शताब्दी वर्ष खेलाडीः पेले

विश्वमा निकै कम व्यक्तिहरूले मात्र आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गरेर विश्वभरि आफ्नो नाम फिजाएका छन् । यो संसारमा कोही राजनीतिज्ञ, कोही वैज्ञानिक, कोही साहित्यकार, कोही लेखक त कोही कलाकार भएर आफ्नो उज्यालो छरिरहेका छन् ।

त्यस्तै, खेलकुदको पनि आफ्नै संसार छ, त्यसमा पनि फुटबलको आफ्नै महत्व रहेको छ । त्यही फुटबल खेलकुदको संसारमा आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरेर आफ्नो क्षेत्रमा सबैभन्दा अगाडि रही नाम र दाम कमाउन सफल व्यक्तित्व हुनुहुन्छ, विश्वप्रसिद्ध शताब्दी वर्ष खेलाडीः पेले ।

‘पेले’ जुन नाम नै फुटबलको उपमा बनिसकेको छ । त्यस्ता प्रिय व्यक्तिको जन्म आजभन्दा करिब ६७ वर्ष अगाडि ब्राजिलको राजधानी रियो द जेनेरियोभन्दा तीनसय किलोमिटर पश्चिममा पर्ने स्ट्रेस कोराकोस्र भन्ने ठाउँमा भएको हो । उनका पिताको नाम ‘डोडिन्हो’ थियो भने आमाको नाम ‘सेलेस्टी’ थियो ।

अत्यन्तै गरिब परिवारमा जन्म लिई बुवाले मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको भए पनि यिनको बुबाले पनि फुटबल खेल्ने भएकोले पाँच वर्षको कलिलो उमेरमा नै यिनलाई पनि फुटबलको नसाले छोइसकेको थियो । त्यसो त उनका बुबा, आमा उनलाई डाक्टर वा वकिल भएर खुसी रही आफ्नो जीवन चलाएको हेर्न चाहन्थे ।

पेले मात्र त्यस्ता व्यक्ति हुन्, जसको अद्वितीय खेल प्रर्दशन गरेर सन् १९६२ र सन् १९७० मा पनि ब्राजिलले विश्वकप जित्न सफल भयो र दुवैपटक पेलेलाई नै उत्कृष्ट खेलाडी घोषित गरियो । यसरी पेले तिनवटा विश्वकपको सर्वश्रेष्ठ खेलाडी भएका थिए

तर, के गर्न प्रकृतिको लिला भनौँ वा दैवको देन उनी त महान् फुटबल खेलाडी पो बन्न पुगेछन् । आजको यो मोेडमा आइपुग्दा उनले फुटबलबाट नाम मात्र होइन, अरबौँ दाम पनि कमाएका छन् । एक गरिब परिवारमा जन्मिएका उनी एक सम्पन्नशाली व्यक्तित्व भइसकेका छन् ।

अलिकति उनको बालक कालतिर लागौँ । बाल्यकालमा उनले अत्यन्तै गरिबीको रेखामुनि रहेर आफ्नो जीवनका दिनहरू व्यतित गर्नुप¥यो । उनले फुटबल र जुत्तासमेत किन्न नसकेर सिनेमा हल, नाचघर अगाडि बसेर चना मात्र बेचेनन्, जुत्ता पालिस गर्ने काम पनि गर्न पछि परेनन् ।

तर, आफ्नो फुटबलप्रतिको तीव्र मोहले गर्दा स्कुल जाँदा आउँदा विद्यार्थीहरूको बीचबाट फुटबल लाने, लैजाने, भकुण्डोलाई कतिञ्जेलसम्म भुइँमा नझारिकन राख्न सकिन्छ, भनेर अभ्यास गर्ने गर्दथे । यसरी, सानै उमेरमा उनले आफ्नो फुटबलमा अनेक असाधारण प्रतिभा देखाउन थालिसकेका थिए ।

यही असाधारण प्रतिभाबाट प्रभावित भएर उनका पिताका साथी ब्रिटोले चौध वर्षको उमेरमा ब्राजिलको प्रसिद्ध सान्तोष क्लबमा लगे । त्यस क्लबका प्रशिक्षकहरूको राम्रो तालिम पाएर उनले दक्षता हासिल गरेको परिमाण स्वरूप १७ वर्षको कलिलो उमेरमा नै उनी राष्ट्रिय खेलाडीको रूपमा देखापर्न सफल भए ।

राष्ट्रिय टिममा सामेल भइसकेपछि उनले सन् १९८५ मा स्वीडेनमा आयोजना गरिएको छैठौँ विश्वकपजस्तो अत्यन्तै महान् प्रतियोगितामा खेल्ने सुर्वण अवसर पाए । उक्त खेलमा उनले अत्यन्तै चामत्कारिक, विशिष्ट कुशलतापूर्वक आफ्नो खेल प्रस्तुत गरेर ब्राजिललाई पहिलोपटक विश्वकप जिताउन सफल भए । यस प्रतियोगितामा उनले सर्वश्रेष्ठ खेलाडीको साथै ‘ऐतिहासिक फुटबल खेलाडी’को उपाधिसमेत पाउन सफल भए ।

त्यसपछि उनको ख्यातिले ब्राजिलको सिमाना नाघ्दै विश्वको कुनाकुनामा पुग्यो । सारा संसारका फुटबलप्रेमीका माझ पेले ‘नयाँ तारा’ बनेर उदाए । फुटबल संसारमा पेलेको स्थान आजसम्म कसैले पनि लिन सकेका छैनन्, त्यसपछि फुटबल संसारमा म्याराडोना, रोनाल्डो, मेसी जस्ता हस्तीहरू नजन्मिएका होइनन् तर पनि तिनीहरूले पेलेले जस्तो कीर्तिमान कायम राख्न सकेका छैनन् ।

फुटबल संसारको ‘कालो मोती’को रूपमा परिचित पेलेको बारेमा जति नै कलमको मसी खर्च गर्दा पनि कम हून्छ । पेले मात्र त्यस्ता व्यक्ति हुन्, जसको अद्वितीय खेल प्रर्दशन गरेर सन् १९६२ र सन् १९७० मा पनि ब्राजिलले विश्वकप जित्न सफल भयो र दुवैपटक पेलेलाई नै उत्कृष्ट खेलाडी घोषित गरियो । यसरी पेले तिनवटा विश्वकपको सर्वश्रेष्ठ खेलाडी भएका थिए ।

यति ठूलो अवसर कुनै फुटबल खेलाडीले पाएका छैनन् । त्यसैले उनलाई फुटबल संसारको एक मात्र ‘महारथी’ भनिएको हो । यति मात्र नभएर विश्व फुटबल इतिहासमा एक हजार गोल गरेर विश्व कीर्तिमान कायम गरेका उनलाई त्यसको परिणामस्वरूप उनलाई एउटा सुनको थाल र चार पाउन्डभन्दा बढी वजन भएको एउटा सुनको भकुण्डो पुरस्कार दिइएको थियो । त्यसपछि पनि उनले तीन सय जति गोल गरेर विश्वमा सर्वाधिक गोल गर्ने व्यक्ति बनेका छन् ।

पेलेलाई ब्राजिल सरकारले राष्ट्रिय सम्पत्ति घोषणा गरेको छ, उनले विभिन्न देशको भ्रमण गरी त्यहाँका राजा, महाराजा, राष्ट्रपतिलाई भेटघाट गरिसकेका छन् भने उनी विभिन्न देशको सम्मानार्थ नागरिक पनि बनेका छन् । यिनको सम्झनामा विभिन्न गीत, कविता, कथा, उपन्यास, किताब लेखिएको छ । यस्ता अद्वितीय खेलाडीको जन्मले ब्राजिल मात्र होइन, सारा विश्व नै हर्षले गद्गद् भएको छ ।

हालै मात्र फिफाले पेलेलाई ‘शताब्दीको सर्वश्रेष्ठ फुटबल खेलाडी’ घोषणा गरेको छ । पेलेजस्ता सर्वाधिक सफल, चामत्कारिक, अभूतपूर्व खेलाडीलाई सारा विश्वभर हामी विश्ववासीले सदासदाको लागि सम्मान गर्नुपर्दछ । वास्तवमा भन्ने हो भने विश्वप्रसिद्ध शताब्दी वर्ष खेलाडी पेलेलाई हामी विश्ववासीले हिजो पनि श्रद्धा गरेका थियौँ, वर्तमानमा पनि गर्ने गरेका छाँै र भविष्यमा पनि गरिरहनेछौँ ।

प्रतिक्रिया