७६ वर्षीय वृद्ध भैँसी फर्ममा जागिरे !

काभ्रे । ‘म अल्छी मान्छेहरूसँग नजिकिन सक्दिनँ । उनीहरूको र मेरो भाषा नै फरक हुन्छ’ महान खेलाडी कोबे ब्रायन्टको भनाइसँग मेल खान्छ रामबहादुर स्याङ्तानसँग ।

उमेरले ७६ वर्ष कटेका स्याङ्तान बनेपा नगरपालिका–३ मा रहेको सुकृष्ण कृषि एग्रोफार्ममा काम गर्दै आएका छन् । उनको दैनिकी गाईभैँसीको भकारो सोहोर्ने, दानापानी दिने, दूध दुहने जस्ता कामले बित्दछ । उनको यो काम परिवार पाल्नका लागि गरिरहेका छन् ।

दुई छोरा र एक छोरीका बाउँ स्याङ्तानले महिनाको १६ हजार तलब पाइने बताउँछन् । २००१ सालमा जन्मिएका उनका छोराहरू बिहे गरेर आआफ्नो गरेर खान्छन् भने बुढाबुढी र छोरी तीन जना एकठाउँमा बस्छन् । उनले आफू यसभन्दा अगाडि विभिन्न कुखुरा फार्ममा काम गरेको सुनाए ‘म खुसी छु, साहुकै खाएर १६ हजार पाउँछु, खर्च राम्रै चल्छ’, उनले भने, ‘पहिला कुखुरा फार्ममा काम गर्दा १० हजार मात्र पाउँथ्यो महिनाको अहिले १६ हजार पाउँछ महिनाको ।’

०७६ असारदेखि सञ्चालन भएको उक्त फार्ममा उनी सुरुदेखि नै काम गर्दै आएका छन् । उनले उक्त फार्ममा काम गरेको सात महिना भएको छ । उनले उक्त फार्ममा १० वटा दुहुना गाई र १० वटा दुहुना भैँसीको दूध दुहुनुपर्ने बताउँछन । उक्त फार्ममा सानो ठूलो गरी २० वटा भैँसी र ११ वटा गाई रहेका छन् । उनले ती गाई र भैँसीको भकारो सोहर्ने, दानापानी कुँडो दिने, बाहिर भित्र सार्ने काम गर्नुपर्ने बताउँछन् । प्रविधि मैत्री भएकाले काम गर्न सजिलै रहेको उनले बताए ।

महिनाको एक÷दुईपटकबाहेक उनी त्यही फार्ममा बस्ने गरेको बताए । उनले छोरी र पत्नीलाई खर्च दिएर बाँकी रहेको मासिक ६ हजार जति सहकारीमा जम्मा गर्ने गरेको बताए । आफ्ना बितेका केही दिन सम्झँदै भन्छन्, ‘आज खुसी हुन आज मात्रै काम गरेर हुँदैन हिजै गर्नुपर्छ भोलिसम्म पर्सिका लागि गर्नुपर्छ, काम सानो ठूलो हुँदैन ।, आफ्नो शरीरले सक्ने र आँट भएसम्म काम गर्नुपर्छ ।

अल्छी गर्दै बस्यौँ भने भोकै मर्ने दिन आउन कति बेर छैन ।’ ‘हामीसँग आँट नमरेसम्म हाम्रो हरेक चाहाना पूरा हुन्छन् । बसेर बोसो लाग्ने हो र भन्ने उखान भन्दै हास्य भावमा उनले भने, ‘आज यही जागिर गर्न युवा विदेशमा जान्छन् म यहीँ काम गर्छु सन्तुष्ट छु ।’

प्रतिक्रिया