सरकार धन्यवादको पात्र

कोरोना भाइरसको उद्गमस्थल चीनको हुवेई प्रान्तबाट नेपालीलाई उद्धार गरिएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले वुहान र आसपासका क्षेत्रबाट नेपालीलाई शनिबार राति उद्धार गरेर नेपाल ल्याएको हो । विमानस्थलमा उनीहरूको पहिलो चरणको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन । १ सय ८५ मध्ये १ सय ४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन् । उनीहरू सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका थिए । चिङचउ, चिङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरू बस चढेर विमानस्थलमा आइपुगेका कतिपय विद्यार्थी विभिन्न ठाउ“को परीक्षण पार गरेका थिए । कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन् । स्थानीय समयअनुसार रातको साढे ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं उडेको थियो । उनीहरूलाई भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।

चीनबाट फर्किएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ । यसैगरी, उद्धारमा गएका विमानका ‘ककपिट क्रु’ लाई कम्तीमा एक साता आइसोलेसनमा र बा“की ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । विमानमा एक विदेशी र एक नेपाली गरी दुईजना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् । तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी शनिबार नै पूरा गरिएको छ । क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै आइसोलेसन वार्डमा हुनेजतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रंगरोगन, बगैँचा निर्माण,भौतिक संरचना एवं विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउ“देखि दैनिक उपयोग सम्पूर्ण नया“ सामानको व्यवस्थापन गरिएको सरकारको भनाइ छ ।

सरकारले उद्धार गरेर ल्याएपछि निगरानीमा राख्ने र आवश्यक भए उपचार गर्ने व्यवस्था मिलाएर बुद्धिमानी देखाएको छ । वुहान विमानस्थलमा रोकिएकाहरूको पनि नेपाल सरकारले हेरचाह गरिरहनुपर्छ भने नेपाल आउन नमानेकाहरूको अवस्थाको पनि जानकारी लिइरहनुपर्छ । अनि मात्र राज्यको दायित्व पूरा हुनेछ । चीनबाट फर्काइएकाहरू कसैलाई पनि कोरोनाभाइरसको संक्रमण नभएको होस् भन्ने कामना गरौँ । चीनमा अलपत्र परेका नेपालीलाई घर फर्काउने क्रममा संलग्न नेपाल वायुसेवा निगमका उडान कर्मचारी, स्वास्थ्यकर्मी तथा सहयोग गर्ने चीन सरकारलगायत सबै धन्यवादका पात्र भएका छन् । अहिले सेवामा संलग्न सबैको मानवीय भावना र कर्तव्य परायणता पनि सराहनीय छ । निगरानीमा रहेकाहरूको राम्ररी हेरचाह गर्न र कसैमा संक्रमण देखिए पनि अरूमा नफैलियोस् भनेर सावधान भने अत्यन्त जरुरी देखिन्छ । ‘क्वारेन्टाइन’को व्यवस्थापनमा सरकारी शैलीको हेलचेक्य्राइँ र आलटाल भने हुनुहुँदैन ।

प्रतिक्रिया