जीपी क्याम्पसमा लाग्यो संघको ताला

काठमाडौँ । राजधानीको जीपी क्याम्पसमा तालाबन्दी गरिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले (गिरिजाप्रसाद कोइराला) जीपी सामुदायीक क्याम्पस चाबहिलमा तालाबन्दी गरेको हो । उक्त संघले ६ बुँदे माग राख्दै शुक्रबार तालाबन्दी गरेको बताइउको छ । स्थापनाकालदेखि कार्यरत प्राध्यापकलाई नियुक्तिपत्र नदिएको भन्दै ताला लगाएको संघका अध्यक्ष ऋतुराज खतिवडाले जानकारी दिए ।

उनीहरुको बिना मापदण्ड क्याम्पस प्रमुखले नयाँ प्राध्यापक र कर्मचारीको नियुक्ति गरेको आरोप छ। ‘स्थापनाकालदेखि कार्यरत प्राध्यापकलाई अहिलेसम्म नियुक्ति दिइएको छैन,’ उनले भने, ‘तर क्याम्पस प्रशासनले नयाँ प्राध्यापकलाई त्रिवि नियमावली विपरित नियुक्ति दिएको छ।’ माग पूरा नभएसम्म ताला नखुल्ने अडान संघको छ ।

सो संघले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा प्राध्यापकलाई नियुक्ति–पत्र दिनुपर्ने, त्रिवि नियमावली अनुसार पूर्णकालीन प्राध्यापक तथा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने, त्रिवि नियमावली विपरित गरिएका नियुक्ति खारेज गर्नुपर्नेलगायत माग गरिएको छ।

प्रतिक्रिया