‘ढुङ्गे बगैँचा’ पर्यटकको रोजाइ

रोल्पा । रोल्पा नगरपालिकाले निर्माण गरेको ढुङ्गे बगैँचा (रक गार्डेन) मा आन्तरिक पर्यटकको चहल पहल बढेसंगै यहाँका होटल व्यवसायीहरुमा समेत व्यस्तता देखिन थालेको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले रोल्पा नगरपालिका– ३ सातदोबाटोमा उक्त बगैँचा निर्माण गरिएको थियो । अहिले छोटो अवधिमा अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले शनिबार ३०० बढीले अवलोकन गरेको जानकारी दिए । डिभिजन वन कार्यालय र सो नगरपालिकाले संयुक्त रुपमा रु १३ लाख खर्च गरी बगैँचा निर्माण गरेका थिए । चालू आर्थिक वर्षमा बगैँचाको थप काम गर्ने नगर प्रमुख पूर्ण केसीले जानकारी दिए ।

नगरपालिका–३ का वडाध्यक्ष इन्द्रबहादुर थापाले बगैँचाले नगरको सुन्दरता बढेको जानकारी दिनुभयो । ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्यूठान दाङबाट समेत आउने गरेको छन् । जलजला भ्रमण गर्न आउने पर्यटकले बगैँचा पनि अवलोकन गर्ने गरेका जनाइएको छ ।

प्रतिक्रिया