्चालन भइरहेका छन् । त्यसपछि नयाँ सम्भावना थपिने कुराले बर्दिवास शैक्षिक गन्तव्य बन्ने आशा जागेको विश्वास महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले बताइन् ।

बर्दिवास–६ किसाननगरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आंगिक क्याम्पस प्राकृतिक स्रोत साधन कलेज सञ्चालित छ । गत वर्ष सञ्चालनमा आएको कलेजमा ५४ छात्रछात्राले कृषि तथा वन विज्ञान संकायमा स्नातक अध्ययन गरिरहेका छन् । त्यस्तै, बर्दिवास–१४ मा करिब एक दशकदेखि बर्दिवास जनता बहुमुखी क्याम्पस सञ्चालनमा छ । त्रिभुवन विश्व विद्यालयको आंगिक यो क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर र वाणिज्य संकायमा स्नातक तहसम्मको पठनपाठन भइरहेको छ ।

पछिल्लोपटक बर्दिवास–१४ स्थित बर्दिवास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुरु भएपछि यस वरपर उच्च शिक्षा पढ्न नपाएर घरको काममा लाग्न बाध्य छोरी÷बुहारी र जागिर वा बन्द व्यापारमा लागेका युवायुवतीलाई पनि राम्रो अवसर मिलेको छ ।

क्याम्पसमा अहिले स्नातकोत्तर तहको अध्ययन गरिरहेका ३४ मध्ये २० छात्रा छन् । यी सबै केही वर्षअघि नै स्नातक तह सकेर आफ्नो काममा लागेका युवती रहेका क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीले बताए । प्राकृतिक स्रोत साधन कलेजमा भने मुलुकको पश्चिमी क्षेत्रका छात्रछात्राको संख्या बढी छ । सुदूरपश्चिम प्रदेशका मात्र यस क्याम्पसमा १० छात्रछात्रा रहेका कलेज प्रशासनले जनाएको छ ।

यसबाहेक बर्दिवास–११ खयरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालय गत वर्ष नै सञ्चालनमा आएको छ । व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त डिप्लोमा (स्नातक) तहको पठनपाठन हुने यो शिक्षालयमा सर्वे (नापी, अमिन), वन, सिभिल इन्जिनियरिङ, होटल व्यवस्थापन (होटर म्यानेजमेन्ट) र फुड एन्ड डेरी विषयमा स्नातक तहको पठनपाठन हुँदै छ । यसैगरी, बर्दिवास–६ किसाननगरस्थित जनहित नन्दलाल माध्यमिक विद्यालयमा सिटिइभिटीकै सम्बन्धनमा सिभिल इन्जिनियरिङको पठनपाठन सुरु भएको दुई वर्ष नाघिसकेको छ ।

त्यसैगरी, बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा सिटिइभिटीकै सम्बन्धनमा पशु तथा वन विज्ञान विषयमा तीन वर्षअघि नै स्नातक तहको पठनपाठन सुरु भएको हो । शैक्षिक साधन, आधुनिक कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र शैक्षिक अनुशासनमा राम्रो मानिएको यो विद्यालयमा पढ्न चाहनेको संख्या धेरै भए पनि निश्चित संख्या (कोटा) निर्धारण गरिएका कारण सबैले मौका पाउन नसकेका विद्यालयका प्रधानाध्यापक दीपक बरालले बताए ।

बर्दिवास–१ स्थित देउराली माध्यमिक विद्यालयमा वनविज्ञान विषयको स्नातक तहको पठनपाठन भइरहेको छ । यसैगरी, बर्दिवास–२ स्थित यस क्षेत्रकै पुरानो जनता माध्यमिक विद्यालयले अटो मोबाइल विषयको डिप्लोमा तह पठनपाठन यसै शैक्षिकसत्रदेखि सुरु गरेको छ ।

बर्दिवासलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सहयोगी भने बर्दिवास मेडिकल कलेज नै बन्ने देखिन्छ । कलेजसम्बन्धी काम क्रमशः अघि बढेपछि यहाँ अन्य व्यापारिक कारोवार ह्वात्तै बढेको छ । यसको आकर्षणले बर्दिवासमा घरजग्गा जोड्ने र अन्य विभिन्न व्यापार व्यवसायका लागि यो ठाउँ रोज्नेको संख्या पछिल्ला केही समयमा बढ्दै गएको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले बताए ।

