पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

फ्रान्स । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले डिजोनलाई उसैको मैदानमा ६–१ गोलले हरायो । पीएसजीको जितमा पाब्लो सरावियाले दुई, केलियन एमबाप्पे र थियगो सिल्भाले एक एक गोल गरे । पीएसजीले दुई गोल डिजोनबाट उपहार पाएको थियो । डिजोनका लागि मुनिर चोउएरले सान्तवना गोल गरे ।

पीएसजीले खेल सुरु भएको पहिलो मिनेटमै वेस्ली लोउटोओको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि १३औँ मिनेटमा डिजोनका मुनिर चोउएरले बराबरी गोल गरे । ४४औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई पुनः अगाडि बढाए । दोस्रो हाफमा सशक्त प्रदर्शन गरेको पीएसजीले चार गोल थपेको थियो ।

५०औँ मिनेटमा कप्तान थियगो सिल्भाले पाब्लो सरावियाको पासमा उत्कृष्ट गोल गरे । पाब्लो सरावियाले ५५औँ मिनेटमा गोल गरे । ८६औँ मिनेटमा डिजोनका सिनोउ कोउलीबलीको प्रहार आत्मघाती गोल भएको थियो । ९०औँ मिनेटमा सरावियाले ब्यक्तिगत दोस्रो गोल थप्दै पीएसजीलाई सजिलै जिताए ।

यसैगरी लियोनले मार्सेलीलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो । लियोनको जितमा होउसिम ओउरले ८१औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को खेलमा रेनिसले एएसएम बेलफोर्टलाई ३–०गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया