चीनबाट आएका नेपालीको एक महिने अनुभव

कोरोनाभाइरस प्रभावित चीनको वुहान सहरबाट शनिबार राति १० बजे नेपाल उडेका नेपालीहरूले आइतबारको सूर्योदय भक्तपुरको खरिपाटीबाट देखे । ‘जैविक युद्धभूमि’बाट फर्किएको ठान्ने तिनैमध्येका एक सौरभ लुइँटेलले स्वदेश फर्कँदाको अनुभूतिलाई शब्दमा व्याख्या गर्न नसकिने बताएका छन् ।

आइतबार बिहान उनले भने, ‘मलाई अब देशसँग कुनै गुनासो छैन ।’ ‘त्यहाँ बसेर उद्धार भइदिओस् भन्ने कामना गरिरहे पनि गरिब देशले गर्न सक्ने वा नसक्नेमा हामी ढुक्क थिएनौँ ।’ उनले चीनमा रहदाँको आशंका व्यक्त गरे ।

चीनबाट नेपाल फर्कन बस चढ्दै गरेका नेपालीमध्ये कोही रोमाञ्चित, कसैमा बेचैनी थियो । मनमा अनेक आशंका र त्रास लिएर भए पनि उनीहरू यति वेला आफ्नो मात्रृभूमि आइपुगेका छन् । उनका अनुसार देश फर्कन पाएकोमा एक सय ७५ जना नेपालीहरू यति धेरै खुसी थिए कि विमान उड्दा र अवतरण गर्दा सबैले अनायसै लामो ताली पिटेका थिए । उनीहरूलाई ठूलै उपलब्धि भएको भान हुँदै थियो ।

नेपाल वायुसेवाको विमानमा सबैका कुर्सीमा बदाम, केक, केरा र जुस राखिएका थिए । त्यो देखेरसमेत धेरैका आँखा निकैबेर रसाएको लुइँटेलले बताए । उनीहरूलाई देशले आफ्नो बारेमा कति चिन्ता र चासो लिएको रहेछ भन्ने कुर्सीमा रहेका ती खाने कुराले अनुभूति गराउँदै थियो ।

यसअघि मानिसमा कहिल्यै नदेखिएको कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै झन्डै तीन साताअघि उनी बसेर पढिरहेको सहर अचानक बन्द गरियो । त्यो समय चिनियाँ नव वर्ष समेत पर्ने वसन्त पर्व सुरु हुने बेलाको छेकोमा परेको थियो । त्यती वेला करौडौँ चिनियाँहरू पारिवारिक पुनर्मिलनका लागि यात्रा गर्न सुरु गर्दै थिए ।

मानिसहरू आफ्ना व्यावसायिक कर्मलाई थाँती राख्दै रमाउन थालिसकेको त्यो समय नेपालीले मनाउने दशैँ झैँ हुन्थ्यो । लुइटेलले सुनाए, ‘त्यसवेला सरकारी बिदा मात्र नभएर सामान्य पसलहरूसमेत बन्द हुने हुँदा हामीले समेत कम्तीमा १० दिनका लागि खानेकुरा किनेर राखेका थियौँ ।’

तर, सहरको स्वभाविक शून्यता अहिले महिना दिन पुग्न लाग्दा झन् अनिश्चिततातर्फ मात्र गइरहेको देखिएको उनले बताए । सहरका सुपरमार्केटहरू समेत खुलेनन् । खानेपानीको समस्या हुन थाल्यो । लुइटेल भन्छन्, ‘समय अगाडि नै नबढेजस्तो हुने । अझ उद्धार हुने आश्वासन पाएर पर्खनुको पीडा त झनै कठिन हुँदो रहेछ ।’ त्यहाँ रहँदाका अत्यासलाग्दा दिन सुनाए उनले ।

त्यसबीचमा अन्य देशहरूले आफ्ना नागरिकलाई फिर्ता लैजान थाले । समाचारमा प्रकोपबारे झन् त्रासदीपूर्ण र अन्योलग्रस्त समाचार देख्दा अत्तालिने मनोवैज्ञानिक समस्या पनि पीडादायी भएको लुइँटेलको अनुभव छ ।

फेब्रुअरी २४ सम्म वुहान र आसपासका विश्वविद्यालमा बिदा दिइएको छ । त्यसपछि नयाँ सूचना आउने बताइएको छ । लुइँटेल चीनको वुहानमा कृषिमा स्नातकोत्तर गर्दै छन् । थुप्रै विश्वविद्यालयले संकट लम्बिने भन्दै अझै केही समय अनलाइनबाट कक्षाहरू सञ्चालन गर्ने बताउन थालेको लुइँटेल बताउँछन् ।

‘मुख्य कुरा घरबाट बाहिर निस्कने माहोल नै नभएपछि बाँकी कुरा गौण हुँदा रहेछन् । वुहान फिल्ममा मात्र देखिने भूतको सहरजस्तो बनेको छ ।’ उनले वुहान सहरको अवस्थाका बारेमा बताए ।

नेपाल फर्कन खोजे पनि वुहानमै अवस्था सुध्रिएला कि भन्ने आशासमेत धेरैले गरेका थिए । तर, प्रतिकूलताहरू बढिरहेपछि ती सबैले एउटै आवाजमा घर फर्कने इच्छा मात्र पोखिरहे । कुनै वेला त्यसमा आक्रोश मिसियो, कुनैवेला भावना र कुनै वेला घुर्की । ‘सबैतिरबाट बिग्रिएको अवस्थामाझ हामीलाई घर र परिवार मात्र आफ्नो हुन सक्थ्यो,’ लुइँटेल भन्छन् । यस सकंटले आफूलाई जीवनमा धेरै कुरा सिकाएको उनी बताउँछन् ।

प्रकृतिको अगाडि मानिसहरू कति कमजोर छन् र आशावादी हुनुको शक्ति कति धेरै छ भन्ने बोध उनलाई त्यस अवस्थाले गरायो । ‘दिनभर कोठामा थुनिएर बस्दा दिमागमा यस्तै कुरा मात्रै त खेलिरहे ।’ संकटमा सबैको स्वरसमेत एउटै हुँदो रहेछ ।

काठमाडौं उत्रिएसँगै सबैले आफ्ना परिवारसँग अब चिन्ता नलिनु भन्दै फोन गरेको उनले सम्झिए । खरिपाटीमा उनीहरूको रगत र खकारको नमुना परीक्षण हुने बताइएको छ । त्यहाँ दम्पतीहरूलाई एउटा कोठा र अन्यलाई एउटा कोठामा तीनजनालाई राखिएको छ । सुरक्षाकर्मीको नेतृत्वमा त्यहाँ उनीहरूको स्याहार भइरहेको छ ।

उनले आइतबार बिहानको ब्रेकफास्ट खाएपछि भने, ‘खाना तयार पारेर छाडिदिनुहुन्छ तर कोही देखिनुहुन्न । त्यो ठीक छ । सबैको जीवन मूल्यवान छ ।’ एक्लिएर बस्दा मन भुलाउन भन्दै क्वारेन्टाइनमा इन्टरनेटजस्ता थुप्रै सुविधाहरू राखिनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।
इन्टरनेट सुस्त भए पनि लुइँटेललाई अब त्यस्ता कुरामा कुनै गुनासो छैन । ‘मैले आशावादी हुन सिकेको छु, सकारात्मक हुन सिकेको छु ।’ उनी र उनीसँगै आएका सबै यतिवेला आफ्नै मातृभूमिमा बस्न पाएकोमा खुसी छन् । (बिसिसी)

प्रतिक्रिया