यसबाहेक नगरक्षेत्रमा ५२ वटा सामुदायिक विद्यालय छन् । यसबाहेक निजी (संस्थागत) विद्यालयको संख्या पनि यहाँ ४० भन्दाबढी छ । सबै विद्यालय र कलेजमा सरोकारवाला सम्बद्ध पक्षको नियमित अनुगमन हुँदै आएको बर्दिवास नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव रेवती पराजुली बताउँछन् ।

‘विद्यालय र कलेजमा भइरहेको पठनपाठनबारे सबै क्षेत्र चनाखो छन्,’ पराजुलीले भने, ‘सम्बन्धित विश्वविद्यालय प्रशासन, सिटिइभिटी र नगरपालिकाको शिक्षा शाखाबीच राम्रो समन्वय छ, यहाँ त विद्यालयमा शिक्षक गए÷नगएका, पढाइ भए÷नभएको र विद्यार्थी उपस्थितिबारे अभिभावकले नै चासो लिने गरेका छन् ।’ सामुदायिक विद्यालयमा उपयुक्त शैक्षिक वातावरण बन्दै गएपछि यहाँ टाढाटाढाबाट विद्यार्थी आउनेक्रम बढेको पराजुली बताउँछन् ।

नगरको मुख्य चिनारी नै शैक्षिक केन्द्र बनाउने बर्दिवास नगरपालिकाको उद्देश्य छ । ‘हामी बर्दिवास पढ्न जाने ठाउँ हो भनेर मुलुकभरमै परिचय विस्तार गराउन चाहन्छौँ,’ नगरप्रमुख विदुरकुमार कार्की भन्छन्, ‘यसका लागि स्वच्छ शैक्षिक प्रशासन, सुरक्षित बसोवास व्यवस्थापन र पूर्ण शैक्षिक वातावरण अत्यन्त महत्वका पूर्वसर्त हन्, हामीले यसको व्यवस्था यथाशक्य मिलाएका छौँ ।’

बर्दिवासका शैक्षिक संस्थामा अध्ययन गरिरहेका आफ्ना सन्तानबारे अभिभावक ढुक्क हुने स्थिति बनाउनसक्नु खास उपलब्धि भएको नगरप्रमुख कार्कीको थप भनाइ छ । एक साताअघि मात्र नगरस्तरीय बर्दिवास शैक्षिक सम्मेलन नै आयोजन गरेर नगरपालिकाले सामुदायिक विद्यालयको सवलीकरण अभियान थालेको कार्कीले बताए ।

पछिल्लोपटक संघीय सरकारमा महोत्तरी–१ बाट प्रतिनिधिसभामा निर्वाचित गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएपछि यहाँको शैक्षिक विकासको कुराले राम्रो फड्को मारेको यहाँका बुद्धिजीवी बताउँछन् । उक्त क्षेत्र पनि बर्दिवास नगरपालिकामा नै पर्दछ ।

‘स्थानीय तहको नेतृत्व शिक्षाप्रति समर्पित छ, संघीय सरकारको पनि साथ छ,’ विगत ३५ वर्ष शिक्षा क्षेत्रमा सेवा गरेर पछिल्ला दिनमा सामाजिक कार्यमा सक्रिय रहँदै आएका बर्दिवास–१ का लीलाविक्रम थापा भन्छन्, ‘अहिलेको तत्परता कायम रहे बर्दिवास राजधानी बाहिरको मुख्य शैक्षिक केन्द्रका रूपमा मुलुकभरिमै परिचित हुनेछ ।’

पूर्व–पश्चिम राजमार्ग, बिपी राजमार्ग, बर्दिवास–जलेश्वर सडक र बर्दिवास–गौशाला–सम्सी सडकको संगम हो बर्दिवास । यस क्षेत्रमा टुटेश्वरधाम, राइमण्डल र पञ्चधुरा माईस्थानसहितका अति प्राचीन धार्मिकस्थल छन् । नगर वरपरको रमणीय एवं सघन वनक्षेत्रले बर्दिवास नगरको परिचय बिस्तारमा सघाउ पु¥याएको छ ।

नेपाली सेनाको पूर्वीमध्य पृतना र सशस्त्र प्रहरीको प्रदेश कार्यालयसमेत यसै ठाउँमा छ । यहाँ पढ्न आउने विद्यार्थी र उनका अभिभावकमा बर्दिवासमा बढ्दो शैक्षिक गन्तव्यप्रति विश्वास बढ्दै गएको बर्दिवास–१४ का बासिन्दा अवकाशप्राप्त शिक्षक खड्गबहादुर सिंह बताउँछन् ।

प्रतिक्रिया