खोजखबर

काठमाडौँको नयाँबसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ जना पक्राउ

सौर्य अनलाइन २०७६ फागुन ४ गते १३:२० मा प्रकाशित

काठमाडौँ । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष, १६ महिला र एक तेस्रोलिङ्गी रहेका छन् ।

प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वागलुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । यसैगरी गेष्ट हाउसमा विचौलियाको रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत पक्राउ गरेको छ । अभियानका क्रममा जबर्जस्ती करणी मुद्दामा फरार अपराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको विकृति, विसङ्गति अन्त्यका लागि अभियान चलाएको बताए । वेश्यावृत्ति, पाकेटमार र जबर्जस्ती करणी मुद्दामा फरार व्यक्तिलाई नियन्त्रणका लागि पनि अभियान चाल्नु परेको उनको भनाइ छ । भियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १०० लिटर घरेलु मदिरासमेत नष्ट गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रको रुपमा विकास गर्न भित्र रहेका विकृति विसङ्गति अन्त्यको लागि थप प्रहरी परिचालन गरी अप्रेसन चलाइएको बताए । महाराजगञ्ज प्रहरीले पाँच महिनाको अवधिमा बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी कारवाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय