होमलाललाई प्रधानसेनापति म्याराथन उपाधि

काठमाडौं । आर्मीका धावक होमलाल श्रेष्ठले पाँचौ प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् । शनिवार भएको म्याराथनमा होमलालले निर्धा्रित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।

उनले डिफेन्डिङ च्याम्पियन आर्मीकै कृष्ण बस्नेतलाई १ मिनेट ३२ सेकेण्डले पछि पार्दै पहिलो पटक उपाधि जितेका हुन् । ब्यक्तिगत कारणले १३ औँ साग गुमाएका कृष्ण बस्नेतले उपाधि रक्षा गर्न सकेनन् । २ घण्टा २३ मिनेट ४९ सेकेण्डमा दुरी तय गर्दै दोस्रो स्थानमा दौड सकाए ।

आर्मीको वश्चर्य रहेको म्याराथनमा आर्मीकै नवराज साउद तेस्रो भए । उनले २ घण्टा २९ मिनेट ३७ सेकेण्डमा दुरी पार गरे । आर्मीका ज्ञान प्रसाद भट्टाई र वेद सुनवार क्रमशः चौथो र पाँचौ भए ।

हाफ म्याराथनमा महिलातर्फ उपाधि सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारीले जितेकी छिन् । उनले निर्धा्रित दुरी १ घण्टा १७ मिनेट ०८ सेकेण्डमा पुरा गरिन् । पुलिसकी राजपुरा पछाईले १ घण्टा १८ मिनेट ३७ सेकेण्डमा तथा आर्मीकी विश्वरुपा बुढा १ घण्टा २० मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र तेस्रो भए ।

हाफ म्याराथनको ४५ वर्ष मुनी भारतीय सेनाका तिर्थ पुनले १ घण्टा ५ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै पहिलो भए । आर्मीका खगेन्द्र भाटले १ घण्टा ५ मिनेट र ५८ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो तथा आर्मीकै दीपक अधिकारीले १ घण्टा ७ मिनेट २ सेकेण्ड सहित तेस्रो भए ।

४५ वर्षमाथि धर्म महर्जन पहिलो, भिम बहादुर गुरुङ दोस्रो र भिमसेन अवाले तेस्रो भए । १० किलो मिटर गैर सैनिकमा सन्तोषनाथ योगी, विष्णु कुमार तामाङ र सागर श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

१० किमी सैनिक सहचारी पुरुषमा भुपेन्द्र सिंह रावत पहिलो, दिशेन घले दोस्रो र दुरा इमुरुगन तेस्रो भए । १० किमी अधिकृत पुरुषतर्फ नवराज थापा पहिलो, अजयजंग सुवेदी दोस्रो र चन्द्रबहादुर थापा तेस्रो भए ।

महिलामा देवी पुन, रस्मिला अर्याल र सिता कुवँर क्रमशः पहिलो दोस्रो र तेस्रो भए । ५ किमी छात्रतर्फ सैनिकआवसिय महाविद्यालयका इश्वर चन्द्र बस्नेत पहिलो भए । सैनिककै प्रविणराज अधिकारी दोस्रो र धावसी तिलिङ्गटारका सविन राई तेस्रो भए । छात्रामा विजेश्वरीज्ञान मन्दीरका स्वेच्छा बलामी मगर पहिलो, सुनिता श्रेष्ठ दोस्रो र रचना राना मगर तेस्रो भए ।

म्याराथन विजेताले १ लाख २५ हजार रुपैयासँगै एक थान मोटरसाइकल प्राप्त गरे । दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैठाँैले १० हजार, सातौले ७ हजार, आठौँले ५, नवौँले ३ र दशौँले २ हजार हात पारेका छन् । हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे ।

हाफ म्याराथनको ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार पाए । १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र पाँच हजार पाएका छन् ।

पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार प्राप्त गरे । म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई च्याम्पियन बनेका थिए । दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो र चौथो संस्करणमा आर्मीकै कृष्ण बस्नेत च्याम्पियन बनेका थिए ।

प्रतिक्रिया